प्रचण्डद्वारा ठूलो राष्ट्रघात, नेकपा (माओवादी)द्वारा आन्दोलनको घोषणा

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा (माओवादी)ले त्यसका विरुद्ध कडा संघर्षमा उत्रने घोषणा गरेको छ । 

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिवार एक विज्ञप्ती जारी गर्दै विगतमा भएका राष्ट्रघाती सम्झौतालाई फेरि निरन्तरता दिँदै थप राष्ट्रघाती सम्झौताहरु गरेको प्रष्ट पारेका छन् । प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमति देशका निम्ति ठूलो बेइज्यति र शर्मनाक विषय भएको दावी पनि महासचिव विप्लवले गरेका छन् । 

14390710_1251365051582298_7547696262401171414_nप्रचण्डले नेपाली जनताको परामर्श नै नलिएर भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका रुपमा समर्थन गर्ने सहमति गरेको, नयाँ दिल्लीबाटै नेपालका भुकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, नेपालमा निरन्तर विरोध र खारेजीको माग हुँदै आएका महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्ने फेरि सहमति जनाएको भन्दै यसले प्रचण्डको ‘विस्तारवाद सामुको नाङ्गो दलाली र आत्मसमर्पण’ प्रष्ट भएको बताइएको छ । विज्ञप्तीमा महासचिव विप्लवले भनेका छन्, “२५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ ।”

भारत भ्रमणका क्रममा प्रचण्डले गरेको २५ बुँदे सहमतिलाई कुनै पनि हालतमा लागु हुन नदिने घोषणा पनि नेकपा (माओवादी)ले गरेको छ । साथै प्रचण्डले संविधान पनि भारतकै चाहना वमोजिम संशोधन गर्नेसम्मका कवुल गरेर चरम राष्ट्रघात र नेपाली नागरिकहरुका लागि समेत घोर लज्जित बनाएको भन्दै यसका विरुद्धमा आम नेपाली जनतालाई संघर्षमा उत्रिन अपिल विप्लवले गरेका छन् । 

सहमतिको बुँदा नं. ९ मा नेपालका भुकम्प पीडित परिवारलाई नयाँ दिल्लीबाटै कति पैसा बाँड्ने भन्ने सहमति जनाएको, बुँदा नं १० मा संविधानको योजनाकारको रुपमा भारतलाई मान्दै उसैले भने अनुरुप बनाउने वाचा कवुल गरिएको, बुँदा नं. ११ मा भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि समर्थन गरेको, बुँदा नं. १५ मा हुलाकी राजमार्गलाई भारतको स्वार्थ अनुरुप छोडिएको, बुँदा नं १९ मा महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत परियोजना सम्झौताको कार्यन्वयन गर्ने सहमति गरेको माओवादीले जनाएको छ । 

नेकपा (माओवादी)का महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो छः

प्रेस वक्तव्य

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला १६ सेप्टेम्वर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको २५ बुँदे सहमतिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपले तानिएको छ । उनीहरु बीच भएका सहमतिले विगतमा भएका राष्ट्रघाती सम्झौतालाई निरन्तरता दिएको मात्र नभई थप राष्ट्रघात गर्न पुगेको छ । यसप्रति नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टीका दृष्टिले हाम्रो पार्टीको गम्भीर असहमति र विरोध रहेको छ । पार्टी सहमतिको घोर निन्दा गर्दै नेपाली जनतालाई विरोध र प्रतिवाद गर्न आग्रह गर्दछ । 

 

प्रचण्ड र मोदीले बुँदा नं १९मा गरेको नेपाली जलश्रोतसँग सम्बन्धित महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौताको कार्यान्वयन गर्ने सहमति विगतदेखि नेपाली जनताले विरोध गर्दै आएका राष्ट्रघाति सम्झौता हुन् । ती सम्झौता खारेजीको पक्षमा हाल पनि संघर्षहरु चलिनैरहेका छन् । ती सम्झौता खारेज गर्नु साटो म्याद समेत नाघिसकेका परियोजनाहरुलाई स्वीकृत गर्दै कार्यान्वयन गर्ने सहमति गर्नुले नेपालको स्वाधीनता माथि पुनः घात हुन पुगेको छ । स्मरण रहोस् कि उपल्लो कर्णाली र अरुण तीन सम्झौता पछि कम्पनीकै अयोग्यताका कारण लगानी समेत जुटाउन नसकी सम्झौता खारेज हुने स्थितिमा पुगेको छ । त्यसलाई थप सहमति गरेर रोक्नु भनेको राष्ट्रघात माथि जनघात पनि थपिन पुगेको छ किनकि काम नै गर्न नसक्ने कम्पनीलाई राखिराख्नु भनेको ती योजनाहरुलाई नेपाली जनताले समेत कार्यान्वयन गर्न नपाउने अवस्थामा पु¥याउनु हुन्छ ।

बुँदा नं १५ मा हुलाकी बाटोलाई भारतको स्वार्थ अनुरुप छोडिदिनु पनि योजनाप्रतिको चरम लापरवाही र भारतको चाकरी भन्दा अरु केही हुँदैन । बुँदा नं १० मा कथित संविधानको योजनाकारको रुपमा भारतलाई मान्दै उसैले भने अनुरुप बनाउने वाचा कवुल गर्नु राष्ट्रघात मात्र होइन, नागरिकहरुका लागि समेत घोर लज्जाको विषय बनेको छ । बुँदा नं ११ मा नेपाली जनताको परामर्शनै नलिइ भारतीय विस्तारवादलाई सयुक्त राष्ट्रसंघको स्थायी सदस्यको दावीलाई समर्थन गर्नु नेपाली जनता र नेपालका लागि दीर्घकालिन सुरक्षा चुनौती बन्न पुगेको छ । यस प्रस्तावलाई समर्थन गर्नुको अर्थ या विषयलाई बुझन नसक्नु या विस्तारवाद सामुको नांगो दलाली र आत्मसमर्पन मात्र हुन्छ । यो विश्व शान्तिका लागि समेत हानिकारक विषय हो । 

बुँदा नं ९ मा भूकम्प पीडित नेपाली जनताका लागि दिल्लीबाटै प्रतिघर एक लाखको सहयोग तोक्नु  सरकारको त कुरै छोडौं देशकै लागि बेइज्जति हो । अन्तराष्ट्रिय कुटनीतिको समेत हेक्का नराखेर दिल्लीबाट रकम बाँडफाँड गरिदिनु नेपालका लागि विडम्वना हो । यी बुँदा वाहेक २५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ । हाम्रो पार्टी यस २५ बुँदे सहमतिको कडा रुपमा विरोध गर्दछ र राष्ट्रघाती सहमतिहरु लागु हुन नदिने पनि स्पष्ट गर्दछ साथै यसका विरुद्ध संघर्षमा उत्रिन सबै देशभक्त नेपाली जनतालाई समेत विशेष आग्रह गर्दछ ।

१ असोज २०७३

 

विप्लव

महासचिव

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :