ट्याक्टरले ठक्कर दिँदा छात्राको मृत्यु, विद्यार्थी सङ्गठनद्वारा शोक व्यक्त


काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति दाङले शोक वक्तव्य प्रकाशित गरी तुलसीपुर उपमहानगरपालिका ७, शिवनगर निवासी तुलसी आवासीय मावि तुलसीपुरमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा विजिता केसीको ट्याक्टर दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ । सङ्गठनका जिल्ला अध्यक्ष अनिल केसीले जारी गरेको शोक वक्तव्यमा घाइते १४ वर्षीया मीना वलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भई राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा भएको विजिता केसीको दुःखद् निधनले हाम्रो सङ्गठनलाई दुःखी एवम् स्तब्ध बनाएको छ ।’ पुस ३ गते तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर उपमहानगरपालिका ५ गोदामघरनजिकै विद्यालय जाने क्रममा सडकछेउमा हिँडिरहेको अवस्थामा पश्चिमबाट तीव्र गतिमा आएको रा १ प १४३५ नम्बरको ट्याक्टरले उनीहरूलाई ठक्कर दिएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘चालकको लापरबाही र दादागिरीले बर्सेनि सयौँ नागरिकले अनाहकमै ज्यान गुमाउँदा पनि सम्बन्धित निकाय रमिते बस्नु, सम्बन्धित निकायले दुर्घटना न्यूनीकरण गर्न कुनै उपाय नअपनाउनु साथै राज्यको फितलो नियमले गर्दा यस्ता दुर्घटनालाई चालकले सामान्य रूपमा लिनुले दैनिक यस्ता दुःखद् घटना भइरहेको प्रस्टै छ । यस्ता अप्रिय घटनाहरू रोक्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ ।’

विज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाउने छात्रा विजिता केसीप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ भने शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । दुर्घटनामा घाइते छात्रा मीना वलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक विजिताको परिवारलाईलाई न्यायका निम्ति उचित क्षतिपूर्तिसहित दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र घाइते मीनालाई उपचारमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ । वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :