नेकपाको कमान्डस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा नेकपाको पूर्वी कमान्डस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम भव्यतापूर्वक सम्पन्न भएको छ । भदौ ३ देखि ७ सम्म सञ्चालित उक्त कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य सन्देशले पुष्पलालदेखि प्रचण्डसम्मका स्कुलिङका सीमा र कमजोरीहरू भत्काउँदै एकीकृत जनक्रान्तिको नयाँ स्कुलिङ अगाडि बढेकाले त्यसका लागि यो स्कुलिङको महत्वपूर्ण भूमिका हुने बताए ।

उक्त अवसरमा नेकपाका केन्द्रीय सदस्यद्वय निर्मल, देवनारायण र जोखिमले तालिम सफलताको शुभकामना दिएका थिए । केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहलाई केन्द्रीय स्कुलिङ विभाग सदस्य गतिले सञ्चालन गरेका थिए भने विजेताले स्वागत गरेका थिए ।

उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राजनीतिक अर्थशास्त्रका विषयमा ध्रुव, वैज्ञानिक समाजवादका विषयमा गति र दर्शनका विषयमा विजेताले प्रशिक्षित गरेका थिए । सोही कार्यक्रममा एकीकृत जनक्रान्तिका बारेमा सन्देश र विज्ञानप्रविधिका बारेमा देवनारायणले प्रशिक्षण दिएका थिए ।

जनकपुर ब्युरोमा सम्पन्न उक्त कार्यक्रममा मेची–कोसी, सगरमाथा र जनकपुर ३ वटा ब्युरोबाट छनोट गरिएका नेताहरूलाई ५ दिनसम्म तालिम दिइएको थियो । उक्त तालिमको समापनमा विवश हिमालले अनुभूति मन्तव्य राखेका थिए भने प्रमुख अतिथि सन्देश र अध्यक्ष ध्रुवले तालिमको संश्लेषण गरेका थिए । उद्घाटन र समापन दुवै कार्यक्रमको सञ्चालन गतिले गरेका थिए ।

२०७६ भदौ २३ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :