नख्खु जेलमा रहेका नेकपाका नेता सुदर्शनको घरमा पक्राउ पुर्जी

काठमाडौं : चार महिनाअघि काभ्रेबाट गिरफ्तार गरी वैशाख १० गतेदेखि ललितपुरको नख्खु जेलमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’को घरमा प्रहरीले असारमा पक्राउ पुर्जी टाँसेको छ ।

नेता ओलीको रुकुमको त्रिवेणी गाउँपालिका मुरुमा रहेको घरमा झुलनेटामा रहेको चौकीबाट गएको प्रहरीले पक्राउ पुर्जी टाँस गरेको हो । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार स्थानीय आशाराम पुनलाई लिएर झुलनेटाबाट असईको नेतृत्वमा गएको प्रहरीले नेता सुदर्शनको घरमा पक्राउ पुर्जी टाँसेको हो । सुदर्शनकी श्रीमती अम्बिका चन्द ओलीका अनुसार सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट वैशाख २३ गतेको मितिमा जारी गरिएको ३५ दिने पक्राउ पुर्जी असारमा आएर घरमा टाँस गरिएको हो ।

काठमाडौँ र ललितपुरमा विभिन्न बनावटी मुद्दा लगाएर जेलमा राखेको व्यक्तिलाई सङ्खुवासभाबाट सङ्गठित रूपमा आगजनी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको भन्दै उनले कुनै पनि जानकारी नै नभएको र सुन्दै नसुनेको मुद्दामा पक्राउ पुर्जी घरमा पठाउनु हास्यास्पद भएको बताइन् ।

सरकारले गत चैत ९ गते काभ्रेको खानीखोलाबाट गिरफ्तार नेकपा स्थायी समिति सदस्य सुदर्शनलाई एक महिना ललितपुरस्थित प्रहरी हिरासतमा राखी वैशाख १० देखि पुर्पक्षका नाममा नक्खु कारागारमा राखेको छ ।

२०७६ असार २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :