प्रगतिशील विचार र पृथक स्वादको तीज गीत

लक्ष्मी गौतमको ‘तुना कसेर’


दाजुभाइ विदेशतिर शून्य छ है गाउँघर
के रमाइलो छ र यहाँ तीज बरी लै

संस्कृतिको नाममा यहाँ भित्रिँदैछ विकृति
सभ्यता नाङ्गिएर बिजोक बरी लै

कामको खोजीमा युवा पलायनले देश रित्तिइरहेको समयमा लक्ष्मी गौतमको तीजको गीतले युवाहरूलाई अरूको भर नपरी देश फर्कन र संस्कार जोगाउन आह्वान गरेको छ । तीजको नाममा जेठ– असारदेखि नै समाजमा राँको लिएर सुरु हुन थालेको विकृति र रक्सी र बियरमा डुब्ने पाश्चात्य छाडा संस्कारको विरोध गर्दै लक्ष्मीले तीज गीतमा भनेकी छिन् :
गाउँघर जोगाउँदै सिङ्गो देश बचाउन
फर्कन परदेशी घर बरी लै

लक्ष्मी गौतमको शब्द, लय र स्वरमा आएको तीजी गीतको भिडियोले विकृत तीज र वर्तमान समाजको तीतो यथार्थलाई पनि प्रतिबिम्बित गरेको छ । हातमुख जोर्ने समस्याले प्रायः युवाहरू र विशेषगरी दाजुभाइहरू (पुरुषहरू) अरबको खाडी र संसारका विभिन्न देशमा भौँतारिइरहेको अवस्थामा देशमा चेलीले मनाउने तीजको खासै रौनक नभइरहेको यथार्थ गीतमा देख्न पाइन्छ । युवा पलायनका कारण उत्पन्न समस्यालाई लक्ष्मीले तीजको गीतमा यसरी समेटेकी छिन् :
धान झुल्ने खेतभरि कोदो फल्ने बारीमा
बनमारा झाङ्गिएर बिजोक बरी लै

युवाशक्ति बिदेसिएपछि खेतबारीमा बनमारा झाँगिएको तीतो यथार्थ सबैले बेहोरिरहेको सत्य हो । लक्ष्मीको तीज गीतमा समाजबाट सभ्य संस्कृति संस्कार हराउन थालेको र विदेशी असभ्य संस्कृति मौलाउन थालेकोमा चिन्ता पनि छ । उनले देश निर्माण गर्ने युवाशक्ति विदेशीको भर परेकोमा धेरै गुनासो गरेकी छिन् । रुविसा अधिकारी र लक्ष्मी स्वयम्को समेत अभिनय रहेको ‘तुना कसेर’ ले तीजको सन्दर्भमा नयाँ स्वाद पस्केको छ । ‘पोइला जान पाम’ जस्ता विकृत गीतहरूले जनमानसको मस्तिष्क भ्रष्ट बनाइरहेको अवस्थामा सभ्य संस्कृतिको निर्माण र रक्षामा जोड दिने लक्ष्मीको प्रगतिशील तीज गीत एकपटक सुन्नै र हेर्नैपर्ने प्रकृतिको रहेको छ भन्दा अन्यथा हुँदैन । दलाल सत्ताको अचाक्ली दमन– हत्या र हिंसा बढिरहेको समयमा त्यतातिर पनि केही सङ्केत गर्न र हत्या संस्कृतिको विरोध गर्न सकेको भए गीत अझै प्रभावकारी बन्ने थियो भन्ने अपेक्षा भने गर्न सकिन्छ ।

२०७६ भदौ ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :