नेकपाद्वारा कालिकोटका सबै स्थानीय तहमा तालाबन्दी


कालिकोट : नेपाल कम्युनिस्ट पार्टी एकाएक आक्रामक बन्दै गइरहेको देखिन्छ । कर्णाली प्रदेश अन्तरगत रहेका कालिकोट जिल्लामा आइतबार राति नेकपाका कार्यकर्ताहरुले एकैरात सबै स्थानीय तहमा तालाबन्दी गरेर दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं ! सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं !! भन्ने नारासहित भेरी कर्णाली व्युरोको अपील छरिएको समाचार प्राप्त भएको छ ।

अपिलमा भनिएको छ, ‘कम्युनिस्टको खोल ओढेको समाजिक दलाल पुँजीवादी सरकारले प्रतिक्रियावादी, पतनउन्मुख र मरणासन्न संसदीय व्यवस्थालाई संस्थागत गर्न नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धमात्र लगाएन, देशमा हत्या र आतंकसमेत सृजना गरेको छ । पछिल्लो समयमा यो सरकारले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको यहि ०७६ साल असार ५ गते गोली हानी हत्या गरेको छ । गत जेठमा भोपुर जिल्लामा तिर्थ घिमिरेको गोलीहानी हत्या गरेको थियो । केपी ओलीको नेतृत्वमा सरकार बनेदेनि अहिलेसम्म करिव पाँच सय बढी नेता र कार्यकर्ताहरु गिरफ्तार गरिएका छन् ।’

भेरी कर्णाली व्युरोको अपिलमा भनिएको छ, ‘विगतको निरन्तरतामा कथित कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले ठुलठुला राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी कामहरु गर्दै आएको छ । देशमा औद्योगिकरण गरी समृद्धिको बाटोमा लैजानुपर्ने माथिल्लो कर्णाली, अरुण३, माथिल्लो मस्र्याङ्दीलगायत तमाम परियोजनाहरु विदेशी एकाधिकारवादी माफियाहरुलाई दिर्ईएको छ । विदेशी एकाधिकारवादी माफिया कम्पनी एनसेलले राज्यलाई तिर्नु पर्ने ७२ अर्व रुपैया तिर्न नपर्ने भन्दै संसदवादी पार्टीका नेताहरु हिडिरहेका छन् । यसको पछाडि रहेको मुख्य कारण के हो भने अहिलेको संसदवादी सत्ताले राष्ट्रघाती सहमति गरेको र माफियाहरुबाट कमिसन खाएको छ, भ्रष्टाचार गरेको छ । हाम्रो पार्टीले राज्यलाई कर तिर्न दवाव दिंदै यो कम्पनीमाथि कार्यवाही गरेपछि सरकारले गरेको राष्ट्रघातको पर्दाफास गर्दै यो कम्पनीले कर तिर्न नपर्ने भनि नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिसकेको छ ।’

अपिलमा अगाडि भनिएको छ, ‘देशमा अहिले व्यापक रुपमा भ्रष्टाचार, महंगी, चर्को कर असुली व्याप्त छ । जनताकोलागि सार्वजनिक विकाश गर्नुपर्ने रकम व्यक्तिगत मुनाफाकालागि दुरुपयोग गरिएको छ, लघुवित्त तथा वित्तिय संस्थाहरु खडागरी ती संस्थामार्फत पुँजीपतिको पैसा लगानी गरिएको छ र जनताको घरखेत निलालमात्र गरिएको छैन, तमाम नागरिकले आत्महत्या गरिसकेका छन् र केही वेपत्ता पारिएका छन् ।’
अपिलमा भनिएको छ, ‘बजेटको विनीयोजन, विकाशका कामहरु र रोजगारीको अवसरमा नातावाद हावी छ, कथित जनप्रतिनिधिहरुको एकाधिकार रहेको छ र समाजमा बैंक, वित्तिय संस्था र स्वघोषित महंगो भाडाका डोजरहरुको आतंक चलेको छ । जमिनमाथि भुमाफियाको पकड बन्दै गइरहेको छ, जनता दिनप्रतिदिन सुकुम्बासी बन्दै गइरहेका छन् । शिक्षा तथा स्वास्थ्यमा हुने व्यापारिकण सरकारको कर असुली र कमिशनखोरीको साथसाथै तिव्रताकासाथ बढिरहेको छ र जनताको हाडमासु गल्ने गरी महंगीएको छ । कथित वैज्ञानिक बनका नाममा देशको हरियो वन फँडानी गरी काठ तस्करहरु, सरकारी अखडाहरु मोटाउने काम भएको छ तर जनताले आधारभूत उपयोग गर्नसमेत पाएका छैनन् । राज्यको मिलोमतोमा देशको पर्यावरण विथोल्ने गरी गिट्टी, बालुवा, ढुंगाको दोहन गरिएको छ । त्यसले केवल माफिया मोटाउने गरेका छन् । सर्वसाधारण जनताको कुनै पनि हित हुने गरेको छैन ।’

अपिलको अन्त्यमा भनिएको छ, ‘यसप्रकारका वेथितिको मुहान भनेको नेपालको संसदीय दलाल पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न, वर्तमान विकृतिको अन्त्य गरी जनतामा राहत दिन संघर्ष गर्ने हाम्रो पार्टीका विरुद्ध कथित प्रतिबन्ध थोपरिएको छ, र राज्य आतंक मात्र होइन हत्याका श्रृखलासमेत थोपरिएको छ । यसप्रकारको राज्य आतंक, हत्या, दमन र वेथिपतको कडा प्रतिवाद गर्न सम्पूर्ण जनतामा हाम्रो पार्टी अपिल गर्दछ । जवसम्म संसदीय दलाल पुँजीवादी व्यवस्था देशमा रहन्छ, तवसम्म त्यसले बहुसंख्यक नेपाली जनताको हित गर्न सक्दैन । राष्ट्रिय पुँजीको विकाश गर्न सक्दैन र देशको उन्नति पनि हुन सक्दैन । जवसम्म दलाल संसदीय व्यवस्था समाजमा रिहरहन्छ तवसम्म जनताबाट निर्वाचित प्रतिनिधिहरु वास्तविक रुपमा जनताका प्रतिनिधि नभएर दलाल पुँजीवादी वर्गका प्रतिनिधि हुन पुग्छन् । तसर्थ दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाकालागि सम्पुर्ण जनता संघर्षमा जुटौं । दलाल पुँजीवादी सत्ताका आधारहरु तथा समाजिक दलाल पुँजीवादी सरकारका अखाडाहरुमा तालाबन्दी गरौं । देशबाट प्रतिक्रियावादी सत्ता खारेज गरौं, गाउँ नगरबाट पुरानो सत्ता खाली गराऔं ।’

अपिलमा भएका नाराहरु :

एकीकृत जनक्रान्ति जिन्दावाद !
नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !
वैज्ञानिक समाजवाद स्थापना गरौं !
देशभक्त, लोकतान्त्रवादी तथा क्रान्तिकारी शक्तिहरु एक होऔं !
दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं !
सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं !

२०७६ असार २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :