प्यारो पीडित तिम्रो साथी किन थुनियो ?

कविता

प्यारो केएल पीडित
भावनाको भेललाई
विचारमा रूपान्तर गर
म थुनिएकोमा चिन्ता नगर
तिम्रो साथी किन थुनियो ?
चिन्तन–मनन गर
चुपचाप रहेर नबस
तिम्रा कमरेडहरूको चलखेल र जालझेललाई
तिम्रो तीखो साहित्यिक कलमले
धुजाधुजा पार
प्यारो केएल पीडित
म तिम्रो भावनाको सम्मान गर्छु
भावनाबाटै विचारको उत्पत्ति हुन्छ ।
विचारबाटै भावना आउँछ
विचार प्रधान बनाएर
भावनाको सागरमा पौडिनुपर्दछ
अनि मात्र डुंगा पार लाग्छ
एउटा झूट्टा मुद्दामा थुनिएको साथीप्रति
आफ्नै अघिल्तिरबाट घिसारिएको साथीप्रति
आफ्नो न्यानो माया दियौ
आफनो न्यानो हात दियौ
र आफ्नो पथबाट विचलित भयौ
तिमी गलत पथबाट विचलित भयौ
अर्को शब्दमा विद्रोह भन्छन् यसलाई
साधुवाद छ प्यारो पीडित
धन्यवाद छ तिमीलाई

आऊ पीडित
हामी हाम्रो सपनाका लागि
हातमा हात मिलाऔँ
काँधमा काँध मिलाऔँ
तिमी र म सुरु गरौँ क्रान्ति
महान् साम्यवाद
सुदूर भविष्य होइन साम्यवाद
तिमी साम्यवाद हौ भने
तिमी र मबाटै सुरु हुन्छ साम्यवाद
प्यारो पीडित
तिम्रा कमान्डरहरू कुहेका फर्सी हुन्
ती क्रान्तिका लागि कम्पोस्ट मल हुन्
ती क्रान्तिकारीहरूका लागि नकारात्मक शिक्षा हुन्
त्यहाँबाट विचलित हुनु जरुरी छ ।
साम्यवादप्रति आबद्ध हुन जरुरी छ ।
म थुनिएको सहरमा
तिमी ठूलो पर्खालभित्र छौ
मचाहिँ सानो पर्खालभित्र छु
हामी एक दिन भेट हुनेछौँ
हाम्रो अभीष्ट मिलनलाई
धनान्दका पर्खालहरूले
कहिल्यै छेक्न सक्तैनन्
हाम्रो अवश्य भेट हुनेछ
तिमी पर्खालबाहिर चिन्तन गर
तिमी जनतासँग जाऊ
म पनि जनसँगै छु
हामी छिट्टै भेट हुनेछौँ ।

२०७६ साउन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :