निर्धारित समयमै स्ववियु निर्वाचन गराउन विद्यार्थी नेताहरूको माग

काठमाडौँ : विद्यार्थी सङ्गठनका नेताहरुले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा निर्धारित समय फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न माग गरेका छन् । वैद्य निकट अखिल क्रान्तिकारीद्धारा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यार्थी सङ्गठनका नेताहरूले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर सरकारले स्ववियु निर्वाचन भाँड्न खोजेको भन्दै आपत्ति जनाए । उनले आफ्नो सङ्गठन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा रहेको प्रस्ट पार्दै स्ववियु निर्वाचन निर्धारित समय फागुन १४ मा नै गर्न माग गरे ।

कार्यक्रममा प्रचण्ड निकट अखिल (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीले स्वतन्त्र विद्यार्थी युनियनलाई बचाउन स्ववियुको गरिमा र महत्व बुझेर निर्धारित समयमा नै निर्वाचन गर्नुको विकल्प नरहेको बताए । उनले स्ववियु निर्वाचनलाई उत्सवका रूपमा मनाउनुपर्ने धारणा पनि राखे ।

वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफ्नो सङ्गठन स्ववियु निर्वाचनका पक्षमा रहेको र त्रिविले त्यसको वातावरण बनाउनुपर्ने माग गरे । अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्यले स्ववियुलाई विकृतिरहित बनाउँदै विद्यार्थीका साझा मुद्दा उठाउने थलोका रूपमा विकास गर्नुपर्ने बताए । स्ववियुको निरन्तरताका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निर्धारित समयमै हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा अनेरास्ववियु (पाँचौँ) का अध्यक्ष घनश्याम मिश्र, माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, नयाँ शक्ति विद्यार्थी सङ्गठनका अध्यक्ष श्यामबाबु गौतम, समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष विवेक राई, राजपा विद्यार्थी सङ्गठनका अध्यक्ष मनीष झा, अनेरास्ववियु (छैटौँ) का अध्यक्ष विमल पोखरेललगायत विद्यार्थी नेताले निर्धारित समयमै स्ववियु निर्वाचन गर्न माग गरेका थिए ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :