नेकपा निकट अखिल (क्रान्तिकारी)द्वारा गिरफ्तारी, एनसेल र भूमाफियाकाे प्रतिरोध गर्न अपिल (विज्ञप्तिसहित)

काठमाडौं : अखिल (क्रान्तिकारी) संगठनले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन र हस्तक्षेप गरी विद्यार्थी नेताहरुलाई बिनाकारण गिरफ्तार गरी गैरन्यायिक तरिकाले हिरासतमा राख्ने र झुठा मुद्दामा फसाउने प्रपञ्च केपी–बादल गृह प्रशासनले गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनका केन्द्रीय समितिका सचिवालय सदस्य विरेन्द्र लुहार, संगठनको ललितपुर जिल्ला उपाध्यक्ष रमेश सुनार, क्याम्पस जिल्लाका सचिव तारा सन्ज्याल र सदस्य बुद्धहाङ राईलाई शुक्रबार राजधानीको शान्तिवाटीकामा तीन विद्यार्थी संगठनले आयोजना गरेको संयुक्त विरोध सभाबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको जनाउँदै गिरफ्तारीको घोर भत्सर्ना र निन्दा गरेका छन् ।
सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर राष्ट्रघाती, भ्रष्ट, जनविरोधी र फाँसीवादी कार्यलाई तीव्रता दिएको उल्लेख गर्दै फाँसीवादको विरोधमा उत्रिएका विद्यार्थीहरुलाई गैरन्यायिक ढंगले गिरफ्तार गरी यातनासहित हिरासतमा राखिएको विज्ञप्तिमा जनाइएको छ ।

७३ अर्ब लाभकर छल्ने एनसेल तथा बालुवाटारलगायत विभिन्न ठाउँमा सरकारी जग्गा नीजिकरण गर्नेमाथि कारवाही गर्न माग गर्दै र भोजपुरमा शान्तिपूर्ण गतिविधिमा संलग्न रहेका युवा नेता तीर्थराज घिमिरे ‘राजु’लाई सरकारले निहत्था अवस्थामा नियन्त्रणमा लिई कायरतापूर्ण हत्या गरेको विरोधमा शुक्रबारको विरोधसभा आयोजना गरिएकोसमेत अध्यक्ष ढकालले स्पष्ट पारेका छन् ।

विद्यार्थी नेताहरुको गैरन्यायिक गिरफ्तारले सरकार र गृह प्रशासनको असली फाँसीवादी मुकुण्डो उदांगिन पुगेको उल्लेख गर्दै गिरफ्तार नेताहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । साथै राजश्वमारा एनसेल, सरकारी जग्गा हडप्ने भूमाफिया र घिमिरेको गैरन्यायिक हत्या गर्ने दलाल फाँसीवादी सरकारको प्रतिरोध गर्नसमेत अध्यक्ष ढकालले विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नेकपा (क्रान्तिकारी माओवादी) निकट र नेकपा (माओवादी केन्द्र)निकट संगठनहरुले संयुक्त रुपमा शुक्रबार दिउँसो १ बजे शान्तिवाटीकामा आयोजित विरोधसभा स्थलबाटै ती चार विद्यार्थी नेताहरुलाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको थियो ।

अहिले चारै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टेकु हिरासतमा राखिएको जनाइएको छ । गत फागुन २८ गते एकाएक नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय लिएपछि पार्टी र उसका भातृ संगठनहरुमाथिसमेत दमन र धरपकड जारी राखेको छ ।
विज्ञप्तिको पूर्णपाठ…

२०७६ जेठ ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :