नेकपाका नेता आदर्श र विश्व सर्वोच्चको आदेशमा रिहा : रिहालगत्तै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई सर्वोच्च अदालतले छोड्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीद्वारा लगाएको आरोप पुष्टि नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश दिएको हो । रिहालगत्तै पुनः गिरफ्तारी गरी दाङ प्रहरीले केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई सुनसरी पठाउने तयारी गरेको छ, भने लालबहादुर ओली ‘विश्व’लाई गृह जिल्ला रोल्पा पठाउने तयारी गरेको स्रोतले बताएको छ ।

रिट निवेदनमाथि शुक्रबार भएको बहस माननीय न्यायाधिश इश्वर खतिवडा र तेज बहादुर केसीको संयुक्त इजलासले बन्दीद्वयलाई थुनामा राख्नुपर्ने कुनै आधार र कारण नभएको भन्दै रिहा गर्न आदेश दिएको हो । आदर्श र विश्वलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

आदर्श, असल र विश्वलाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरिएको थियो । तीनै जनाविरुद्ध संगठित अपराध, विष्फोट, हाततियार तथा खरखजना र राजद्रोहको अभियोग लगाइएको थियो ।

सोही अभियोगका अभियुक्त नेकपाका केन्द्रीय सदस्य चद्रबहादुर खड्का ‘असल’लाई भने राज्यले लगाएको अभियोग र कसुरसम्बन्धी माग दाबीमा आधार र प्रमाण नदेखिएको भन्दै सर्बोच्चले यहि जेठ ७ गते रिहा गरेको थियो । रिहा लगतै असललाई पुनः गिरफ्तार गरेर दाङ प्रहरीले मोरङ पठाएको थियो ।

२०७६ जेठ २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :