नेकपाले गर्यो देशभर नेपालको नक्सा प्रदर्शन

आफूहरू मर्न तयार रहेको तर नेपालको भूमि गुम्न नदिने प्रतिबद्धता


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन गरेको छ । पार्टीको दोस्रो चरणको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार नेकपाले बिहीबार काठमाडाैँ, ललितपुर, भक्तपुर, कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशभर विशाल नेपालको नक्सा प्रदर्शन गरेको हो ।

कालीकोटबाट प्राप्त समाचारअनुसार नक्सा प्रदर्शन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी कालीकोटका सेक्रेटरी रणदीपले आफूहरू बरु मर्न तयार रहेको तर आफ्नो भूभाग गुम्न नदिने बताए । पार्टीको दोस्रो चरणको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार भएको विशाल नेपालको नक्सा प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

रणदीपले नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियताका पक्षमा बोल्दा प्रतिबन्धित हुनुपरेको स्मरण गराउँदै भारतीय साम्राज्यवादको दादागिरी झन्झन् बढेकाले पुर्खादेखि गुमेको नेपाली भूभाग फिर्ता गराउन आफ्नो पार्टी अन्तिमसम्म लड्ने र आमनेपालीले साथ दिने विश्वास व्यक्त गरे ।

यसैबीच नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्चले पूर्वघोषित कार्यक्रमअनुसार सीमा बचाऊ अभियानले तयार पारेको नक्सा प्रचार कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले काठमाडौँका विभिन्न ठाउँमा पर्चा वितरण तथा नक्सा प्रदर्शन गरेको हो । चाबहिल, सामाखुसी, नयाँबसपार्क, बालाजु, टोखा, बूढानीलकण्ठलगायत स्थानमा ब्यानर प्रचार तथा नेपालका लिपुलेक, कालापानी लिम्पियाधुरासहित समेटिएको नक्सा, हाते प्रचार तथा तस्बिर प्रदर्शन गरी साम्राज्यवादी अतिक्रमण र सरकारी लाचारीको विरोध गरिएको समाचारमा जनाइएको छ । उक्त कार्यक्रमको नेतृत्व जनगतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले गरेका थिए । विभिन्न ठाउँमा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, जिल्ला संयोजक तथा जिल्ला सदस्य भेला भई हाते प्रचार सामग्री वितरण गरेर ब्यानर र फोटो प्रदर्शन गरिएको थियो ।

झापाबाट प्राप्त समाचारअनुसार सीमा बचाऊ अभियानद्वारा जारी गरिएको नेपालको नक्सा झापाका दर्जनौँ स्थानमा प्रदर्शन गरिएको छ ।

झापाका मुख्यमुख्य सहर र गाउँका १५ स्थानमा उक्त नक्सा प्रदर्शन गरिएको जानकारी झापाका जिल्ला सचिव श्रीजनले दिएका छन् । पार्टीमाथिको प्रतिबन्ध तथा फासिवादी सरकारको अनावश्यक धरपकड र दमनलाई चिर्दै आफूहरू राष्ट्र र जनताका पक्षमा दृढतापूर्वक लागेको उनले बताए । झापा पनि सीमा अतिक्रमणको चपेटामा परेको जिल्ला भएकाले जिल्लाका आमजनताको साथ र सहयोगमा अतिक्रमणविरुद्ध सशक्त प्रतिवाद गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :