दाहालको बर्षगाँठ एनसेल व्यवसायीको भब्य बंगलामा

एनसेलको प्रायोजनमा पार्टी कार्यालय


काठमाडौं : सत्तारुढ (नेकपा)का अध्यक्ष प्रचण्डले ५० औं बर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भब्य बंगलामा मनाएका छन् ।

सीतासँग बैवाहिक बन्धनमा बाँधिएको ५० बर्ष पुगेको उपलक्ष्यमा दाहालले बैशाख २६ गते भब्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए । ब्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३१ अर्ब रुपैंयाँ भन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन् । श्रेष्ठले सुनकोटी (ललितपुर)स्थित १८ रोपनीमा फैलिएको निवास परिसरमा दाहालले ५०औं बैवाहिक बर्षगाँठ मनाइँरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए ।

राज्यलाई कर नतिरेको भन्दै जनस्तरबाट बहिस्कार अभियान सुरु गरिएको एनसेलले सत्तारुढ (नेकपा)को पार्टी कार्यालयमै आफ्नो बोर्ड फुण्ड्याएको छ । त्यो पनि सहिद ऋषि स्मृति भवनमा ।

सुर्खेतस्थित (नेकपा)को पार्टी कार्यालयको बोर्डसँगै एनसेलको पनि विज्ञापन बोर्ड राखिएको छ । झट्ट हेर्दा एनसेलको कार्यालय जस्तो देखिएपनि यो सत्तारुढ (नेकपा)को सुर्खेत जिल्ला कार्यालय हो । त्यहाँ फोन नम्बर पनि राखिएको छ । त्यो फोन एनसेलको हो जस्तै देखिन्छ । तर (नेकपा)को हो ।

माथि (नेकपा)को चुनाव चिन्ह र हँसिया हथौडा छ । त्यसैसँगै जोडेर एनसेलको बोर्ड छ । सडक वा बजारमा एनसेलको बोर्ड राखिएको भए विज्ञापन हो भनेर बुझिने थियो तर पार्टी कार्यालय, त्यो पनि मुल बोर्डसँगै एनसेलको बोर्ड राखिएको छ । यो पनि विज्ञापनै हुन सक्छ । यसबारे (नेकपा) सुर्खेतले मुख खोलेको छैन । एनसेलले कर तिर्दिन भन्नु र अदालतले फैसला गर्दा पनि पुनः अदालत पुगेर कर असुली प्रक्रियालाई रोकेको छ । यसको पछाडि यो र यस्तै बोर्डले काम गरेको हुन सक्ने आशंका पैदा भएको छ । सत्तारुढ पार्टीकै कार्यालयमा एनसेलको बोर्ड राखिनु गम्भीर कुरा हो ।

पत्रकार रमेश रावलले उक्त फोटो सामाजिक संजालमा सार्वजनिक गरेसँगै विभिन्न टिकाटिप्पणी भएका छन् । टिप्पणीकर्ताले सत्तारुढ (नेकपा)लाई एनसेलले किनेको आरोप समेत लगाएका छन् । मेगराज खड्काले (नेकपा)को पार्टी कार्यालय एनसेलका सचिवालय त होइन भन्दै प्रश्न गरेका छन् । त्यस्तै रतनबहादुर कार्कीले ब्यांग्य गर्दै (नेकपा)ले एनसेलसँग मितेरी लगाएको बताएका छन् । सुरेन्द्र जोशी नाम गरेका सामाजिक संजाल फेसबुक प्रयोगकर्ताले (नेकपा)को कार्यालाय सहिदको नाममा भ्रष्ट दलालहरुको मोजमस्ती गर्ने भवन भएको लेखेका छन् ।

त्यस्तै विरेन्द्र ओलीले कम्युनिस्ट पार्टीमा कर्पोरेटमैत्री वातावरण छ भन्ने सन्देश दिन एनसेलको बोर्ड राखिएको उल्लेख गरेका छन् । यी प्रतिनिधि मात्रै हुन अधिकांश टिप्पणीकर्ताहरुले (नेकपा) एनसेलको प्रभावमा रहेको, एनसेलले कर छलि गर्न पार्टी कार्यालय चलाइदिएको, प्रायोजन गरिएको, नेताहरु खरिद गरेको, नेताहरुललाई पैसा प्रभावमा पारेको उल्लेख गरेका छन् । कर तिराउन चौतर्फी विरोध भइरहेको बेला सत्तारुढ पार्टीको पार्टी कार्यालयमै एनसेलको विज्ञापन बोर्ड राखेको फोटो सार्वजनिक भएको छ ।

के हो एनसेल ?

२०५८ असार ७ गते यो कम्पनी दर्ता भएको थियो । यसको ८० प्रतिशत सेयर होल्ड गर्न सेन्ट किट्स एन्ड नेभिसमा रेनल्ड होल्डिङ स्थापना गरिएको थियो । ४ जुलाई २००१ मा नेभिस बिजनेस कर्पोरेसन अर्डिनेन्स जुन १९८४ मा एनभीसीओ अन्तर्गत दर्ता भएको यो कम्पनीसँग प्रति एक डलर मूल्यका एक लाख एक हजार कित्ता सेयर थियो । रेनल्ड होल्डिङ्सको १०० प्रतिशत सेयर टेलियासोनेरा नर्वे नेपालले होल्ड गथ्र्यो । त्यसको पनि १०० प्रतिशत सेयर नेदरल्यान्डको टेलियासोनेरा एसिया होल्ड गथ्र्याे । त्यसको सेयर दुईवटा कम्पनीमा विभाजित थिए । पहिलो टेलियासोनेरा यूटीए कम्पनी र दोस्रो एसईए टेलिकम इन्भेस्टमेन्ट कम्पनी थियो । टेलियासोनेरा यूटीएसँग टेलियासोनेरा एसियाको ७५.५ तथा एसईए टेलिकम इन्भेस्टमेन्टसँग २४.५ प्रतिशत सेयर थियो । टेलियासोनेरा यूटीए टेलियासोनेराको शतप्रतिशत लगानी भएको कम्पनी हो भने एसईए टेलिकम इन्भेस्टमेन्ट कजाख कम्पनी भाइजर समूहको लगानी भएको कम्पनी हो । भाइजर समूहमार्फत एसईएमा निजी व्यक्तिको लगानी थियो ।

सेन्ट किट्स एन्ड नेभिसमा दर्ता भएको रेनल्ड होल्डिङ्ससँग एनसेलको सय रुपैयाँ दरका १० लाख कित्ता सेयरमध्ये आठ लाख कित्ता सेयर थियो । यो हिसाबमा एनसेलमा टेलियासोनेराको ६०.४ तथा एसईए टेलिकमको १९.६ प्रतिशत सेयर हुन्थ्यो । पुस ६ को विज्ञप्तिअनुसार मलेसियाको एक्जियटाले सोझै एनसेल किन्ने नभई बेलायतको एक्जियटा इन्भेस्टमेन्ट यूके लिमिटेडमार्फत टेलियासोनेरा एसिया होल्डिङ्ससँग एनसेलको ८० प्रतिशत स्वामित्व होल्ड गर्ने टेलियासोनेरा नेपाल नर्वेको सेयर खरिद गर्ने थियो । यसरी कारोबार गर्दा रेनल्ड होल्डिङ्सको स्वामित्व एक्जियटा यूकेमा सरेको छ । प्यारेन्ट कम्पनी किनेपछि एनसेल उसैको हुन्छ । तर यस्तो कारोबार नेपालमा भएन ।

कसरी ब्रम्हलुट मच्चाएको छ एनसेलले ?

नेपाल टेलिकम र एनसेलका ट्यारिफ रेटलाई अध्ययन गर्ने हो भने मोबाइल सेवा वा डाटा सेवा दुवैमा लगभग ३ गुना फरक परेको देखिन्छ । नेपाल टेलिकम टु नेपाल टेलिकम र अन्यमा प्रतिकल केवल रु. १ मात्र पर्छ । देशभित्र कुनै पनि स्थानमा यसमा रोमिङ छैन । तर एनसेलबाट एनसेनको प्रतिकल रु. १ं९९ छ । अझ एनसेलबाट अन्यमा एकदमै फरक छ । एनसेल टु एनटीसीमा रु. २.५३ लाग्छ । यूटीएलमा रु.२.८३ लाग्छ । साथै एनसेलमा प्रत्येक जिल्ला र अञ्चलमा रोमिङ लगाइएको छ । एनटीसीबाट एनसेल वा एनसेलबाट एनटीसीमा क्रमशः १ करोड ३४ लाख ६२ हजार ९०७ र १ करोड ३४ लाख ३४ हजार ३१ जना ग्राहकहरूले कम्तीमा दिनमा ५ पटक मात्र फोन गरे भने पनि एनटीसीको ट्यारिफ रेटको तुलनामा एनसेलले २ करोड बढी कमाउँछ । यसलाई ब्रह्मलुट नभनेर के भन्ने ?

त्यस्तै एनसेलले प्याकेजका नाममा झनै ब्रह्मलुट गरेको छ । उसले एकदिने, सातदिने र एकमहिने (तीसदिने) प्याकेज ल्याएको छ । एकदिने प्याकेजलाई २४ घन्टाभित्र सक्नुपर्छ । अन्यथा कोल्याप्स हुन्छ । यी प्याकेजहरूलाई वैकल्पिक प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको छ । फेसबुक भए भ्वाइस कल हुँदैन । एसएमएस भए अर्को हुँदैन । यसकारण ग्राहकको प्याकेज खरिदको पूर्ण रकम खर्च हुँदैन । त्यसले गर्दा ग्राहकको ठूलो रकम एनसेलले लुट्ने गरेको छ । डाटा चलाउँदा र प्याकेज कोल्याप्सबाट एक दिनमा १० करोडबराबरमा लुट गरेको छ । यसरी एक दिनमा २० करोडबराबरको लुटलाई यहाँका राज्य सञ्चालकले लुकाइदिएका छन् ।

यिनै कारणले गर्दा एनसेलले महँगो मात्र नभएर ब्रह्मलुट पनि मच्चाएको छ । यसरी ब्रह्मलुट गरेको अकुत पुँजी विदेशी कम्पनीले नेपालबाट लिएर विदेश पुग्छ । नेपाल सरकार, सरकारअन्तर्गतको दूरसञ्चार प्राधिकरणले एनसेललाई नीतिगत भ्रष्टाचारमा प्रोत्साहन गरेकाले उसले गर्न पाएको ब्रह्मलुट, विगतका अर्थमन्त्री रामशरण महत र सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालका कारण विदेश पलायन हुन पुगेको नेपाली खर्बौँ रुपैयाँलाई जोगाउने जिम्मा नेपाली जनतामा आएको छ । यसलाई कसैले नियन्त्रण वा रोक्ने प्रयत्न गरिराखेका छैनन् । त्यसैले एनसेलजस्ता ब्रह्मलुट गर्ने र नेपाली पुँजी विदेश पलायन गर्ने संस्थाका बारेमा सर्वत्र विरोध हुनु सिम बहिष्कार गर्नु अस्वभाविक होइन ।

२०७६ वैशाख २८ गते शनिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :