नेकपा नेता सुदर्शनको गिरफ्तारीको चौतर्फी विरोध

माओवादी केन्द्र, काङ्ग्रेस र राप्रपाका नेताद्वारा सरकारी कदमको आलोचना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को गिरफ्तारीविरुद्ध बोल्दै गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेसका वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, प्रदीप गिरीका साथै राप्रपा नेपालले सरकारको आलोचना गरेका छन् ।

माओवादी केन्द्रले विज्ञप्ति निकालेर सरकारको गतिविधि र नेता सुदर्शनको गिरफ्तारीको विरोध गरेको छ । माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी ‘सुशील’ ले शनिबार विज्ञप्ति निकालेर गिरफ्तारीको विरोध गरेका हुन् । उनले नेकपामाथि राजनीतिक व्यवहार गर्नसमेत सुझाव दिएका छन् ।

सुशीलले जारी गरेको विज्ञप्तिमा गिरफ्तारी र धरपकडको विरोध गर्दै नेता सुदर्शनको रिहाइको माग गरिएको छ । सरकारले आफ्नो असफलतालाई लुकाउन नेकपामाथि प्रतिबन्ध लगाएको उनले बताएका छन् ।

“विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत ९ जना नेता–कार्यकर्ताहरूलाई चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चेस्थित बोरेनी नजिकबाट सरकारद्वारा गिरफ्तार गरेको विषयले नेपाली राजनीतिमा तरङ्ग सिर्जना गरेको छ । देशभरिमा नै भइरहेको धरपकडले संविधानले दिएको अधिकारसमेत हनन गरी जनविरोधी क्रियाकलाप प्रदर्शन गर्नु केपी ओली सरकारको असफलताको दिशातिर जान खोजेको प्रस्ट संकेत देखिन पुगेको छ”, विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने थाहा हँुदाहुँदै सरकार त्यही दिशामा बढेको भन्दै सुशीलले सरकारमाथि नै शङ्का व्यक्त गरेका छन् । “देश भ्रष्टाचारले आक्रान्त बनेको, केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय नभई सङ्घीयता चरम सङ्कटमा परेको, दक्षिणपन्थी शक्तिहरू, विदेशी शक्तिहरू, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरूले खुलेआम रुपमा धार्मीक द्वन्द्व सिर्जना गरेको, राष्ट्रियतामा आँच दिने समूहसित अस्वाभाविक सम्बन्ध जोड्नुले देशको स्वाभिमानमाथि असर परेको छ । धार्मिक आन्दोलनलाई वैधानिकता दिने नेकपाको राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले केपी ओली सरकार कसको मतियार भएर काम गर्दैछ भन्ने शङ्का सर्वत्र उत्पन्न भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

क्रान्तिकारी आन्दोलन दमन र धरपकटबाट नियन्त्रण गर्न नसकिने बरु सरकार आफैँ असफल हुने गरेको इतिहास ताजै भएको बताएको बताउँदै सुशीलले राजनीतिक समस्या वार्ताद्वारा समाधान गर्न आग्रह गरेका छन् ।

विप्लवमाथि प्रतिबन्धबारे सरकारले पुनर्विचार गर्नुपर्छ : पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध गलत भएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । विप्लवमाथिको प्रतिबन्धलाई लिएर काङ्ग्रेसभित्रबाटै फरक–फरक धारणा बाहिर आइरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने मत व्यक्त गरेका हुन् ।

दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले प्रतिबन्ध लगाउन नहुने नेता पौडेलको मत छ । ‘कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनर्विचार गर्नुपर्छ’, उनले भने ।

केपी ओली नेतृत्वको सरकार शक्ति केन्द्रीकरणतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको दाबी उनको छ । बहुमतको आडमा यस्ता गतिविधिलाई निरन्तरता दिइरहे काङ्ग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी उनले दिए । ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार सरकारले लिँदा लोकतन्त्र खतरामा परेको दाबी नेता पौडेलको छ ।

नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारको एक वर्ष खेर गएको टिप्पणीसमेत गरे । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको भनाइ छ ।

यसैबीच एपी वान टेलिभिजनसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता प्रदीप गिरीले विप्लवले प्रचण्डले रोजेकै विद्रोहको बाटो रोजेकाले उनको पार्टीमाथि प्रतिबन्ध लगाउने कुरा लोकतन्त्रका पक्षमा नरहेको बताएका छन् । पत्रकार टीकाराम यात्रीसँग शनिबार भएको अन्तर्वार्तामा उनले भने, ‘प्रचण्डकै बाटो हिँडेका विप्लवमाथि प्रतिबन्ध लगाउनु ठीक छैन । वार्ता र संवादबाट समस्याहरूको समाधान खोजिनुपर्छ ।’

विखण्डनकारीलाई अँगालो, विप्लवलाई प्रतिबन्ध : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न विखण्डनकारी तत्वलाई अँगालो हाल्ने र विप्लवलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् ।

मकवानपुरको फापरबारीमा शनिबार आयोजित कार्यक्रममा बर्तौलाले सरकार सर्वसत्तावादको बाटोतर्फ अग्रसर भएको भन्दै आक्रोश पोखे । निषेधको राजनीतिले निकास नदिने भन्दै सरकारलाई सहिष्णु बन्न उनको सुझाव थियो ।

कमजोर जगमा उभिएको गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता हल्लिन थालेको चर्चा गर्दै बर्तौलाले वैकल्पिक शक्तिका रूपमा राप्रपालाई बलियो बनाउन आवश्यक भएको धारणा व्यक्त गरे ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लगायत नेताहरूले यसअघि नै नेकपामाथिको प्रतिबन्ध र नेता सुदर्शनको गिरफ्तारीको विरोध गर्दै वक्तव्य निकालिसकेका छन् ।

२०७५ चैत ९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :