नेपाल बन्दमा देशभरको जनजीवन ठप्प, देशका कुन ठाउँमा के भयो ?

काठमाडौँ ः विप्लव नेतृत्वको नेकपाले बिहीबारका लागि आह्वान गरेको नेपाल बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ ।
राजधानीमा यातायात ठप्प रहेको छ भने शैक्षिक संस्था, बजार, उद्योग तथा कलकारखाना पनि बन्द भएका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका यातायातका साधनहरू न्यून मात्रामा पनि चलेका छैनन् ।

नेकपाको बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । राजधानीका मुख्यमुख्य चोकमा बिहानैदेखि जनपद तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । पुल, भवनलगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

आफ्ना पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड र दमन रोकिनुपर्नेलगायत माग गर्दै विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो ।

पछिल्लोपटक सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध नै लगाएपछि उक्त पार्टीले पहिलोपटक नेपाल बन्द आह्वान गरेको हो ।

यसैबीच नेपाल बन्दको दिन ठाउँठाउँमा गाडी तोडफोड र आगलागीका खबरहरू प्राप्त भएका छन् ।

कहाँ के भयो ?

दाङ र प्युठानमा शङ्कास्पद वस्तु भेटियो

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बीपी चोक नजिकै एक कपडा पसलबाहिर शङ्कास्पद वस्तु फेलापरेको छ ।

इलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाहीको टोली शङ्कास्पद वस्तु भएको स्थानमा पुगेको दाङबाछ प्राप्त समाचारमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बोतललाई कागजले बेरिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको बताए ।
उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा पनि शङ्कास्पद वस्तु फेलापरेको छ । प्युठानमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव परेको छ ।

मकवानपुरमा ट्रकमा आगो

मकवानपुरको थाहा नगरपालिका ४ नयाँगाउँमा गएराति एक ट्रकमाथि आगो लगाइएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्विपमेन्ट बोक्ने ट्रेलर गाडीमा गएराति १२ बजे अज्ञात समूहले आगो लगाएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मुकुन्डो लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर आफू तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगो लगाएको ट्रकका चालकले बताए । ट्रकमा आगो लागेपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

पोखरामा शङ्कास्पद वस्तु फेलाप¥यो

पोखराको सभागृहचोकमा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । सभागृहचोकमा रहेको ट्राफिक बिटमा शङ्कास्पद वस्तु भेटिएको हो ।

बिहान शङ्कास्पद वस्तु देखिएपछि तत्कालै सेनाको बम डिस्पोजल टोली सभागृहचोक पुगेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । शङ्कास्पद वस्तुमा बम बनाउन प्रयोग गरिने प्लास्टिकको बट्टा र तारहरू भेटिएको टोलीले जनाएको छ ।

पोखरा महानगरपालिकाअन्तर्गत रहेको भण्डारढिकमा पनि शङ्कास्पद वस्तु भेटिएको छ । उक्त स्थानमा शङ्कास्पद वस्तु भेटिएपछि अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको दिन पोखराका दुई स्थानमा शङ्कास्पद वस्तु भेटिएका हुन् । सर्वसाधारलाई त्रसित पारेर नेपाल बन्द सफल पार्न शङ्कास्पद वस्तु राखिएको दाबी प्रहरीको छ ।

कैलालीमा यात्रुवाहक बसमाथि आगो

कैलालीको बडैपुरमा यात्रुवाहक बसमाथि आगो लगाइएको छ ।

आज नेपाल बन्द आह्वान गरेको नेकपाले पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा आगो लगाएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगो लगाइएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगो लागेको बस पूर्ण रूपमा क्षति भएको छ ।

बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाले निष्क्रिय पा¥यो

बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।
बुटवल कालिकानगर कालिकाचोकमा डिभाइडरमा कालो टेपले बेरेर राखिएको वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

सेनाको टोलीले त्यो वस्तु बम नै रहेको जानकारी दियो । नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले बम निष्क्रिय पारेको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्द सफल पार्न बम राखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए । बन्दका कारण बुटवल र आसपासका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

पूर्वपश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो

नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वपश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाइएको छ ।
पश्चिम नवलपरासीको बासाबसहीमा बुधबार राति ८÷१० जनाको समूहले ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन धनगढीतर्फ आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट ट्रकका टायर र पछाडिको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा नेकपाले आगो लगाएको हुनसक्ने आशङ्का प्रहरीको छ ।

राजमार्गमा नक्कली बम

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा राखिएको शङ्कास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शङ्कास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवतजावतको व्यवस्था मिलाइएको थियो ।

बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोलाबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शङ्कास्पद बस्तु बिहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारीसाधन दुईतर्फी चलेका छन् । नेकपाले आह्वान गरेको बन्दको प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।

गोरखा बजारमा बम

गोरखा बजार क्षेत्रको भीआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेरकुकर बम फेलापरेको छ । फेलापरेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारीअनुसार बिहीबार बिहान १२ किलोमा फेलापरेको बम सामान्य भएको भन्दै प्रहरीले जङ्गलतिर फालेको थियो ।
तर गोरखा बजार क्षेत्रमा फेलापरेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर निष्क्रिय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका बस्तीका सर्वसाधारण त्रसित भएका थिए ।

बाजुराका दुई ठाउँमा शङ्कास्पद वस्तु

बाजुरा जिल्लाका २ स्थानमा शङ्कास्पद वस्तु फेलापरेको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गत बूढीगङ्गा नगरपालिका १० मा पर्ने डाबबजार र बल्देमा शङ्कास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बन्द सफल पार्न उक्त वस्तु सडकमा राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धपसिंह भाटले बताए ।

अदालतअगाडि शङ्कास्पद वस्तु, बमको आशङ्का

रुकुमपूर्वको जिल्ला अदालतअगाडि शङ्कास्पद वस्तु फेलापरेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शङ्कास्पद वस्तु फेलापरेको जानकारी प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दिए ।

उक्त वस्तु बम भएको आशङ्का स्थानीय बासिन्दाले गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

२०७५ फागुन ३० गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :