पूर्वमा विद्यार्थी अभियान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को मेची–कोसी ब्युरो समन्वय समितिले पूर्वको सुनसरीबाट कम्युनिस्ट विद्यार्थी अभियान २ को भव्य सुरुआत गरेको छ । ‘सम्पूर्ण वामपन्थी, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एकजुट हौँ ! निजी शिक्षालाई राष्ट्रियकरण गरौँ, सरकारी शिक्षाको गुणस्तर बढाऊँ !’ भन्ने मूल नाराका साथ अखिल (क्रान्तिकारी) मेची–कोसी समन्वय समितिले कम्युनिस्ट विद्यार्थी अभियान –२ को सुरुआत गरेको हो । उद्घाटन कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् मेची–कोसी ब्युरो समन्वय समितिका संयोजक गणेशले गरेका थिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष तथा पूर्वी कमान्ड इन्चार्ज नरेन्द्र विकको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेकपाका ब्युरो सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज विश्वास रहेका थिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पुष्पले सञ्चालन गरेको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष सञ्जय, केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला अध्यक्ष नतशालगायत मेची–कोसी ब्युरोअन्तर्गत विभिन्न स्कुल तथा क्याम्पसका विद्यार्थीको उपस्थिति थियोे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष एवम् पूर्वी कमान्ड इन्चार्ज नरेन्द्रले विद्यार्थीलाई सरकारको प्रतिबन्धबाट त्रसित नहुन आग्रह गरे । उनले प्रतिबन्ध क्रान्तिका क्रममा भइरहने नियमित प्रक्रिया भएकाले यसको प्रतिरोध गर्न अपिल पनि गरे । उनले विद्यार्थीमाथिको प्रतिबन्ध कथित दुई तिहाइ सरकारको पतनको सुरुआत भएको बताउँदै अखिल (क्रान्तिकारी) को इतिहास हेर्न सरकारलाई आग्रह गरे । उनले विद्यार्थीमाथिको धरपकड सरकारले जारी राखे आफूहरू गम्भीरतापूर्वक अगाडि बढ्ने भन्दै विद्यार्थीमाथिको दमन सह्य नहुने बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् पार्टी जिल्ला इन्चार्ज विश्वासले युवा विद्यार्थी नै देशको कर्णाधार भएकाले अबको क्रान्तिमा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रमका अर्का अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष सञ्जयले देशको हरेक परिवर्तनको आधार विद्यार्थी नै भएकाले विद्यार्थी सङ्गठनमाथिको कथित प्रतिबन्धको डटेर सामना गर्ने प्रस्ट पारे । आवश्यक परे सहिद बन्नुपरे पनि आफूहरू तयार रहेको उनले बताए ।

यसैबीच क्रान्तिकारीले एकीकृत जनक्रान्तिको अभियानमा सहिद भएका विद्यार्थी नेता प्रज्वल शाहीको सम्झनामा प्रज्वलको फोटोमा माल्यार्पण गर्दै उनको सम्झनामा वृक्षरोपणसमेत गरेको छ । सहिद प्रज्वलले देखेको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै अखिल (क्रान्तिकारी) ले विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको छ ।

२०७६ साउन १५ गते मङ्गबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :