नेकपा स्थायी समिति सदस्य सुदर्शन जेल चलान , ६ जनालाई नै नक्खु कारागार पठाइयो, जबर्जस्ती फसाउन खोजियो : सुदर्शन

काठमाडौँ : जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतले मङ्गलबार यस्तो आदेश दिएसँगै नेता सुदर्शनसहित ६ जनालाई नक्खु कारागार पठाउने तयारी भइरहेको स्रोतले बताएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गत चैत ९ गते नेता सुदर्शनलगायतलाई काभ्रेबाट गिरफ्तार गरेको थियो ।

अदालतले नेता सुदर्शनसँगै शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र वीरबहादुर कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

नक्खु विस्फोटको जिम्मेवारी लिएसँगै प्रहरीको सर्वाधिक खोजीमा रहेका नेता सुदर्शनलाई महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरो र काभ्रेको प्रहरी टोलीले गिरफ्तार गरेका थिए ।

निजी जिपमा काठमाडौँ आउने क्रममा प्रहरीले सुदर्शनसहित विजय श्रेष्ठ, धर्म राजवाहक, रामकृष्ण खतिवडा, शङ्कर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि गिरफ्तार गरेको थियो ।

गिरफ्तारीमा परेका सबै नेता–कार्यकर्तालाई प्रहरीले नक्खुमा एनसेल टावरमाथि भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै हिरासतमा राखेको थियो ।

यसैबीच नेता सुदर्शनले हातहतियार भेटिएको झूटो रिपोर्ट बनाएर प्रहरीले आफूहरूलाई जबर्जस्ती फसाउन खोजेको बताएका छन् ।

गत चैत २७ गते सर्वोच्चमा दिएको बयानका क्रममा नेता सुदर्शनले प्रहरीले आफूहरूलाई काभ्रेबाट गिरफ्तार गरेर ललितपुरको ठेचो ल्याइपु¥याउँदासम्म आफूहरूको झोलामा केही पनि त्यस्तो सामग्री नभए पनि मिसिलमा ‘मेड इन जापान’ भनेर लेखिएको पेस्तोल भेटिएको झूटो कुरा उल्लेख गरिएको बताएका छन् ।

‘त्यो दिन आफूसँग उक्त ‘मेड इन जापान’ लेखिएको पेस्तोल भइदिएको भए त्यसबेला परिस्थिति भिन्नै हुनसक्थ्यो’, उनले बयानका क्रममा भनेका छन् । केपी वली नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि मात्रै पनि सयौँ नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

वली सरकारले प्रतिबन्धलगाएयता गिरफ्तार पर्नेमा सुदर्शन सबैभन्दा माथिल्लो तहका नेता हुन् । सुदर्शनसहित पोलिटब्युरो सदस्य जीवन्त, केन्द्रीय सदस्य असल, आदर्श, विजय, बन्धुसहित ३ सयभन्दा बढी नेता–कार्यकर्ता अहिले पनि प्रहरी हिरासतमै छन् ।

२०७६ वैशाख १० गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :