नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार, प्रतिरोधमा २९ गते नेपाल बन्द

 

काठमाडौँ : केपी वली–पुष्पकमल दाहाल सरकारले नेकपाका प्रवक्ता एवम् स्थायी समिति सदस्य प्रकाण्डलाई मङ्गलबार बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट गिरफ्तार गरेको छ । उहाँका साथै हरिश्चन्द्र आचार्य र अर्का सहयोगीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले प्रवक्ता प्रकाण्डसहित तीनैजनाको गिरफ्तारीको भत्र्सना गर्दै प्रतिरोधात्मक सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेर यही साउन २९ गते मङ्गलबार नेपाल बन्द घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै दमनले प्रतिरोध जन्माउने र त्यसले दमनकारी शासकहरूको अन्त्य गर्ने पनि जनाउनुभएको छ । पार्टी प्रवक्ताको गिरफ्तारीपछि अविचलित रही आआफ्नो जिम्मेवारीमा डटिरहन महासचिव विप्लवले सबै नेता र कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ः
हिजो बेलुका ७ः३० बजे काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ । हाम्रो पार्टी नेपाली जनताको अपूरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको छ । हाम्रो पार्टी यो अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने दुःस्वप्न नदेख्न चेतावनी दिन चाहन्छ । इतिहासले पुष्टि गरेको सत्य के हो भने दमनले प्रतिरोध जन्माउँछ र जनतामाथि लूट मच्चाउनेहरूको स्वर्ग ध्वस्त हुन्छ । दमनले भीषण सङ्घर्ष निम्त्याउँछ । दमनको बाटो भनेको पराजयको बाटो हो भन्ने यो सरकारले बुझिराखे हुन्छ । यो दमनले हामी एकरत्ति पनि विचलित भएका छैनौँ । सबै कमरेड, समर्थक र शुभचिन्तकलाई आफ्नो क्षेत्रमा डटिरहन अनुरोध गरिन्छ । त्यसैले तुरुन्तै प्रतिरोधात्मक कार्यक्रम सार्वजनिक गरिएको छ ः
२०७५ साउन २५ गते देशव्यापी कोणसभा
२०७५ साउन २६ गते विरोधसभा
२०७५ साउन २७ गते भण्डाफोर
२०७५ साउन २८ गते मशालजुलुस
२०७५ साउन २९ गते नेपाल बन्द


२०७५ साउन २३ गते बुधबार दिउँसो ३ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :