नेपाली जनप्रगतिशील मोर्चा कतारको सातौँ अधिवेशन सम्पन्न

नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना


काठमाडौं : नेपाली जनप्रगतिशील मोर्चा कतारको ऐतिहासिक सातौँ अधिवेशन २३ अगस्त २०१९ मा सम्पन्न भएको जानकारी प्राप्त भएको छ । अधिवेशनले एक सदस्य पछि थप्ने गरी २७ सदस्यीय कार्य समिति चयन गरेको मोर्चाले जनाएको छ । मोर्चाले उपलब्ध गराएको जानकारी अनुसार अध्यक्षमा जय किशोर पोद्दार, दुई उपाध्यक्षमा साजन गुरुङ र जमुना श्रेष्ठ, महासचिवमा राजेन्द्र लिम्बू, दुई सचिवमा नरेश विश्वकर्मा र सचिव गोमा मगर तथा कोषाध्यक्षमा रवीन पुन निर्वाचित गरेको छ । प्राप्त जानकारी अनुसार मोर्चाका सदस्यहरुमा पूर्णबहादुर विश्वकर्मा, मनमोहन सिंह, भूपेन्द्र घर्तीमगर, दीपक केसी, विवश लिम्बू, अमृत ओली, ज्ञानेन्द्रराज भारती, खेम थापा, कमल पुन, मनोज शाह, लोकेन्द्र सुनार, सुबन्ता पौडेल, जसबहादुर बोगटी, मानबहादुर थापा, दिनेश शर्मा, तुलबहादुर विश्वकर्मा, देवबहादुर बिष्ट, विवश लिङ्गदम र भक्तबहादुर घर्ती छानिएका छन् । त्यसैगरी वैकल्पिक केन्द्रीय सदस्यहरूमा कृष्ण लिम्बू, गीता ठकुरी, सुवास गिरी, विष्णु चापागाईं र भेषबहादुर सुनार चयन भएका छन् । सल्लाहकार समितिमा संयोजक रमेश गिरी र सदस्यहरुमा श्रीकृष्ण भट्टराई र रेशम पौडेल रहेको मोर्चाले जनाएको छ ।

अधिवेशनबाट निर्वाचित कार्य समिति, वैकल्पिक केन्द्रीय सदस्य र मोर्चाको सल्लाहकार समितिलाई विभिन्न संस्थाहरूबाट बधाई तथा शुभकामना सन्देश दिइएको समाचारमा जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरो, मध्यपूर्व जिल्ला, भाइचारा सङ्गठनहरू, युरोप, बेल्जियम स्पेन, पोर्चुगल, साउदी, बहराइन, यूएई, कुवेत र युरोपका अन्य ६ वटा देशहरूका तर्फबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको समाचारमा उल्लेख छ ।

विश्व पुँजीवादको ठेकेदार अमेरिकाबाट प्रत्यक्ष उपस्थित भएर प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैर आवासीय नेपाली सङ्घमा संलग्न केही गलत तत्वहरूले बदनाम गराएको छविलाई सखाप पार्दै नयाँ शिरा, नयाँ योजना र देशभक्तिपूर्ण भावनाबाट ओतप्रोत भएर अगाडि बढ्नुको विकल्प नरहेको सन्देश अमेरिकाबाट सहभागी मोर्चा प्रतिनिधिले दिएका थिए । नेपाली जनप्रगतिशील मोर्चा कतारको नवनिर्वाचित कार्य समितिले विश्वका सम्पूर्ण मोर्चाहरूसँग हातेमालो गर्दै देशको प्रगतिकालागि अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

खाडीको चर्को गर्मीको परबाह नगरी हलमा भएको खचाखच युवा उपस्थितिले युवाहरूकै कारण देशभित्र केही परिवर्तन ल्याउन सकिने स्पष्ट देखिएको मोर्चाले जनाएको छ । युवाले नै जनसङ्ख्या वृद्धिको अनुपातमा व्यवस्थापन गर्न सक्ने, देश अब योजना विहीन पुराना नेताहरूबाट चल्न नसक्ने, बरु गम्भीर गरेर देश नै डुबाइदिने हुन् कि भन्ने चिन्ता बढेको र परिवर्तनको वाहक नेकपामाथिको प्रतिबन्ध जनतालाई अस्वीकार्य रहेको अधिवेशनमा उपस्थित मोर्चाका प्रतिनिधिहरुले बताएका थिए । अधिवेशनले परिवर्तनसहित अब देश हाँक्ने नेतृत्व नेकपा नै रहेको र एकीकृत जनक्रान्ति सम्पन्न गर्न सबै युवा तयार रहनु पर्ने सन्देश दिएको प्राप्त समाचारमा उल्लेख छ ।

कतारमा च्याउ उम्रेसरह उम्रेका संस्थाहरू मध्ये ५५वटा संस्थालाई अधिवेशनमा निमन्त्रणा पठाइएको तर १०वटा संस्थाहरूको मात्र उपस्थिति रहेकाले अन्य संस्थाहरु वैचारिक लडाइँबाट पराजित भएको मोर्चाको निष्कर्ष छ । मोर्चाले हरेक परिवर्तनको सवालमा देशलाई अगाडि बढाउने र विश्वको नमुना देश बनाउन सम्झौता नगरी हरेक संस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । बेइमानी गर्ने मेनपावरमाथि निर्मम बन्नुको विकल्प नरहेको मोर्चाले जनाएको छ ।

२०७६ भदौ ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :