नेकपामाथिको प्रतिबन्ध फुकुवा माग गर्दै आन्दोलन, पाँच पार्टीबीच कार्यगत एकता

काठमाडौँ : केपी शर्मा वलीको सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध, नागरिकता, भ्रष्टाचार र हत्यालाई लिएर पाँच पार्टीले १० गते बुधबार संयुक्त वक्तव्य निकाली आन्दोलनको घोषणा गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘केपी शर्मा वली नेतृत्वको सरकारले देश र जनताका विरुद्ध गरेका गम्भीर राष्ट्रघात र जनघातले नेपाली समाज आक्रान्त छ । यस परिस्थितिमाथि ध्यान दिँदै हामी निम्नलिखित राजनीतिक पार्टी र सङ्गठनका प्रतिनिधीका बीचमा भएका सौहार्दपूर्ण छलफलहरूबाट मिल्नसक्ने निम्नअनुसारका साझा विषयहरूमा कार्यगत एकता गर्ने सहमतिमा पुगेका छौँ :

१. जन्मका आधारमा नागरिकता भएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनका लागि सत्ता पक्षबाट चालू संसद्मा प्रस्तुत संशोधन प्रस्ताव विचाराधीन रहेकै अवस्थामा गृह मन्त्रालयले सर्कुलर जारी गर्दै वंशजको नागरिकता वितरण गरेकोमा हामी त्यसको भत्र्सना गर्दछौँ र संशोधन प्रस्तावलाई फिर्ता लिई उक्त सर्कुलरका आधारमा वितरण गरिएका नागरिकता रद्द गर्न माग गर्दछौँ ।

२. भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर हाम्रो ३७२ वर्गकिलोमिटर जमिन गायब पारिएको छ । उक्त नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न हामी माग गर्दछौँ ।

३. राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दछौँ ।

४. वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरू तथा हालै प्रधानमन्त्री निवाससहित बालुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारबाहीको माग गर्दछौँ । एनसेलले तिर्नुपर्ने अर्बौँ रूपैयाँ कर तुरुन्त असुली गरियोस् भन्ने माग गर्दछौँ ।

५. तस्करीको ३८ क्विन्टल र साढे ३३ किलो सुन कहाँ छ ? यो सार्वजनिक गरी संलग्नहरूमाथि कारबाही गरियोस् ।

६. कञ्चनपुर भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरूलाई सार्वजनिक गरी कारबाही गरियोस् ।

उपरोक्त मागहरू अविलम्ब पूरा गर्नका लागि हामीले यो संयुक्त वक्तव्य जारी गरेका छौँ । यसका साथै यही वैशाख २७ गते शान्तिवाटिकामा संयुक्त विरोधसभा पनि आयोजना गर्ने निर्णय गरेका छौँ । उपरोक्त मागहरू सबैका साझा माग भएकाले यो सङ्घर्षमा सामेल हुन हामी सबै जनपक्षीय शक्ति र व्यक्तिहरूलाई समेत आग्रह गर्दछौँ ।

उक्त वक्तव्यमा नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका तर्फबाट प्रतिनिधि सुलभ, नेकपाका तर्फबाट ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट कर्णजित बुढाथोकी सुशील र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तर्फबाट सीपी गजुरेलले हस्ताक्षर गरेका छन् । 

उक्त संयुक्त विज्ञप्तिमा यही वैशाख २७ गते शुक्रबार शान्तिबाटिकामा बृहत् विरोधसभा गर्ने पनि जनाइएको छ ।

२०७६ वैशाख १० गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :