पत्रकार महासङ्घले गर्यो देशभर प्रदर्शन


काठमाडौँ : नेपाल पत्रकार महासङ्घले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै उपत्यकासहित देशैभर प्रदर्शन गर्ने भएको छ । ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रदर्शन गर्ने महासङ्घका महासचिव रमेश बिष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पत्रकार महासङ्घअन्तर्गतको द्वन्द्वपीडित पत्रकार संरक्षण समितिका संयोजक जन्मदेव जैसीका अनुसार उपत्यकाको नयाँबानेश्वरमा आइतबार अपराह्न ४ बजे र देशैभर आइतबार प्रदर्शन भएका छन् ।

पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिइएको घटना न्यून रहेको छ । कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने व्यक्ति वा समूह पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई संरक्षण दिने गरेकाले कानुनी दायरामा ल्याउन नसकिएको महासङ्घको बझाइ छ । राज्य पक्ष पनि पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने विषयमा गम्भीर नभएको महासङ्घले जनाएको छ । यसकारण पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हननमा संलग्नले उन्मुक्ति पाइरहेका छन् ।

नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन एकाइमा अभिलेख भएअनुसार नेपालमा २०५२ सालदेखि सुरु भएको जनयुद्धयता हालसम्म विभिन्न पक्षबाट ३७ जना पत्रकार मारिएका छन् भने ५ जना पत्रकारलाई बेपत्ता पारिएको छ । मारिएका ३७ जना पत्रकारमध्ये ५ जना पत्रकारको हत्यामा संलग्नलाई कारबाही गरी पीडित पक्षलाई न्याय दिलाइएको र ४ जनाको न्यायिक प्रक्रियामा रहेको बताइएको छ । अन्यको हकमा अझै प्रभावकारी ढङ्गले कानुनी कारबाही अघि बढ्न नसकेको महासङ्घले जनाएको छ । बेपत्ता पारिएका ५ जना पत्रकारको अवस्था अहिलेसम्म पत्ता लाग्नसकेको छैन ।

महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार २०७४ सालमा ६३ वटा र २०७५ सालमा ६० वटा तथा २०७६ वैशाखदेखि हालसम्म २६ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका छन् । प्रेस स्वतन्त्रता हननका घटनाहरूमा पत्रकारमाथि धम्की, दुव्र्यवहार, आक्रमण, समाचार सङ्कलनमा अवरोधलगायत घटना बढी छन् । यस्तै पत्रकारलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गर्ने क्रम बढिरहेको महासङ्घले जनाएको छ ।

महासचिव बिष्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गरी पीडित पक्षलाई न्याय तथा दोषीमाथि कारबाही गरेर दण्डहीनताको अन्त्य गर्न एवम् पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ ।’

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :