नेकपा नेता कुमार पौडेलको हत्याप्रति विभिन्न पार्टी–नेताहरूद्वारा भत्र्सना, निष्पक्ष छानबिनको माग

फर्जी मुठभेडको आवरणमा मान्छे मार्न बन्द गर : राष्ट्रिय पुनर्जागरण अभियान


काठमाडौँ : यही असार ५ गते सर्लाहीको लालबन्दी १, लखन्तीमा प्रहरीले नियन्त्रणमा लिएर नेकपा सर्लाहीका इन्चार्ज तथा लोकप्रिय सुकुमबासी नेता कुमार पौडेलको क्रूरतापूर्वक हत्या गरी दोहोरो मुठभेडको प्रचार गरेपछि सत्तासीन नेकपाका नेता, सांसददेखि काङ्ग्रेस नेता, पूर्वप्रधानमन्त्री, विभिन्न पार्टी र स्वतन्त्र व्यक्तित्वहरूले समेत घोर निन्दा एवम् भत्र्सना गर्दै हत्याकाण्डको न्यायिक छानबिन गर्न माग गरेका छन् ।
सरकारी नेकपाका सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्माले सर्लाही घटनाले पञ्चायतकालको झझल्को दिएको बताएका छन् । आइतबार बिहान राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गत असार ५ गते सर्लाहीको लालबन्दीमा ‘प्रहरी रनेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको’ भन्ने सरकारी पक्षको भनाइ सही नभएको बताए । उनले भने, ‘उक्त घटनाले पञ्चायती बर्बरताको झझल्को दिएको छ ।’

उनले यस विषयमा गृहमन्त्रीले समितिमा आएर स्पष्ट पार्नुपर्ने पनि बताए । उनले भने, ‘हातखुट्टा भाँचेर मारिएको भन्ने कुरा बाहिर आएको छ । तुरुन्तै गृहमन्त्रीलाई बोलाएर यथार्थ कुरा के हो,हामीलाई जानकारी गराउनुप¥यो ।’समाचारमा आएजस्तो हातखुट्टा भाँचेर मारिएको हो भने यस्तो काम राज्यले गर्न नपाउने शर्माको भनाइ थियो ।संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उनले आपत्तिजनाएका थिए ।

उनले भने, ‘निर्ममढङ्गले हातखुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ।मलाई त्यो बेला धनमायाको हत्याको याद आयो। पञ्चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो।’ शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नउठ्नसक्ने बताए।शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ति जनाएका थिए ।
समिति सभापति शशी श्रेष्ठले भने गृहमन्त्री रामबहादुर थापालाई सोमबार बैठकमा बोलाइने बताएकी थिइन् ।
सोही क्रममा संसद्को प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद तथा समिति सदस्य दिलेन्द्रप्रसाद बडुले सर्लाही घटनालगायतविषयमा छलफल गर्नप्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने धारणा राखेका थिए ।

यसैबीच पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कुमार पौडेलको हत्या फेक इन्काउन्टरबाट भएको बताएका छन् । उनले पौडेलको मृत्युको घटनाबारे सत्यतथ्य छानबिनको मागसमेत गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा शनिबार सन्देश लेख्दै भट्टराईले भनेका छन्, ‘हिजो पुरानो सत्ताधारीले गरेको हर्कत यो सरकारले पनि दोहो¥यायो । जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा आज सत्तासीन बनेका हिजोका क्रान्तिकारीहरूले उही पुरानो हर्कत दोहो¥याउनु विडम्बना हो ।’

रातोपाटी अनलाइनले प्रहरी–विप्लव ‘मुठभेड’ : ‘इन्काउन्टर’ कि ‘फेक इन्काउन्टर’ ? शीर्षकमा लेखेको छ, ‘प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी इन्काउन्टरमा मारिएको भनिए पनि यो घटना पत्यारयोग्य नभएको भन्दै सांसददेखि विप्लवसमेतले छानबिनको माग गरेका छन् ।’

सत्तापक्षकै सांसदले गरे छानबिनको माग भन्ने उपशीर्षकमा लेखिएको छ, ‘विप्लवका कार्यकर्ता मुठभेडमा मारिएको भनिएको यो पहिलो घटनाहोइन । यसअघि भोजपुरमा पनि यसैगरी विप्लवका कार्यकर्ता तीर्थ घिमिरे मारिएका थिए । एकपछि अर्को गर्दै विप्लवका कार्यकर्ता मारिन थालेपछि यो विषयले संसद्मा समेत प्रवेश पाएको छ ।सत्तासीन दलका सांसद शिवकुमार मण्डलले सर्लाहीको लालबन्दीमा भएको घटनाबारे सत्यतथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमासांसद मण्डलले उक्तघटनाको सत्यतथ्यबारे गृहमन्त्रालयले सदनलाई जानकारी दिनुपर्ने बताए ।उनले भने, ‘सर्लाहीको लालबन्दी भन्ने ठाउँमा विप्लवका कार्यकर्ता भिडन्तमा मारिएको भन्ने सुनिएको छ । यतिबेला निःशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न संवेदनशील र गम्भीर बन्दै गएको छ ।’

उनले विप्लव पार्टीप्रति राजनीतिक व्यवहार देखाउनुपर्ने पनि बताए । ‘विप्लव राजनीतिक पार्टी भएकाले राजनीतिक तवरले नै त्यसको समाधान खोज्नुपर्छ । सरकारले विभिन्न विचार अवलम्बन गरेर भए पनि संवादमार्फत समाधान गर्ने प्रयत्न गरोस्’, मण्डलले भने । सरकारले राजनीतिक कार्यकर्तालाई मार्ने काम गरेको भन्दै यसले कसैलाई राम्रो नहुने सांसद मण्डलले बताए ।
मण्डलले भने, ‘यो मार्ने कुराले राष्ट्रलाई पनि राम्रो गर्दैन, यो समाजलाई पनि राम्रो गर्दैन । त्यसर्थ त्यस घटनाका बारेमा सत्यतथ्य के हो ? गृह मन्त्रालयमार्फत सदनलाई जानकारी गराइयोस् ।’

संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद मीना पाण्डेले त पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको दाबी नै गरेकी थिइन् । सांसद पाण्डेले भनिन्, ‘सर्लाहीको बागमती नगरपालिका२ निवासी पौडेलको प्रहरीले समातेर हत्या गरेको भन्ने कुरा आएको छ । कुमार पौडलले के गरे र कुन पार्टीमा संलग्न थिए भन्ने कुरामा राज्यको चासो हुनु स्वाभाविक नै होला तर स्थानीयवासिन्दाले समातेर गोली हानी हत्या गरेको ठहर गरेका छन् ।’

सरकारले पौडेलमाथि ‘फेक इन्काउन्टर’ गरेर गम्भीर मानवअधिकार उल्लङ्घन गरेको उनले बताइन् । सर्लाही नै घर भएकी सांसद पाण्डेले भनिन्, ‘कसैलाई पहिले नियन्त्रण लिइसकेपछि फेक इन्काउन्टर गरेर हत्या गर्नु भनेको गम्भीर मानवअधिकारको उल्लङ्घन हो ।’
केही समयपहिले सागरनाथ बन परियोजनामा सुकुमबासीका घरटहरा भत्काउन लगाइएको भन्दै बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धपौडलले कारबाहीको चेतावनी दिएको र सोही विवादपछि फेक इन्काउन्टर भएको आशङ्का गर्दै सांसद पाण्डेले भनिन्, ‘निज गरिखाने युवा थिए ।’ उनले तत्कालीन एमालेमा प्रवेश गराएको, सुकुमबासीका लागि राजनीतिगरेको, माओवादीमा प्रवेश गर्दा पनि त्यसैलाई निरन्तरता दिइराखेको स्मरण गराउँदै भनिन्, ‘अहिले त्यही खेतीअन्तर्गत कस्तो अपराध र गल्ती ग¥यो, त्यो राज्यको चासो हो । त्योे खोजीनीति र तलासी होस् । नियन्त्रणमा लिएर मार्नु, प्रहरीले गोली ठोकी मारेर ल्याई जङ्गलमा राखेर इन्काउन्टरमा म¥यो भन्नु गलत हो । यो कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ ‘यसले मानवअधिकार उल्लङ्घनका घटना बढाउँछ । सर्लाही जिल्ला द्वन्द्वबाट बल्लबल्ल बाहिर आएको छ । तर फेरि द्वन्द्वको खतरा बढेको छ ।’

सांसद पाण्डेले इन्काउन्टरको प्रमाणसहित संसद्लाई जानकारी गराउन माग पनि गरेकी थिइन् । ‘फेक इन्काउन्टर होइन भने गृहमन्त्रीले प्रमाणसहित भन्नुपर्छ । होइन भने यसको निष्पक्ष छानविन होस्,’ उनले भनिन्, ‘होइन भने यो मन नपरेको मानिसलाई मार्ने तरिका पनि हुनसक्छ ।’

‘उनी कुन पार्टीमा थिए मेरो चासोको विषय होइन । नियन्त्रणमा लिएर मार्दा मानवअधिकारको खिल्ली उडाइएको छ । दुईतिहाइ बहुमत भएको लोकतन्त्रमा विश्वास गर्ने सरकारले यो के गर्न खोजेको ?’, उनको प्रश्न थियो ।

फर्जी मुठभेडको आवरणमा मान्छे मार्न बन्द गर : राष्ट्रिय पुनर्जागरण अभियान

राष्ट्रिय पुनर्जागरण अभियान नेपालले केपी वली नेतृत्वको सरकारले फर्जी मुठभेडको आवरणमा नेकपाका जिम्मेवार नेताहरू र कार्यकर्ताहरूलाई हत्या गर्न थालेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । अभियानको केन्द्रीय कार्य सञ्चालन समितिको बैठकले केही समयपहिले भोजपुर जिल्लामा र हालै सर्लाही जिल्लामा गरिएका हत्याहरू विरोधको आवाज दबाउने र हिंसाको वातावरण बनाएर आफ्नो अभीष्ट पूरा गर्ने षड्यन्त्रका हिस्साहरू रहेको निष्कर्ष निकालेको छ । अभियानका अध्यक्ष अनारसिंह कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस्तो व्यवहारले भोलि जुनसुकै व्यक्ति पनि मारिन सक्ने खतरातर्फ सचेत रहँदै र यसका विरुद्ध एकजुट हुन सबैमा अनुरोध गर्दै अभियानले यस्ता कर्तुतहरूको निन्दा गर्दछ ।’

अभियानले नेपालका संस्कृति र परम्पराहरू ध्वस्त पार्ने पश्चिमा शक्तिहरूको डिजाइनमा ल्याइएको गुठी विधेयकभित्रको गलत उद्देश्यबाट सरकार पूर्ण रूपमा पछाडि हटेको नदेखिएकाले गुठी विधेयकका विरुद्धमा उठेको जनमत शिथिल हुनासाथ विधेयक फेरि अघि बढाइनसक्ने खतराको पनि सङ्केत गरेको छ । अतः यसका विरुद्ध चनाखो हुन पनि अभियानले सबैमा अनुरोध गरेको छ ।

अभियानले संस्थाको धारणा सार्वजनिक गर्न प्रवक्ताका रुपमा अभियानका केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार नीमकान्त पाण्डेलाई नियुक्त गरेको जानकारी पनि विज्ञप्तिमार्फत दिएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ असार ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :