नेकपा लुम्बिनी ब्युरोले मनायो २५ औँ जनयुद्ध दिवस

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले २५ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । जनताको अपार सहभागितामा मनाइएको जनयुद्ध दिवसमा नेकपाका केन्द्रीय सदस्य एवम् ब्युरो इन्चार्ज भीमले सम्बोधन गरेका थिए । नेता भीमले जनयुद्ध घोषणा गरिएको २५ वर्ष पूरा भए पनि घोषणापत्रमा जारी गरिएको प्रतिबद्धता पूरा नभएको बताए ।

नेता भीमले ऐतिहासिक जनयुद्धको घोषणासँगै १० वर्षभन्दा लामो भीषण वर्गसङ्घर्षका क्रममा सहादत प्राप्त गर्ने महान् सहिद तथा बेपत्ता योद्धाहरूलाई स्मरण गरे । उनले सहिद–बेपत्ता योद्धाका सपनाहरू पूरा गर्न जनयुद्धको विकसित रूप एकीकृत जनक्रान्ति जारी रहेको बताए । एकीकृत जनक्रान्तिका क्रममा कुमार पौडेल, नीरकुमार राई, महान, सनराइजलगायत एक दर्जन योद्धाहरूको रगत बगिसकेको र सयौँ कमरेड जेल र हिरासतमा रहेको उनले बताए । उनले अहिलेको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल रहेको बताउँदै सामाजिक दलाल पुँजीवादी राज्यसत्ता तीव्र सङ्कटमा रहेको प्रस्ट पारे । उनले नेपाली शोषित–पीडित जनता र दलाल पुँजीवादी राज्यसत्ताबीच अन्तरविरोध तीव्र हुँदै गएको पनि बताए । नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र भएको भन्दै उनले आईपीएसको सैन्य अङ्ग रहेको एमसीसी परियोजना नेपालमा कार्यान्वयन गर्ने दुष्प्रयास गरिए जनताले त्यसको जमेर प्रतिरोध गर्ने उनको भनाइ थियो । उनले दलाल राज्यसत्ताको खोरबाट मुक्ति प्राप्त गर्न एकीकृत जनक्रान्तिको झन्डामुनि लामबद्ध हुन अपिल गरे ।

लुम्बिनी ब्युरोस्तरीय स्कुलिङको समापनसमेत गरिएको कार्यक्रम लुम्बिनी ब्युरोअन्तर्गत रहेको पाँच नम्बर जिल्लाका सेक्रेटरी रिजमानको अध्यक्षता र नौ नम्बर जिल्लाका सेक्रेटरी हिमालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सुमन नेपाली, चिन्तन, विकल्प, नेपाललगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय जनता, सहिद परिवार, नेता तथा कार्यकर्ताबीच एकअर्कामा अबिर लगाएर शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :