नेकपाका सुदर्शन सहित गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई कहाँ, कुन अवस्थामा राखिएको छ ? बिस्तृतमा…


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित सयौं नेता कार्यकतालाई प्रहरीले गिरफ्तार गरिसकेको छ । बिभिन्न मितिमा देशभरबाट गिरफ्तार अधिकाश नेताहरु अहिले पनि हिरासतमै रहेका छन् । हालसम्म गिरफ्तार उच्च नेतामा भने सदर्शन हुन् । यस्तै पार्टी पोलिटब्युरो सदस्य तथा जबस इन्चार्ज मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यहरु वसन्त श्रेष्ठ र बन्धु चन्द पनि प्रहरी हिरासतमै रहेका छन् ।

नेता सुदर्शनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले ९ गते बिहान काठमाडौं आउँदै गर्दा काभ्रेको खानीखोला गापा (३ स्थित डाँडा गाउँबाट पक्राउ गरेको थियो ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्का पक्राउ परेका थिए । उनीहरुको साथबाट बा १७ च ४८९३ नं को स्कारपियो गाडी पनि नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ९ जनामध्ये नेता सुदर्शनलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ, भने केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज वसन्त श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त चापागाउँ, शंकर अधिकारीलाई महानगरीय प्रहरी बृत्त सातदोबाटो, सञ्जिव कार्कीलाई महानगरीय प्रहरी प्रभाग सानेपामा राखिएको छ । यसैगरी देव घिमिरेलाई महानगरीय प्रहरी बृत्त चापागाउँ र लोकेन्द्र खड्कालाई प्रहरी प्रभाव जावलाखेलमा राखिएको जनाईएको छ । यस्तै नेकपाका विकास महर्जन महानगरीय प्रहरी प्रभाग सातदोवाटोमा र बुद्धबहादुर सिंङताङ भैसेपार्टी स्थित प्रहरी हिरासतमा छन् ।

यसअघि काभ्रेबाटै पक्राउ परेका नुम बहादुर विश्वकर्मा र राजिव तामाङलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जमा राखिएको बताईएको छ । शिव धिमाल र विशाल तामाङलाई ललितपुरमै राखिएको जनाईएको छ ।

यसैगरी चैत १ गते राती गिरफ्तार पार्टी पीवीएम मोहन कार्की ‘जीवन्त’लाई महानगरीय प्रहरी परिसर, टेकुमा राखिएको छ, भने फागुन १४ गते फक्राउ परेको सूर्य भुजेललाई पनि टेकुमा नै राखिएको छ । जीवन्तलाई राजद्रोहको मुद्धा लगाईएको छ । उनी ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका बेला पक्राउ परेका थिए ।

उता अछामबाट गिरफ्तार परेकी पार्टी केन्द्रीय सदस्य बन्दु चन्द पनि अझै प्रहरी हिरासतमा नै छिन्, भने चौरपाटी गाउँपालिकाबाट चैत २१ गते दिपक परियार र २२ गते बेलुका रामचन्द्र बुढा ‘आदर्श’लाई गिरफ्तार गरी फोन गराउँदै घुमाइरहेको छ ।

यस्तै पूर्वको मोरङबाट चैत १० गते पक्राउ परेका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’ र व्युरो सदस्य माधव गौतमलाई ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएछ भने चैत १३ गते गिरफ्तार मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय लौकहीमा राखिएको छ । चैत १२ गते गिरफ्तार रमेश खड्कालाई जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा राखिएको छ । चारैजना मोरङबाट पक्राउ परेका भए पनि मोरङ प्रहरीले अड्डा सार गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएको थियो ।

धरानको पानमाराबाट एक महिना अघि धनकुटा मोरङका संयुक्त जिल्ला इन्चार्ज देवकुमार लिम्बु ‘संगित’लाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । लिम्बुसहित त्यसपछि पक्राउ परेका पाँचै जनालाई प्रहरीले हाहतियार खरखजना ऐन अन्र्तगत मुद्दा चलाएको छ ।
पक्राउ परेका पाँचै जना विरुद्ध प्रहरीले हातहतियार खरखजना तथा संगठित अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उता नेकपाका नेताहरुले भने आफुहरुलाई हातहतियार खरखजना ऐन अन्र्तगत झुठो मुद्दा चलाउन खोजिएको बताए । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएका नेकपाका कोसी ब्युरो संयोजक श्रेष्ठले प्रहरीले आफ्ना कार्यकर्ता विरुद्ध झुठा मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिएको कारण नै अस्पताल आउनु परेको गुनासो गरे थिए ।

पक्राउ परेका अर्का सदस्य माधव गौतमले प्रहरीले आफूलाई मोरङको कानेपोखरीबाट पक्राउ गरेको भए पनि धरानमा ल्याएर झुठा मुद्दा लगाएको बताए । यस्तै अर्का नेता प्रज्वलले पनि मोरङमा पक्राउ गरी झुठा मुद्धामा फसाउनकै लागि सुनसरी पुर्याइएको बताए । उनले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा आफुलाई फसाउन खोजेको बताए । यद्धपि मोरङका रमेश खड्का भने नेकपाको कुनै पार्टी कमिटीमा आबद्ध नभएको सो पार्टीले बताएको छ । उनी सामान्य निर्माण मजदुर रहेको बताइएको छ । नेकपाका कार्यकर्ता अहिलेसम्म देशभरबाट झण्डै तीन सय बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् ।

२०७५ चैत २४ गते आईतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :