देश यो मर्न दिन्नँ म

भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्धको कविता

लुक्दै सेता परेवा छन् ढुक्दै खुङ्खार बाज छ !
छिमेकी भैदिँदा दुष्ट आतङ्कमा समाज छ !
सधैँ–सधैँ परेवामा बाजकै डरत्रास छ !
ब्युँझ हे ए परेवा हो ! नयाँ नेपाल आज छ !

बाज हे ! क्रूरता तेरो सधैँ–सधैँ सहन्नँ म !
सधैँ रुन्चे, सधैँ लाछी, सधैँ काँतर हुन्नँ म !
अब तेरो इसारामा पानी बन्दै बहन्नँ म !
मेरो जीवनमा तेरो हस्तक्षेप सहन्नँ म !

मेरो भूमि, नदीनाला तँलाई टेक्न दिन्नँ म !
मै लेख्छु जिन्दगी मेरो तँलाई लेख्न दिन्नँ म !
नयाँ नेपालको यात्रा तँलाई रोक्न दिन्नँ म !
कानमा गीत गाएर गालामा टोक्न दिन्नँ म !

मिच्दै जमिन यो मेरो र्याल काढेर बाँच्दछस् !
सीमास्तम्भ उखेलेर बन्दै राक्षस हाँस्दछस् !
तेरो सोच तथा हाँसो असाध्यै अपवित्र छ !
नछो नेपालको माटो यो असाध्यै पवित्र छ !

तेरो सेतो लुगाभन्दा सेतो मेरो हिमाल छ !
तेरो चौडा जिमीभन्दा मेरो छाती विशाल छ !
नटेक् यो वीरको भूमि क्रान्तिका बीज छन् यहाँ !
नछो यो बुद्धको भूमि शान्तिका दीप छन् यहाँ !

नठानेस् दास तेरो हुँ जे गरे नि सहन्छु म !
आफ्नो अस्तित्वका निम्ति युगौँ लडिरहन्छु म !
हार्छ नेपाल ठान्दो होस् वीरता हार्छ पो कहाँ ?
कसरी हार्छ यो राष्ट्र म ज्युँदै छु अझै यहाँ !

तँलाई देशमा मेरो साँढेझैँ चर्न दिन्नँ म !
ईष्र्या, विद्वेषका बीज देशमा छर्न दिन्नँ म !
नेपाली भूमिमा राज्य तँलाई गर्न दिन्नँ म !
मर्नै परे म नै मर्छु देश यो मर्न दिन्नँ म !

मेरो शरीरमा रातो रक्त बाँकी रहेतक
देशका निम्तिमा मर्ने भक्त बाँकी रहेतक
नेपाल राष्ट्र यो मेरो रहनेछ सुरक्षित
यो देशका सबै शत्रु हुनेछन् क्षत–विक्षत ।

२०७६ कार्तिक २२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :