नेकपाद्वारा एनसेल सिम बहिस्कार गर्न र घरको छटबाट टावर हटाउन अपिल


काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्लाले जनताको घरको छटमा राखिएको एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपिल गरेको छ । जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सेक्रेटरी भुवन जिसीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने, जनतालाई ब्रह्मलुट गर्ने एनसेल विरुद्ध प्रतिरोध गर्ने र एनसेल बढार्ने जनसंघर्षको क्रममा हुने सम्भावित खतराप्रति सचेत रहन जनसमुदायलाई अग्रिम अपिल गरेका छन् ।

जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सेक्रेटरी भुवन जिसीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गौरवशाली नेपाल कम्युनिस्ट पार्टी भयानक निराशालाई नयाँ आशामा, गम्भीर विचलनलाई दृढ प्रतिज्ञामा, अविश्वासलाई नयाँ विश्वासमा र प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा पूर्णसंगठित गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशाद्वारा दलाल पुँजीवादी सत्ताको खरानीमा वैज्ञानिक समाजवाद स्थापना गरी आम नेपाली जनता र हाम्रो राष्ट्रको नयाँ भविश्य, जीवन र मानव सभ्यताको निर्माण गर्ने महान अभियान एवंम आन्दोलनमा अविचलित ढंगले निरन्तर अघि बढिरहेको छ ।’

इन्चार्ज सिंह र सेक्रेटरी जिसीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘सामाजिक दलाल पुँजीवादीहरुको सरकारले दलाली, भ्रष्टाचार, तस्करी, महंगी, कालोबजारी, चर्को कर लगायत कुकार्य बेलगाम गरिरहेको छ । आफ्नो जनविरोधी तथा राष्ट्रघाती कार्य र दलाल पुँजीवादी व्यवस्थाको असफलता र अलोकप्रियतालाई ढाकछोप गर्न हाम्रो जनप्रिय पार्टीमाथि कथित प्रतिबन्ध लगाएर फासिवादी जनदमन गरिरहेको छ । वैदेशिक हस्तक्षेप र फासिष्ट दमनको प्रतिरोध गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा हाम्रो पार्टीले निरन्तर जनसंघर्षको नेतृत्व गरिरहेको सर्वविदितै छ ।’

जिल्ला इन्चार्ज र सेक्रेटरीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘भ्रष्ट दलालहरुले कमिसन खाएर राज्यलाई अर्बौ कर नतिर्ने र जनतालाई ब्रह्मलुट गर्ने एनसेलको खुलेआम संरक्षण गरिरहेका छन् तर हाम्रो पार्टीले त्यसका विरुद्धमा निरन्तर भण्डाफोर र जनप्रतिरोध गरिरहेको छ । आजैका दिनदेखि घर आँगन नजिक, घरको छतमा राखिएका एनसेलका टावरहरु हटाउन र एनसेलको सिम बहिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अपिल गर्दछ । एनसेल बढार्ने जनसंघर्षको क्रममा हुनसक्ने सम्भावित खतराप्रति सचेत रहन पनि आम जनसमुदायलाई अग्रिम जानकारी गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :