नेकपाले गर्‍यो ललिता निवासको जग्गा कब्जा

जग्गा हडप्ने योजनाका मुख्य नाइके शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले व्यक्तिका नाममा गरिएको ललिता निवासको सरकारी जग्गा कब्जा गरेको छ । बुधबार साँझ उक्त जग्गामा झन्डा गाडेर नेकपाले जग्गा कब्जा गरिएको घोषणा गरेको हो ।
ललिता निवासको जग्गा कब्जा गरेको ब्यानरसमेत उक्त स्थानमा गाडिएको छ । उक्त ब्यानरमा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदी, सरकारी नेकपाका विष्णुप्रसाद पौडेलका नाममा गरिएको सबै ११५ रोपनी जग्गा कब्जा गरिएको नेकपाले जनाएको छ । त्यसैगरी ललिता निवासको जग्गा हडप्ने योजनाको मुख्य नाइके मानिएका शोभाकान्त ढकालको घर सेबोटेज गरेको नेकपाले जनाएको छ ।

नेकपाले उक्त सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै विरोध गर्दै आएको थियो । प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको जग्गामा झन्डासँगै कब्जा गर्नुको कारण खुल्ने पर्चा पनि भेटिएको छ ।

विगत लामो समयदेखि धेरै चर्चा र विवादमा रहेको राष्ट्रिय सम्पत्ति, बालुवाटारस्थित करिब तीन सय रोपनीमा रहेको भीमशमशेरका नाती सुवर्णशमशेरका नाममा बनाइएको भव्य सुवर्ण महल अर्थात् हालको ललिता निवासको जग्गाका बारेमा भएको चरम माफियाकरणबारे नेकपाले पर्चामार्फत प्रस्ट पारेको छ ।

 

पर्चामा भनिएको छ, ‘यसबारेमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । २००७ सालको राजनीतिक परिवर्तनसँगै राणाहरूको दरबारको राष्ट्रियकरण गर्ने सिलसिलामा ललिता निवास पनि तत्कालीन सरकारबाट सिज भएको तर बहुदल आइसकेपछि राज्यसत्ताका सबै उपरिसंरचनामा फस्टाएको व्यापक माफियाकरणले गर्दा राज्यको सम्पत्तिस्वरूप राष्ट्रियकरण भएको ललिता निवासको जग्गा माफियाका नाइकेहरू भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भूमाफियाहरू शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चङ्गुलमा परी राज्य सञ्चालकहरूले सुवर्णशमशेरका सन्तानबाट तथाकथित मोही सिर्जना गरी राष्ट्रिय सम्पत्तिका रूपमा आएको र थप आउन सक्ने जग्गालाई व्यक्तिको निजी सम्पत्तिको रूपमा हुनेगरी भएको किनबेचले तथाकथित कम्युनिस्ट नामधारी केपी नेृतत्वको दलाल सरकार जनता र राष्ट्रका पक्षमा भन्दा माफिया र दलालहरूका पक्षमा छ भन्ने प्रस्ट हुन्छ ।’

जग्गा कब्जाबारे नेकपाले जारी गरेको पर्चामा अगाडि भनिएको छ, ‘राष्ट्र र जनताको सम्पत्ति माफियाहरूको हातबाट पुनः राष्ट्र र जनताको हातमा ल्याउनको निमित्त माफियाहरूद्वारा कब्जा गरिएको वा किनबेच भएको अर्थात् भाटभटेनी सुपरमार्केट मालिक मीनबहादुर गुरुङसँग भएको २२ रोपनी, गोयल ग्रुपसँगको २१ रोपनी, श्रद्धा ग्रुपसँगको ४ रोपनी, चाचन ग्रुपसँगको ३ रोपनी, गोपाल खनाल ग्रुपसँगको ४ रोपनी, तत्कालीन र हाल सत्ताधारी (नेकपा) का महासचिव विष्णु पौडेलसँगको कित्ता नं. २०९ र ३१५ सहितका ८ आना, पुरुषोत्तम पौड्यालसँग भएको १.५ रोपनी र अन्य विभिन्न व्यक्ति र समूहसँग रहेको २९ रोपनी गरी जम्मा ११५ रोपनी जग्गा आजैका मितिबाट हाललाई पार्टी मातहत रहने गरी कब्जा गरिएको देशभक्त, राष्ट्रप्रेमी र न्यायप्रेमी जनसमुदायलाई सूचित गराउन चाहन्छौँ ।’

नेकपाले उक्त जग्गा अर्को निर्णय नगरेसम्म किनबेच वा कुनै पनि कारोबार गरिएको पाइएमा निज व्यक्ति र संस्था साथै सहयोग गर्नेलाई पार्टीले हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
बालुवाटरस्थित ललिता निवास परिसरमा रहेको ११५ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने र बेच्ने योजनाकार भएकाले र शारदा त्रितालको नेतृत्वमा गठित छानबिन समितिले भूमाफिया किटान गरेकाले ढकालको घर सेबोटेज गरिएको पर्चामा उल्लेख गरिएको छ ।

योजनाकार ढकालको घरमा बम विस्फोट

बालुवाटारको सरकारी जग्गा बिक्री प्रकरणमा मुछिएका डा.शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । कामपा १६ सानो भ¥याङस्थित नर्सरीचोक छेउ ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

विस्फोटका कारण पार्किङमा राखिएको एउटा गाडीमा क्षति पुग्नुका साथै घरको झ्याल र पर्खालमा क्षति पुगेको जनाइएको छ । घटनास्थलमा नेकपाको पर्चा फेलापारिएको र घर कब्जा गरेको ब्यानर पनि टाँगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :