दिल्लीमा मुसोलिनीको मृत्यु


जर्मनीका एडोल्फ हिटलर र इटालीका तानाशाह मुसोलिनी अन्धराष्ट्रवादी थिए । नश्लवाद उनीहरूको वैचारिक आधार थियो । साम्प्रदायिकता उनीहरूको दैनिक जीवनपद्धति र सोच्ने तरिका हो । भारतीय जनता पार्टी (भाजपा) को मातृ मूल सङ्गठन राष्ट्रिय स्वयम्सेवक (आरएसएस) र विश्वकुख्यात वर्णित प्रवृत्तिको वैचारिक स्रोत एउटै हो । हिटलर र मुसोलिनीको अन्त्य भएको ७० वर्षपछि भारतमा त्यही प्रवृत्तिको नयाँ अवतार भाजपाकारूपमा जन्म भएको थियो । आफ्नो दोस्रो कार्यकालको सुरुमै भाजपारूपी मुसोलिनीको दिल्लीमा पतन भएको ठानिएको छ । यसलाई मोदी युगको अन्त्य, भाजपा युगको मृत्यु भन्न थालिएको छ । त्यसका खास कारणहरू छन् । जस्तै –

(क) अन्तर्राष्ट्रिय आयाम

विश्व अहिले डरलाग्दो आर्थिक मन्दीको चरणबाट गुज्रिरहेको छ । त्यसको प्रभाव भारतमा सबैभन्दा बढी परिरहेको छ । जनताले आर्थिक मन्दी विश्वभरि छ भनेर चुपचाप बस्ने सक्ने कुरा भएन । त्यसको दबाबमा भाजपा परेको छ । ‘भूतले खाजा खाने बेला’ भनेझैँ आर्थिक मन्दीको भुमरीमा भाजपाको सरकार परेको छ । अमेरिका र चीनबीचको व्यापारयुद्धको प्रभाव विश्वभरपरिरहेको छ । सन् २०१७ मा अमेरिकामा चिनियाँ लगानी २९ अर्ब डलर भएकोमा सन् २०१८ मा व्यापारयुद्धका कारण ५ अर्ब डलरमा सीमित भयो । त्यसको प्रभाव भारतमा पनि परेको छ ।

मुठीभर करोडपति–अर्बपतिबाहेक भारतको आन्तरिक बजार कमजोर छ । जनताको खरिद शक्ति (पर्चेजिङ पावर) न्यून छ । संसारका १७३ वटा भोकमरीपीडित देशहरूमध्ये भारत १०२ औँ देशमा पर्दछ । एसियामा खानेपानी अभाव भएका देशमा भारत १४औँ र पाकिस्तान १३ औँ देशमा पर्छन् । कमजोर नागरिक स्तर भएको देशमा बाहिरी प्रभाव निर्णायक हुने नै भयो ।

सन् २००८ बाट विश्व आर्थिक सङ्कट सुरु भएको हो । आर्थिक सङ्कटबाट उम्कन खर्च खटौतीगर्ने नीतिअनुसार युरोपसहित पुँजीवादी देशहरूले लोककल्याणकारी बजेट कटौती गर्न थाले । शिक्षा, स्वास्थ्य, बेरोजगार भत्ता, सार्वजनिक यातायात, कृषिमा अनुदान, निवृत्तिभरणजस्ता क्षेत्रमा राज्यले दायित्वबहन नगर्दा वा घटाउँदा निजी क्षेत्रले चर्को दोहन गर्ने नै भयो । त्यसले राजनीतिक अस्थिरता पैदा गर्यो । स्पेन, बेलायत, फ्रान्स र इटलीमा भएका अन्धराष्ट्रवादी सोचाइ, बे्रक्जिट जनमत, पृथकतावादी जनमत त्यही आर्थिक मन्दीको कचरा ठान्नेहरू पनि छन् ।

आर्थिक मन्दीका कारण टाटपल्टेका उद्योग व्यापारलाई उद्धार गर्ने, रोजगार कटौती गरेर खर्च घटाउने गरियो । रोजगारीको कटौतीले क्रयशक्ति झन् घट्न थाल्यो । त्यसको दोष उदारवादलाई दिन थालियो । उदारवादका विरुद्ध संरक्षणवादी चिन्तन उम्रिन थाल्यो । सन् २०१६ मा अमेरिकामा अन्धराष्ट्रवादी डोनाल्ड ट्रम्प, सन् २०१९ मा बेलायतमा जोन्सन र सन् २०१४ मा भारतमा नरेन्द्र मोदीको उदय भयो ।

सी जिङपिङदेखि पुटिनसम्म सारतत्वमा संरक्षणवादको यात्रामा छन् । परन्तु उनीहरूको लय फरक होला अन्धराष्ट्रवादको अनिवार्य परिणाम युद्ध हो । आन्तरिक रूपमा फासिवाद, बाह्य रूपमा आक्रमण र युद्ध नै हो । भाजपाले देशभित्र दलित, मुस्लिम, आदिवासी, कम्युनिस्ट र सबै आलोचनाको स्वरविरुद्ध फासिवाद थोपरेको छ र छिमेकी देशहरूका विरुद्ध युद्ध, अतिक्रमण, हस्तक्षेप लागेको छ । त्यसकारण भाजपा जनताको घेराबन्दीमा परेर ओरालो लाग्यो । नाजीवादको मृत्यु अवश्यम्भाबी थियो । दिल्लीमा पनि नाजीवाद ओरालो लागेको छ ।

(ख) वैचारिक सङ्कटमा पुँजीवाद

साम्यवादी सत्तारूढ ढलेको र आफू बलियो भएको समयमा अमेरिकी नेतृत्वमा नवउदारवादको बीजरोपण गरियो । युरोप र अमेरिकाको आर्थिक केन्द्र एसियातिर सर्दै गएको, युरोपमा नै जर्मनीको उदय, अफ्रिकामा एकाधिकार (पुराना शक्ति) को अन्त्य वा घट्दो प्रभावका कारण पुराना शक्तिहरू सकारात्मक भए । अब उनीहरूलाई उदारवाद घाँडो भयो । संरक्षणवाद आवश्यक भयो । हस्तक्षेपकारी पुँजीवाद संरक्षणवादको काखमा फर्किन बाध्य भयो । नवउदारवादको नाइके अमेरिका नै यसबेला उदारवादको विपक्षमा छ । अमेरिकी उदारवादको बाटोमा चीन र त्यसको विपक्षमा स्वयम् अमेरिका छ । उदारवाद र संरक्षणवादबीचको टक्कर नै चीन–अमेरिका व्यापारयुद्धको पनि कारण हो । संरक्षणवाद लागू गर्ने प्रक्रियामा कडा भन्सार नीति, आप्रवासनविरोधी कानुन, जातीय अहंकार प्रकट भएका छन् । यी सबै घटनाहरू, नयाँ परिदृश्यहरू अर्थनीतिका राजनीतिक आयाम हुन् ।

पुँजीवादले प्रकृतिको विनास, जलवायु विनास, मानवीय मूल्यको ह्रास, अफगानिस्तान–सिरिया–टर्की–इरान–उत्तरकोरिया तनाव र द्वन्द्वहरू निम्त्याएको छ । आपसी स्वार्थ–टक्करका कारण नेटोमा मतभेद बढिरहेको छ । पुँजीवाद यत्रतत्र नाजीवादका रूपमा, फासिवादका रूपमा उदाएको छ । तर उसले नक्कली बुद्धिजीवी, नक्कली विश्लेषक, नक्कली जनमत, भाडाको सञ्चारकर्मी, नक्कली अर्थशास्त्री, नक्कली समाचार तयार गर्दछ । समाज रसातलमा पुग्दासम्म अन्धो प्रशंसा गरेर–गराएर मृत्युको मुखमा पुर्याउँछ । मोदी र ट्रम्पलाई त्यही रोग लागेको छ । उनीहरूले समाजकल्याणका क्षेत्रमा बजेट कटौती गर्न दबाब दिइरहेका छन् । चौतर्फी दलाल वर्ग उभ्याएका छन् । उनीहरू उत्पादन गर्दैनन् । अनुत्पादक क्षेत्रमा अर्थतन्त्रलाई सङ्कुचित गर्छन् ।

संयुक्त राष्ट्रसङ्घ, नेटो सैन्य सङ्गठन, पेरिस जलवायु सम्झौता, उदारवाद, स्वतन्त्र व्यापारनीति सबै पुँजीवादी जगहरू भत्किएका छन् । त्यसको स्थानमा संरक्षणवादी अर्थनीति उदय भएको छ । संरक्षणवादले अन्धराष्ट्रवादी राजनीतिक प्रणालीको माग गर्दछ । भाजपाको पतनको प्रारम्भ र सत्ताप्रायोजित सङ्कट पुँजीवादको नै सङ्कट हो । विश्वको अब्बल लोकतन्त्रको पतनमा पुँजीवादको आयु बढ्ने प्रश्नै उठ्दैन ।

(ग) भारतमा आर्थिक सङ्कट

विदेशमा लुकाइछिपाई राखिएको कालो धन देशमा फिर्ता ल्याउने उद्देश्यले १ हजार र ५ सय कागजी मुद्रामा प्रतिबन्धित लगाइयो । मोदी सरकारको विमुद्रीकरण (नोटबन्दी) नीतिगत भ्रष्टाचार मात्र भएको विपक्षीको आलोचना थियो । विमुद्रीकरणले भारतको अर्थतन्त्रमा सकारात्मक प्रभाव भने देखिएन, बरु त्यसको नकारात्मक प्रभाव बैङ्किङ क्षेत्रमा देखाप¥यो । तर सरकारले मौद्रिक सङ्कटलाई लुकाइरहेको थियो । गत महिनामा सरकारले ‘बैङ्किङ राहत योजना’ घोषणा गरेपछि मात्र त्यो सङ्कट सार्वजनिक भयो । प्राप्त पछिल्लो सूचनाअनुसार खर्च कटौती नीतिअनुसार बैङ्कहरूले ठूलो सङ्ख्यामा एटीएम सेवा घटाएका छन् । त्यसैगरी नोभेम्बर अन्तिमसम्ममा ६ सयभन्दा बढी शाखाहरू बन्द गरिएका छन् । सन् २०११ सम्म २.९ रहेको बैङ्कहरूको खराब कर्जा (ऋण प्रवाह) सन् २०१९ डिसेम्बरसम्म पुग्दा ११.२ पुगेको छ । बैङ्कहरूले रोजगार कटौती गरेका छन् । बैङ्कहरूको सङ्कट अन्य क्षेत्रमा उत्तिकै परेको छ ।

भारतमा पेट्रोलियम पदार्थ, सिमेन्ट उद्योग, अटोमोबाइल, टेलिकम, घरजग्गा व्यापार, ठूला निजी उद्योग, सुन, चाँदीलगायत ८ प्रमुख उद्योग व्यापार क्षेत्रमा डिसेम्बर अन्तिमसम्म पुग्दानपुग्दै ८.५ प्रतिशत गिरावट आएको छ । आर्थिक सङ्कटका सूचकहरू सकारात्मक थिएनन् । त्यसको चौतर्फी प्रभावहरू बढ्दै गएका छन् । केही उद्योग–व्यापारको उदाहरण हेरौँ– पार्लेजी बिस्कुट उद्योगले १० हजार मजदुर कटौती गरिसकेको छ । अर्को तयारी खाना (बिस्कुट) उद्योग ब्रिटानिकाले बिक्री आधा घटेको बताएको छ । भारतीय टेलिकम कम्पनीले कर्मचारीलाई तलबसम्म खुवाउन नसक्ने अवस्थामा पुगेको छ । हिन्दुस्तान युनिलिभर, डाबर इन्डिया, ट्र्याक्टर उद्योगको पनि अवस्था सङ्कटग्रस्त भएको छ । केही महिनाअगाडि नै भारतका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ अर्थशास्त्री मनमोहन सिंहले भारत ठूलो आर्थिक सङ्कटबाट गुज्रेको बताएका थिए । तर भाजपा सरकारले त्यसलाई विपक्षीको राजनीति भएको हल्का टिप्पणी गरेको थियो । आर्थिक सङ्कट राजनीतिक क्षेत्रमा प्रकट हुन थालेको छ ।

(घ) आर्थिक सङ्कटको राजनीतिक आयाम

देशमा भयानक आर्थिक सङ्कटका सूचकहरू प्राप्त भइरहँदा पनि मोदी सरकार समस्यालाई विषयान्तर गर्नमै व्यस्त भयो । बेरोजगारी, महँगी, मुद्रास्फीतिका समस्यमा ध्यान केन्द्रित गरेन जसको कारण भाजपाका विरुद्ध जनमत बढ्दै गयो ।

सन् २०१९ को १९औँ लोकसभा चुनावमा हरियानामा खतराको घन्टी बजेकै हो । भाजपाले बहुमत गुमायो र संयुक्त सरकार बनायो । भाजपाले बहुमत गुमायो र संयुक्त सरकार बनायो । भाजपाले सरकार बनाएपनि उसको यात्रा ओरालो र विपक्षको उकालो यात्रा थियो । अक्टोबरपछि महाराष्ट्रको चुनावमा विपक्षीका केही लोभीपापी सांसद किनेर सरकार बनाउने र पुरानो मित्र शिवसेनालाई लत्याउने नीति लियो । भाजपाले सरकार गठन गरेको २४ घन्टा नबित्दै राजीनामा दिनुपर्यो । त्यसप्रकारको लज्जास्पद घटनालाई भाजपाको अवसानको दिनगन्ती भनिएको थियो । तर भाजपात्यतातिर फर्किन चाहेन । उसको ओरालो यात्रा जारी रह्यो ।

(ङ) झारखण्ड चुनावको सङ्कट

भाजपाले आदिवासी समुदाय, उनीहरूको जमिन र जङ्गलमाथिको अधिकारलाई सम्बोधन गरेन । झारखण्ड माओवादी प्रभावित क्षेत्र पनि हो । भाजपाले सन् २०१८ भित्र भाकपा (माओवादी) लाई समाप्त पार्ने सार्वजनिक घोषणा गरेर पटकपटक अपरेसन चलायो । व्यापक ज्यादती भयो । सर्वसाधारण मारिए । त्यसको नकारात्मक प्रभाव र अविश्वास पनि सरकारमाथि पर्यो । सन् २००० मा बिहारबाट अलग भएर बनेको आदिवासी बहुल राज्य हो झारखण्ड । झारखण्डीहरूले रोजगारी, खानेपानी, बन संरक्षण, जमिनमाथिको अधिकारको सुरक्षा खोजेका थिए । विपक्षी पार्टीहरूले त्यही मुद्दा उठाए तर भाजपाले अयोध्या मन्दिर, कास्मिर, नोटबन्दी, नागरिकताको संशोधन कानुनलगायत मुद्दा उठायो । भाजपाको हिन्दुत्व र साम्प्रदायिक राष्ट्रवाद जनतालाई रुचाएनन् ।

झारखण्डको चुनावमा भाजपाका पूर्वनेतासमेत रहेका शिव सोरेनका छोरा हेमन्तलाई विपक्षी गठबन्धनले मुख्यमन्त्रीकारूपमा पेस गरेका थिए । भाजपा राज्य सरकारका मुख्यमन्त्री रघुवर दास नै चुनावमा पराजित भए । हरियाणा, महाराष्ट्र हुँदै झारखण्ड पुग्दा भाजपाको उल्टो यात्रा तीव्र भएको छ । विमौद्रीकरण (नोटबन्दी) गरेर विदेशमा अवैध रूपमा थुप्रिएको कालो धन फिर्ता ल्याउने र उक्त रकम अति गरिब किसानको खातामा हरेक घरधुरीलाई १५ लाखको दरले वितरण गर्ने (खातामा जम्मा गरिदिने) चुनावी प्रतिबद्धताले हावा खायो । झन् बेरोजगारी बढ्यो । त्यसले गर्दा भाजपाप्रति निराशा तथा विकर्षण सुरु भयो । मुसलमान, दलित, आदिवासी, अल्पसङ्ख्यक, उदारवादी तप्का, आलोचनात्मक चेतना र भारतीय लोकतन्त्रको जग महात्मा गान्धीसहित चौतर्फी आक्रमण गर्दै फासिवादको अभ्यास गरिरहेको भाजपा प्रतिपक्षीहरूको संयुक्त घेराबन्दीमा पयो ।

भारतीय जनता पार्टी नाजी विचारको आधारमा उभिएको शक्ति हो । आजको युगमा फासिवादका लागि अनुकूल वस्तुगत आधार छैन । आर्थिक सङ्कटलाई भँजाएर अस्तित्वमा आएपनि लामो समय टिक्न सक्दैन । भारतमा पनि त्यो सम्भव भएन । मोदीको दोस्रो कार्यकालमा नाजीवादले आफ्नो गलत शक्ति आँकलन गरेर चौतर्फी आक्रमण गर्यो । उसमा उन्माद देखियो । त्यसकारण नाजीवाद विरोधी धर्म राजनीतिका विरुद्ध मोर्चाबन्दी सुरु भयो । यो मोर्चाबन्दी भाजपाको बाध्यात्मक चुनौती उनीहरूमा पैदा भयो । त्यसरी भाजपारूपी नाजीवादको दिल्लीमा मृत्युयात्रा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :