नेकपा झापाद्वारा भ्रामक समाचारको खण्डन, सरकारको तिव्र आलोचना


झापा : नेपाल कम्युनिस्ट पार्टी झापाले सोमबार अनलाइन पत्रपत्रिकामा प्रकाशित झापाबाट विप्लवका १७ कार्यकर्ता पक्राउ शिर्षकमा छापिएको समाचारको खण्डन गरेको छ । झापा जिल्लाको सेक्रेटरी मनिसले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त समाचार नेपाली जनताको क्रान्तिबाट अत्तालिएका दलालहरुको गोएवल्स शैलीको प्रचार–प्रसार रहेको बताउँदै आफ्ना कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुलाई निराश नहुन आग्रह गर्दै भ्रमित समाचार लेख्ने अनलाइन पत्रपत्रिकालाई सचेत गराएका छन् ।

सेक्रेटरी मनिसले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला देशमा केपी–पिके नेतृत्वको दलाल फासिवादी संसदीय सत्ता पराजयको अन्तिम छटपटाहटमा गुज्रिरहेको छ भने अर्कोतिर एकीकृत जनक्रान्तिको माध्यमद्वारा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारिरहेको वैज्ञानिक समाजवादी सत्ता स्थापनाको हामी सन्निकट अवस्थामा छौँ । आमरुपमा हाम्रो पार्टी, क्रान्ति र व्यवस्था परिवर्तनको हाम्रो आन्दोलनप्रति नेपाली जनताले जुन ढंगको ऐक्यबद्धता, साहस र उत्साहजनक ढंगले प्रत्यक्ष सहभागिता जनाएका छन्, यसबाट केपी–पिके नेतृत्वको दलाल फासिवादी संसदीय सत्ता अतालिएको अवस्थामा छ ।’

मनिसले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘यसको पछिल्लो उदाहरण आफैंले बनाएको कानुनको उल्लंघन गर्दै हाम्रो पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरुलाई बिनाकारण पक्राउ पुर्जी जारी गर्ने, झुठा मुद्दा लगाउने, ‘सर्च एण्ड एरेस्ट’को नाममा नेपाली जनतामाझ आतंक सिर्जना गर्ने, हाम्रा निर्दोष र निशस्त्र कार्यकर्तालाई पक्राउ गरी मुठभेडका नाममा हत्या गर्ने, सहि सुचना र समाचार जनतामाझ सम्प्रेषण गर्ने सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुलाई प्रतिबन्धका साथै जनपत्रकारहरुमाथि निरन्तर गिरफ्तारीको प्रयास, लेखक तथा साँस्कृतिक कर्मिहरुलाई दमन, धरपकड तथा गिरफ्तारी गर्ने जस्ता यावत् घटनाले केपी–पिके दलाल फासिवादी सत्ताको अन्तिम छटपटाहट र यसको असली चरित्र देखिएको छ । हामीविरुद्ध यो दलाल फासिवादी सत्ताको अन्तिम अस्त्र हो ।’

मनिसले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘पछिल्लो समयमा हामीले गरेको संघर्षपुर्ण कार्यक्रम एनसेलमाथिको कारबाही तथा तिब्बतियन, भुटानी, भारतीय लगायतका विदेशी नागरिकहरुसँग मोटो रकम असुलेर नेपाली नागरिकताको ब्यापार गरेर हाम्रो राष्ट्रियतामाथि हमला गर्ने भ्रष्ट जनप्रतिनिधिहरुमाथि कारबाही गर्दै हायल–कायल पारेपछि अत्तालिएका दलालहरुले झापाली जनताको क्रान्तिकारी बिचारधारलाई निस्तेज र निरुत्साहित गर्ने गरी आम हाम्रो पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरुमाथि भ्रमित पार्दै निराशाजनक बनाउने उद्देश्यका साथ हिजो विभित्र अनलाइन पत्र–पत्रिकामा झापाबाट विप्लवका १७ जना कार्यकर्ता पक्राउ भन्ने झुठा समाचार गोएवल्स शैलीमा प्रचार–प्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त झुठो समाचारको खण्डन गर्दै हाल झापाबाट हाम्रा कुनै पनि कार्यकर्ता पक्राउ नपरेको जानकारी गराउँदै हामी हाम्रा कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक, पत्रकार, बुद्धिजीवी लगायत आम झापाली जनतालाई उक्त झुठो समाचारबाट भ्रमित नहुन र दलालहरुको अन्तिम छट्पटाहटलाई निरुत्साहित पार्दै निरन्तर वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिकालागि संघर्ष गर्न हार्दिक अनुरोध गरिन्छ । साथै निरन्तर क्रान्तिमा होमिएको हाम्रो पार्टीकाविरुद्ध हाम्रा कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक र नेपाली जनतालाई भ्रमित र निराशाजनक तुल्याउने उद्देश्यले झुठो तथा भ्रमित समाचारहरु सम्प्रेषण नगर्न सम्पुर्ण पत्रकार तथा सञ्चारमाध्यमहरुलाई यसै विज्ञप्तिमार्फत सचेत गराइन्छ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ साउन २९ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :