जुरुक्क उठेको राष्ट्रिय स्वाभिमान

यतिबेला नेपाली राष्ट्रिय स्वाभिमान जुरुक्क उठेको छ । राष्ट्रिय एकता र स्वाभिमानका लागि सिङ्गो नेपाली जनमत एक भएको यो ऐतिहासिक क्षण हो । सत्तासीन शासकहरू र तिनका मतियारबाहेक भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध यतिबेला नेपाली जनमत अङ्ग्रेज साम्राज्यवादविरुद्ध नालापानी, सिन्धुलीगढी किल्लालगायत लडाइँमा झैँ एक भएको छ । यो जनमतले शक्तिशाली नेतृत्व खोजिरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई केन्द्रमा राखेर सङ्घर्ष हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टीले मात्र देश, जनता र श्रमजीवी जनताका इच्छा, आकाङ्क्षा र आवश्यकताहरूलाई पूरा गर्न सक्छ भन्ने उदाहरणहरू पनि देखिइरहेका छन् । तर राष्ट्रियताको रक्षाका लागि सडकसङ्घर्षमा उत्रिएका जनता र नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर केपी वली सरकारले भारतीय साम्राज्यवादको सेवा गरिरहेको छ । यो राष्ट्रघाती, जनघाती र निन्दनीय हर्कत हो । यसको प्रतिरोध गर्नुपर्छ र राष्ट्रियताको रक्षा गर्नुपर्छ ।

यतिबेला भारतीय साम्राज्यवादले फेरि नेपालका कालापनी, लिम्पियाधुरा, लिपुलेकलगायत क्षेत्र अतिक्रमण गरेर आफ्नो नक्साभित्र कैद गरेको छ र उसले आफ्नो साम्राज्यवादी चरित्र नाङ्गो रूपमा प्रस्तुत गरेको छ । देशभित्र रहेका देशभक्त नेपाली त भारतीय साम्राज्यवादी अतिक्रणविरुद्ध सडकमा उत्रिएका छन् नै, विदेशमा भएका नेपालीहरूसमेत भारतीय साम्राज्यवादी अखडामा भेला भएर मिचिएको सीमा फिर्ता गर्न र नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान आह्वान गरिरहेका छन् । राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि यो ऐतिहासिक ऐक्यबद्धता, तत्परता र भावनात्मक एकता हो । यसलाई ठोस भौतिक शक्तिमा रूपान्तरण गर्नुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टी मात्र यस्तो राजनीतिक शक्तिका रूपमा अघि सरेको छ जसले राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष नै घोषणा गरेर सडकमा उत्रिएको छ । पहिलो चरणको सङ्घर्ष सफल भएपछि नेकपा दोस्रो चरणको सङ्घर्षमा सडकमा छ । नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरू कुनै तरिकाले पराजित हँुदैन भन्ने निष्कर्ष निकाल्दै सबै देशभक्त, राष्ट्रवादी, सामम्राज्यवादविरोधी र क्रान्तिकारी शक्तिहरूलाई राष्ट्रियताको रक्षाका लागि एक हुन आह्वान गर्दै सङ्घर्षसमेत सञ्चालन गरिरहेको छ । नेकपाले दोस्रो चरणको सङ्घर्षमा जुलुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाऊ अभियानद्वारा जारी नक्साको प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने, साहित्यिक कार्यक्रम गर्नेलगायत कार्यक्रम अघि सारेको हो । देशभक्त नेपालीले नेकपाको यो सङ्घर्षलाई पनि हिजो भारतले चीनसँग मिलेर लिपुलेक हडपेको विरोधमा सञ्चालन गरेको सङ्घर्षमा झैँ साथ दिइरहेका छन् । केपी वली सरकार भने भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गराउनतिर लाग्नुभन्दा राष्ट्रियता रक्षाका लागि आन्दोलनमा उत्रिएका सचेत देशभक्त जनता र नेकपाका नेता–कार्यकर्तामाथि नै आइलागेको छ । उसको यो मालिकभक्तिले सुगौली, कोसी, गण्डक, महाकाली, १९५०, १९६५ लगायत राष्ट्रघाती सन्धिसम्झौताको सम्झना गराइरहेका छन् । नेकपाले वली सरकारको दमनका विषयमा ‘देशको माटो रक्षार्थ उठेको आक्रोश, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको’ संश्लेषण पनि गरेको छ । सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरू कुनै तरिकाले पराजित नहुने पनि नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपाको यो संश्लेषण र आह्वानले नेपाली जनतालाई आफ्नो राष्ट्रियता बचाउने आन्दोलनमा लामबद्ध हुन ठूलो हौसला र सहयोग मिलेको छ ।

साम्राज्यवाद मरणोन्मुख र पतीत पुँजीवाद हो । यसले आफ्नो स्वार्थरक्षाका लागि जस्तोसुकै हर्कत पनि गर्छ । उता अमेरिकी साम्राज्यवाद आफ्नो लूटको स्वर्ग बचाउन संसारभर सञ्चालित मुक्तिआन्दोलन र उत्पीडित मुलुकहरूमा ‘याङ्की’ लगाएर हस्तक्षेप गरिरहेको छ । यता अङ्ग्रेज साम्राज्यवादको जुठोपुरो खाएर हुर्किएको भारतीय साम्राज्यवाद नेपाल र दक्षिणएसियाका अन्य मुलुकहरूमाथि सेनासमेत लगाएर हस्तक्षेप गरिरहेको छ । यो निन्दनीय, खेदजनक र प्रतिरोधयोग्य हर्कत हो । नेकपाबाहेक अरूले यो साम्राज्यवादी हस्तक्षेपविरोधी आन्दोलनको नेतृत्व लिन र यसलाई सार्थक बनाउन सम्भव छैन । सबै देशभक्त र क्रान्तिकारी शक्ति यो मर्म र भावलाई हृदयङ्गम गरेर सङ्घर्षमा उत्रिनु आवश्यक छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :