नागरिकको मौलिक हकको गम्भीर रूपमा उल्लङ्घन भएको छ – भण्डारी

काठमाडौँ : जनअधिकार अभियान नेपालले राजनीतिक आस्थाका आधारमा नेकपाका नेता–कार्यकर्ता र सर्वसाधारणसमेतलाई देशैभरबाट सरकारद्वारा पक्राउ गर्ने, झूट्टा मुद्दा लगाई बन्दी बनाउने र यातना दिने क्रम बढ्दै गएको जनाउँदै ध्यानाकर्षण भएको बताएको छ । जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले शुक्रबार प्रेस वक्तव्य प्रकाशित गर्दै ‘सरकारको कामकारबाहीका कारण जुनसुकै राजनीतिक आस्था र विचार राख्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने नागरिकको मौलिक हकको गम्भीर रूपमा उल्लङ्घन भएको’ बताउनु भएको छ ।

उहाँको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७५ साल फागुन १७ गते राती १०ः०० बजेको समयमा सिन्धुपाल्चोक जिल्लाको साँगाचोकबाट १७ जनाको सङ्ख्यामा रहेका नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेता–कार्यकर्तालाई नेपाल सरकारका सुरक्षाकर्मीद्वारा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको हिरासतमा राखी यातना दिएको विषय विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएकोमा जनअधिकार अभियान नेपालको ध्यानाकर्षण भई मिति २०७५।११।२३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पुगी इन्द्रबहादुर (रञ्जित) ठकुरीसहित हिरासतमा रहेका १७ जना आस्थाका बन्दीहरूसँग भेटी उनीहरूको अवस्थाका बारेमा जानकारी लिने काम भयो । भेटका क्रममा हिरासतमा रहेकी १६ वर्षीया हीरा खत्री, १७ वर्षीया रमिता अधिकारी र ३१ वर्षीया कल्पना रुम्बाले आफूहरूलाई एक महिला प्रहरीले क्रूरतापूर्वक बाँसको लट्ठीले पैताला, पिँडौला र शरीरका विभिन्न भागमा कुटपिट गरी चरम यातना दिएको बताएको र आफ्नै पहलमा औषधीउपचार गराएको बताए भने प्रहरी हिरासतमा रहेका अजय श्रेष्ठ, देवराम लोहारसमेतले आफूहरूलाई प्रहरीले हिरासतमा पु¥याउनासाथ चरम शारीरिक र मनासिक यातना दिएको बताएका छन् । हिरासतमा रहेका बन्दीहरूले आफूहरूले कुनै कसुर नगरेको, शान्तिपूर्ण रूपमा सहिद सप्ताहको कार्यक्रमकै क्रममा बास बसेको ठाउँबाट आतङ्कित बनाई प्रहरीले पक्राउ गरेको बताए ।’

त्यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनअघि मात्रै सरकारद्वारा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई अछामबाट पक्राउ गरी हालसम्म पनि अछाम जिल्ला प्रहरीको हिरासतमा राखिएको, उच्च अदालत विराटनगरले रिहा गर्ने आदेश दिएलगत्तै अदालत हाताबाट नै ५ जना, रोल्पाबाट २ जना राजनीतिक कार्यकर्तालाई पक्राउ गरिएको, केही दिनअघि काठमाडौँबाट सूर्य भुजेल, अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीका केन्द्रीय संयोजक राजु कार्की, केदार खतिवडा, मिति २०७५।११।२२ मा कपिलवस्तु जिल्लाको शिवगढीमा मुठभेड भनी नेकपा समर्थक भनिएका दुर्गाबहादुर रोकालाई गोली प्रहार गरिएको, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौँको शान्तिबाटिकामा आयोजित कार्यक्रमबाट ६ जना नेताकार्यकर्तालाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ ।’

अध्यक्ष भण्डारीले विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसरी राजनीतिक आस्थाका आधारमा नेता–कार्यकर्ता र सर्वसाधारणसमेतलाई देशैभरबाट सरकारद्वारा पक्राउ गर्ने, झूट्टा मुद्दा लगाई बन्दी बनाउने र यातना दिने क्रम बढ्दै गएको छ । सरकारको यसप्रकारका कामकारबाहीका कारण जुनसुकै राजनीतिक आस्था र विचार राख्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने नागरिकको मौलिक हकको गम्भीर रूपमा उल्लङ्घन भएको छ । यस किसिमका मानवअधिकारविरोधी क्रियालकलापहरू अविलम्ब रोकियोस् । मानवअधिकारको रक्षाका लागि राष्ट्रिय मनावअधिकार आयोग, मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्था, नागरिक अधिकारकर्मीहरू सबैको ध्यानाकर्षण गराउँछौँ । राजनीतिक विषयलाई वार्ता, संवाद र छलफलको माध्यमबाट समाधानका लागि पहल गर्दै मानवअधिकारको बहालीका लागि जनअधिकार अभियान नेपाल सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ । साथै कुनै पनि पक्षबाट मानवअधिकारको उल्लङ्घन नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गर्दछ ।’

२०७५ फागुन २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :