नख्खु जेलमा आयोजित दसैँ कार्यक्रममा माइला लामाले बन्दीलाई भावुक बनाए


काठमाडौं : २०७६ सालको दसैँको अवसर पारेर नख्खु कारागार न्यु ब्लकले आयोजना गरेको दसैँ शुभकामना तथा प्रस्सल प्रतियोगितामा वरिष्ठ जनवादी गीतकार–सङ्गीतकार तथा गायक माइला लामाले आफू जेल परेपछि लेखेको गीत गाएर बन्दीको मन जितेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्का केन्दीय अध्यक्षसमेत रहेका लामाले जेल परेपछि लेखेको ‘साथी म बन्दी छु’ शीर्षकको बन्दीहरूको भावना र मर्म समेटिएको गीत गाउँदा सबै दर्शकहरू भावुक मात्र भएनन्, धुरुधुरु रोएका थिए । कार्यक्रममा सहभागीहरूका अनुसार माइलाले गीत गाएपछि केही क्षण कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो । दर्शक बन्दीहरूले आँसु पुछ्दै गीत सुनेका थिए । असोज १४ गते जेलले प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण तथा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका जेलर सुरेन्द्र पौडेलले बन्दीहरूलाई आफूले सकेको सहयोग गर्ने वचन दिनुका साथै शुभकामना पनि दिएका थिए । कार्यक्रममा सहायक जेलर कमल पाण्डे, सशस्त्र प्रहरीका डीएसपी सरोज कार्कीलगायत जेल प्रशासनका अन्य कर्मचारी, सशस्त्र र जनपदका प्रहरी अधिकृत र जवानहरूको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रमको अध्यक्षता लामो समयदेखि सोही कारागारमा बन्दी रहेका इमानदार र सज्जन छविका देवीलाल महतोले गरेका थिए । सोही कार्यक्रममा अतिथि कलाकार र जेलमा बन्दी रहेका बन्दीहरूको साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो ।

जेलका अर्का बन्दी विकास सुवेदीको ‘नमर’ भन्ने जेलको भाषा प्रयोग भएको र्याप गीतले सबैलाई मख्ख बनाएको थियो । कार्यक्रममा बन्दीहरू मिङ्मार गोले, दलबहादुर शाही, जुगबहादुर लिम्बू, प्रकाश थापा, सुजन सुनुवार, मिलन राई, पवन तामाङ, उज्ज्वल महत (सुन साइँली गीतमा मिक्सिङ तथा मास्टरिङ गर्ने कलाकार) लगायतले गीत तथा वाद्यवादन प्रस्तुत गरेका थिए । अतिथि कलाकारहरू अमित बराल र विद्या तिवारीले बन्दीहरूलाई आफूसँगै नचाएका थिए । कार्यक्रमले सहभागीहरूका अनुसार जेल नभएर कतै कन्सर्ट भइरहेको भान गराएको थियो छ ।

चौकीदार सन्तोष गुरुङ, आन्तरिक जेल प्रशासन र बन्दी कलाकारहरूको मेहनत र पहलमा सम्पन्न उक्त कार्यक्रम अति नै सभ्य, भव्य, रोचक र सानदार बनेको थियो । कृष्ण अर्यालको सञ्चालनले कार्यक्रमलाई अझै जोडदार र रोमाञ्चित बनाएको थियो । अतिथि कलाकारले जेल पस्न पहिले डर लागेको तर कार्यक्रम प्रस्तुत भएपछि बेग्लै महसुस भएको अनुभूति साटेका थिए ।

२०७६ असोज १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :