नेकपामाथिको प्रतिबन्ध विषयक अन्तरक्रिया कार्यक्रम दाङमा सम्पन्न


दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ १२ नम्बर एरियाको आयोजनामा नेकपामाथि लगाइएको प्रतिबन्ध सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार बबई गाउँपालिकामा सम्पन्न भएको छ ।

विभिन्न पार्टीका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, स्थानीय जनताहरुको सहभागितामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध गलत रहेको भन्दै राजनीतिक पार्टीलाई राजनीतिक कार्यक्रम गर्न दिनुपर्छ भन्ने कुरामा जोड दिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक कार्यक्रम, गतिविधि गर्न नदिएर सरकारले प्रतिबन्ध लगाएर दमन गर्नुले देशमा फेरि युद्ध निम्त्याउने त होइन यसतर्फ सजक हुन वक्ताहरूले आग्रह गरेका छन् ।

दमन गरेर समस्या समाधान हुदैन झन् विकराल हुने भन्दै छिटोभन्दा छिटो राजनीतिक ढंगले समस्या समाधान गर्न लाग्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस पुरन्धाराका पूर्व सभापति दुर्गाबहादुर भण्डारी, तत्कालीन वडा उम्मेदवार कृष्णा खत्री, बुद्धिजीवी टेकेन्द्र अधिकारी, सामुदायिक वनका प्रतिनिधि प्रेम खड्का, प्रहरीबाट रिटाएयर शेरबहादुर खड्का, स्थानीय तिलक भण्डारी, नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य कुशल, जिल्ला सदस्यहरु रवि, उदय लगायतले बोल्नुभएको थियोे । कार्यक्रमको अध्यक्षता एवं सञ्चालन उर्जाले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला सदस्य विराटले गर्नुभएको खबर प्राप्त भएको छ ।

२०७६ भदौ १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :