जहाँ देशद्रोहीहरू ‘राष्ट्रवादी’ र देशभक्तहरू ‘देशद्रोही’ भनाइन्छन्

काठमाडौँ उसै पनि तुवाँलोले ढाकिरहने ठाउँ हो । मध्यवसन्त वैशाख दुई गते । मनमा कुनै उत्साह छैन । विशेषगरी नेपाली राजनीतिमा लागेको तुवाँलोले उसैउसै छोपिरहेछ उत्साह र जोसहरूलाई ।

स्वास्थ्य राम्रो नभएकाले कोठामै आराम गरिरहेको थिएँ । अचानक पुराना साथी नारायण ढकालले फोन गरे । हिले टोलको एउटा होटेलमा चिया खान बोलाए । उनको अनुरोधलाई टार्न सकिएन । उनले फोन गरेको केही समयमा त्यहाँ पुगेँ । त्यहाँ पश्चिमका अटल भनिने साथी र गोपाल किराँतीको पार्टीमा काम गर्ने एकजना अर्का साथी पनि थिए । होटेलमा पस्यौँ । चिया अर्डर भयो ।

होटेलमा गुप्तचरझैँ लाग्ने केही मान्छेहरू आए । कोही चुरोट खाएर निस्कन थाले । कोही चिया खान थाले । मनमा चिसो पस्यो । पक्कै केही गरिँदैछ भन्ने लाग्न थाल्यो ।
अटलजीले चिया अर्डर गरे । चिया आइपुग्न धेरै समय लाग्यो । हामी राजनीतिक, साहित्यिक र व्यक्तिगत गफ गर्न लाग्यौँ । एकजना मानिस हाम्रो नजिक आएर चुरोट खाने बहानामा हाम्रो कुरा सुन्न थाल्यो । जहाँसम्म लाग्छ त्यो सशस्त्रको गुप्तचर थियो । सायद उसले नै रेकी गरेको थियो । उसले नै मेरो गिरफ्तारी सफल बनाएको थियो ।

चिया खाएँ । दुई घुड्की चिया के पिएको थिएँ, युवा सङ्घ र वाईसीएलका जस्ता लाग्ने ठूलो जमातले मलाई घेरिहाल्यो । हातमा हत्कडी लगाइयो । मलाई हतियार देखाउँदै अनेक प्रश्न सोधियो । ‘तपाईं नै होइन विप्लवको ताम्सालिङ प्रवक्ता ? साँचो भन्नुस् । सजाय कम हुन्छ।…’ यस्ता प्रश्न गरेर मलाई तर्साउन र थर्काउन खोजियो । जसरी हुन्छ मलाई फसाउने नियत पनि देखिन्थ्यो ।

मैले भनेँ– म कुनै हालतमा ताम्सालिङको प्रवक्ता होइन । म एउटा प्रगतिशील लेखक हँु । मलाई सत्य लागेका कुराहरू लेख्छु, बोल्छु । म हतियारधारी होइन । म कलम बोकेर परिवर्तन चाहने, त्यसका लागि डटेर हिँड्ने यो देशका लाखौँ युवामध्ये एक हुँ ।

भीडबाट कसैले सोध्यो– तपाईं रसुवा जिल्ला समिति सदस्य पनि हो रे ! मैले भनेँ– प्रहरीमा एउटै व्यक्ति हबल्दार र असई हुन्छ कि हुन्न ? एकै व्यक्ति ताम्सालिङ प्रवक्ता र जिल्ला सदस्य हुने कुरा हास्यास्पद हुन्… । उनीहरू केही बोलेनन् ।

मलाई पक्राउ गर्न आएको टोली सशस्त्रको युद्धसम्बन्धी कार्य हेंर्ने टोली रहेछ । सादा पोसाकधारी आम जनजिब्रोको भाषामा गुप्तचर ।
अन्ततः म पक्राउ परेँ । सशस्त्र प्रहरीको बालाजु औद्योगिक गुल्मको गाडी आयो । मलाई बालाजु पु¥याइयो ।

पक्राउको नयाँ तरिका

सशस्त्र प्रहरीले नै किन पक्राउ ग¥यो ? मनमा विभिन्न तर्क उठे । कहीँ बेपत्ता त पार्ने होइन ? यातना दिएर हत्या नै गरिने पो हो कि ? कतै कृष्णलाल होइने हो कि ? वा कतै कृष्ण सेन ‘इच्छुक’ पो होइने हो ? सङ्कटको बेला मृत्यु आँखैअघि नाच्दो रहेछ । आखिर मेरो कसुर नै के थियो ? जो तल दबिएका छन् । उनका लागि कविता लेखेको हो । सामाजिक सञ्जालमा बोलेको हो । राजनीति निषेध होइन, निकास चाहिन्छ भनेको हो । यसका लागि मर्नुपर्छ भने मरूँला । यो एउटा जीवन अभिव्यक्ति स्वतन्त्रताका लागि भयो । मनमा यस्तै कुरा खेले ।

वातावरण अलि सहज बन्यो । औद्योगिक गुल्मका डीएसपी र इन्सपेक्टर सहयोगी रहेछन् । साथीहरूलाई फोन गर्न दिए । मैले प्रतिबद्ध माक्र्सवादी लेखक अशोक सुवेदीलाई फोन गरेर आफू गिरफ्तारीमा परेको खबर सुनाएँ । यस्तै डबल नेकपाका रसुवा जिल्ला सचिव जगतजङ्गलाई पनि फोन गरेँ । पुराना साथीहरू किरण इङ्नाम र योगेश बराललाई पनि घटनाको जानकारी दिएँ । छिनैभरमा मेरो गिरफ्तारीविरुद्ध सामाजिक सञ्जाल तात्यो । मिडियामा व्यापक समाचार आयो ।

गिरफ्तारी अर्थलाई कसरी लिऊँ !

म चालीस रुपैयाँ बोकेर चिया पिउन निस्केको व्यक्ति । कलमको सिपाही । अलिअलि देशको चिन्ता गर्ने सामान्य व्यक्ति । मैले पक्राउ पर्नुपर्ने कुनै कारण नै थिएन । राज्य मसँग किन यति धेरै त्रसित भयो ? बुझ्नै सकिरहेको थिइनँ ।

सशस्त्र प्रहरीका इन्सपेक्टरले आफ्नु अफिसमा राम्रो स्वागत गरेका थिए । खाजा पनि खुवाएका थिए । मानवीय व्यवहार गरेका थिए तर आरोप सुन्दा भाउन्न होलाजस्तो थियो ।

आगजनी, बम विस्फोट, चन्दा असुली आदि लामो सूची नै तयार गरिएको थियो । निराधार प्रतिवेदन बनाएर एउटा नागरिकमाथि झूटा आरोप लगाइएको थियो । यो सीधा अर्थ थियो–े केपी ओली सरकार, उसको प्रतिबन्ध र त्यसले सुरक्षा निकायलाई पारेको बाध्यता । यसमा प्रहरीलाई दोष दिनुपर्ने कारण थिएन । उनीहरूले आफ्नु कर्तव्य निर्वाह गरेका हुन् ।

जस्तो हरेकको आफ्नैखाले डिउटी हुन्छ । शिक्षकले पढाउँछ । वकिलले बहस गर्छ । सरकारी कम्युनिस्टको नेता छ, सार्वजनिक जग्गा बेच्छ । नदी बेच्छ । देशको स्वाभिमान बेच्छ । मन्त्री छ भने कमिसनको खेती गर्छ । सच्चा पत्रकार छ, खोजी पत्रकारिता गर्ला । मलाई गिरफ्तार गर्नु उनीहरूको डिउटी थियो, पूरा भयो । मैले यही अनुभूत गरेँ ।
रमाइलो कुरा, जब मेरो गिरफ्तारी हुँदै थियो केही सरकारी कमरेडहरूको दोधारे स्टाटस आइसकेछ ।

अनि खानतलासीमा प¥यो मेरो कुटी

लेख्ने मान्छेसँग किताब हुन्छ, डायरी हुन्छ । यो कुरा पुलिसलाई थाहा छ र पनि इन्स्पेक्टर ईश्वर थापा मेरो कोठा खानतलासी गर्न हतारिए । त्यसपछि सशस्त्र र नेपाल प्रहरीको भ्यान उक्लियो हिले । एउटा जात्राजस्तो वातावरण बन्यो । घरधनी आमाले भनिन्– एउटा कलम चलाएर हिँड्ने युवकसँग त्यस्तो के होला र ? छन् भने किताबहरू होलान् ।

मेरो कोठामा भेटिए वादल–प्रचण्डहरूको हेटौँडा महाधिवेशनको दस्ताबेजदेखि नौलो बिहानी मासिक, रातो खबर साप्ताहिक, समर प्रतीकलगायत पत्रिकाहरू । घनश्याम भुसाल, चैतन्य मिश्र र राम कार्कीसम्मका लेख भएका जर्नल । मेरो सम्पादन– प्रकाशनमा आइरहेको प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत रातो हिमाल आदि पत्रिका र पुस्तकहरू जसको कारण मलाई राजद्रोहको मुद्दा लगाउन सजिलो भयो ।

हरेक अध्ययनशील युवाहरूको दराजमा कम्युनिस्ट किताब हुन्छ । आजको सरकार चलाउने पार्टी पनि कम्युनिस्टकै झन्डा हल्लाउँछ । लेनिनदेखि होक्जासम्मको कुरा गर्छ । घनश्याम भुसाल भन्दैछन्– पार्टी देख्दा रुन मन लाग्छ । मलाईचाहिँ कम्युनिस्ट नाउँको सरकारले कम्युनिस्ट किताब पढ्यो भनेर राज्यद्रोहको मुद्दा लगाउँदा रुनु न हाँस्नु भयो । रुन यो अर्थमा सकिएन– यो एउटा अभिव्यक्ति स्वतन्त्रताको मोर्चा थियो । हाँस्न यो अर्थमा सकिएन– सरकार कमसेकम कलमसँग आतङ्कित हुन छोडेको छैन । कृष्णलाल र कृष्ण सेन ‘इच्छुक’ हरू जन्मिएका जन्मियै छन् । किताबहरू आज पनि प्रतिबन्धित छन् । विचारहरू निषेधित छन् । बाटोमा आइपुगेर दोधारमा परेको छ योद्धा । कविता र गीतहरूमाथि निगरानी सुरु भएको छ । प्रेसमाथि हमला जारी छ । जरुर साथी देशको हाल खराब छ ।

कम्युनिस्ट सरकारलाई किन डर लाग्यो रातो किताबसँग ?

बरामद गरिएका धेरैजस्तो किताब वादल– प्रचण्डसँग सम्बन्धित थिए । हेटौँडा महाधिवेशन जसले माओवादीलाई एमालेकरण गर्न खुट्किलो बनायो त्यो पुस्तक नै किन प्रतिबन्धित भयो, मलाई छुट्ट्याउन गाह्रो भयो । भनिन्छ, क्रान्ति र प्रतिक्रान्ति टाढा हुँदैनन् । क्रान्तिलाई बिगारिदिँदा, भत्काइदिँदा त्यो प्रतिक्रान्तिको बाटोमा पुग्छ । हाम्रा नेताहरू साह्रै क्रान्तिकारी पनि भए । चाँडै खलनायक पनि भए । एकै व्यक्ति नायक भएको पनि देखियो । एकै व्यक्तिले सबै कुरा छोडेर हिँडेको पनि देखियो । हाम्रै जीवनकालमा परिवर्तनका अनेकौँ आरोहअवरोह देखियो । आफैँले पनि परिवर्तनको आन्दोलनमा भाग लिइयो ।

झोलामा कविताका किताब बोकेर अनामनगर पुग्दा १३ वर्षअघि एकजना माक्र्सवादी सौन्दर्यशास्त्रीले भनेका थिए– हाम्रो आन्दोलनमा एउटा डमरुको आगमन भयो । कलमको मोर्चा जहिल्यै अग्र हुन्छ । लेख्न नछोड्नू । परिवर्तनको बाटो नछोड्नू ।

म निरन्तर लेखिरहेको छु, बोलिरहेको छु । वैचारिक विमर्श गरिरहेको छु । आजको दुनियाँमा बोल्न निषेध गर्ने मुलुक एकाध छन् । अमेरिकाजस्तो मुलुकमा बौद्धिकहरू बोल्दा राष्ट्रपति गम्भीर हुन्छन्, मुर्मुरिन्छन् तर बोलेकै आधारमा, लेखेकै आधारमा जेल हालिँदैन । पुँजीवादी भनिने मुलुकमा मानवअधिकार छ, अभिव्यक्ति स्वतन्त्रता छ । बौद्धिकताको सम्मान छ तर हाम्रोजस्तो कम्युनिस्ट सरकार भएको देशचाहिँ लेखक, कवि, कलाकार, चित्रकारमाथि राज्यद्रोहको मुद्दा लगाइरहेछ । कोठामा भएका किताब जफत भएपछि लाग्यो सत्ता आफ्नु नहुनेको आफ्नु भन्नू केही नहुने रहेछ । एउटा निःशस्त्र नागरिकसँग पनि सत्ता डराउँदो रहेछ । शासकहरूको मन बिग्रेपछि हुने यस्तै रहेछ ।

त्यो सानो हिरासत कक्ष

महानगरीय प्रहरी वृत्त बालाजु । फलामको घेराभित्र रहेको हिरासत कक्ष । एउटा सानो कोठा । उडुसको टोकाइ । सास फेर्न कठिन वातावरण । मनमा छाएको उदासीको तुवाँलो । मान्छेहरूको भीड । त्यो रात निकै सकसले बित्यो ।
रातभर विभिन्न खालका थुनुवा आए । कोही जाँडले टिल्ल भएका थिए, कोही श्रीमती कुटेर आएका थिए । कोही सवारी ज्यानका आरोपित थिए । सानो कोठामा कोचिएर बस्यौँ हामी ।

राती नै आएका दुई व्यक्ति भने साथी बने । सामना परिवारका पूर्वकलाकार सुवास कडरा र अखिल क्रान्तिकारीका पूर्वनेता अरुण बम । अरुण बमले चलाएको सुदूरपश्चिम दोहोरी साँझमा लफडा परेपछि प्रहरीले सुवासलाई पक्राउ गरेको रहेछ । सुवास र एक गुप्तचर प्रहरीबीच झगडा परेको रहेछ । त्यही कारण सुवासलाई त्यहाँ ल्याइएको रहेछ । राती नै लभ्ली डान्स बारका अनिलकुमार लामालाई प्रहरीले खोरमा हालिसकेको थियो । भारतीयहरूलाई ओभर बिल लगाएको कारण उनी पक्राउ परेका रहेछन् । अनिल पनि साथीहरूका कारण अप्ठ्यारो परेको बताइरहेका थिए । डान्स बार भनेको पैसाको मतलब नभएका दलालहरू जम्मा हुने ठाउँ हो । सामान्य नेपाली त्यहाँ जान सक्दैनन । धनीहरूको अखडामा लफडा हुन्छ । मान्छेहरू थुनिन्छन्, निस्कन्छन् । डान्स बारले चौकी गएर कारबाही भोग्ने मान्छे भाडामा राखेको हुने रहेछ । अनिलको रात्री व्यवसाय राम्रो चलेको रहेछ ।

राती नै मेडिकल लगियो । चेक गरियो । हिर ासतमा राखिएका थुनुवाहरूको स्वास्थ्य ठीक छ भन्नका लागि । अरू जोखिमबाट जोगिनका लागि प्रहरीले स्वास्थ्य परीक्षण गराउँछन् । देशभर नै यस्तो चलन छ । डाक्टरकोमा जाने, सय रुपैयाँ तिर्ने अनि फर्किने । यसरी चेक गराइदिँदा थुनुवा बिरामी भए पनि पुलिसको दोष रहँदैन । त्यही भएर होला नेपाल प्रहरीमा यस्तो चलन बसेको । त्यो रात त्यसरी बित्यो । खाना खाइयो, सुतियो ।

हिरासतभित्रै सामना परिवारका कुरा

बाजुराका सुवास विक सानैदेखि माओवादी आन्दोलनमा जोडिएका युवक रहेछन् । बिन्दास र अलि कडा मिजासका सुवास अहिले राजनीतिभन्दा व्यवसाय गर्दा रहेछन् । अरुण पनि व्यवसाय गरिरहेका व्यक्ति रहेछन् ।

राजनीतिक प्रतिक्रान्तिपछि पाखा लागेका धेरै पात्रमध्ये सुवास र अरुण पनि थिए । ती माओवादी आन्दोलनप्रति गर्व गर्थे तर नेताहरूले बाटो बिराएको भन्दै दुःख व्यक्त गर्थे ।

सुवास सामनाको अभियानमा लामो समय जोडिएका रहेछन् । आपसमा देखे पनि हाम्रो परिचय भएको रहेनछ । उनले माइला लामाको कुरा गरे । अशोक सुवेदीको कुरा गरे । सामना परिवारको दुःखको कुरा गरे । रमण–आरोहको साङ्गीतिक दुःखबारे निराशा व्यक्त गरे ।

माइला लामाको गीतको कुरा भए । विशेषतः झन्कार बुढामगरको नयाँ गीत लुट्नु हुन्न देश शीर्षकको गीतबारे छलफल भयो । झन्कारजस्तो विख्यात जनवादी कलाकारले किन सरकारको यति धेरै प्रतिरक्षा गरे ? किन झन्कार बिग्रे ? किन उनलाई विद्रोही भनिनेले हेला गरे र त्यही तुसले उनी प्रचण्डतिर फर्किए ? हामीले अनेकौँ बह्स ग¥यौँ ।
के छ यार रक्तिमजी ?

जोमसोमै बजारमा बाह्र बजे हावा सरर ए हजुर घर हाम्रो पोखरा हिरासत कक्षमा कसैले बिहानबिहानै यति मीठो गीत सुसेल्यो । निद्रा खुल्यो । वैशाख तीन गतेको दिन उस्तै थियो जुन हिजोको दिन थियो । यो वसन्तऋतुको मौसम पनि रुखो लागेको छ मलाई । त्यो गीतले हिरासतमै भए पनि साङ्गीतिक मिठास दिलायो । मनमा कतै सानो उत्साहले बास ग¥यो । त्यो गीत गाउने व्यक्ति रहेछन् सन्तोष लामा । लागूपदार्थको मुद्दा झेलिरहेका तर सुमधुर गीत गाउन सक्ने प्रतिभा सम्पन्न युवक । कागजको सारङ्गी बनाउँदै सन्तोष मस्तले अङ्ग्रेजी गीत पनि गाउँथे । हिरासत कक्ष कुनै कला केन्द्रजस्तो बन्थ्यो । कुनै सङ्गीतकारको निजी कोठाजस्तो हुन्थ्यो । हामी बसुन्जेल उनले दर्जनौँ गीत गाए ।

गीत सुन्दै गर्दा अचानक देखेँ जनमुक्ति सेनाका पूर्वकमान्डर रक्तिमलाई । पार्टी राजनीतिवाट टाढा बसेर मासु पसल गर्दै गरेका उनलाई पनि राज्यद्रोहको मुद्दामा पक्राउ गरिएको रहेछ । ठूलो आकारको हिरासत कक्षमा रहेका रक्तिमलाई मैले हात उठाए । उनले पनि हात उठाए । सन्तोष पÞmेरि अर्को गीत गाउँदै थिए ।

बालुवाटारको जग्गा भर्सेज राज्यद्रोह

कम्युनिस्ट भनिनेहरूलाई कति जमिन र सम्पत्ति चाहिन्छ ? यो हाजिरीजबाफभन्दा बाहिरको प्रश्न हो । म हिरासतमा पर्दा र निस्कँदासम्म नेकपाका महासचिव विष्णु पौडेलसँग जोडेर बालुवाटार जग्गा विवादको विषय बजार गर्माएको थियो र छ । मलाई भाउन्न हुँदै थियो–े म यति धेरै देशको चिन्ता गर्छु । देशलाई सुन्दर बनाउनुपर्छ भन्छु । सबैको आङमा घाम लाग्नुपर्छ भन्छु । तर म राज्यविरुद्ध अपराधअन्तर्गत मुद्दा झेल्दैछु । अनि अर्को तप्का छ । ऊ बालुवाटार बेच्छ । भएपाएका खुला र सरकारी जमिन कब्जा गर्छ । ऊ सानले देशभक्त हुन्छ । राष्ट्रवादी कहलिन्छ । सुखी नेपालीको डम्फु बजाएर समृद्ध नेपालको सुपर डान्स गर्छ । दुःखद् छ हामी कलमका सिपाहीले भोगेको यो कहालीलाग्दो कहर !

लियो टोल्सटायको एउटा कथा छ– मानिसलाई कति जमिन चाहिन्छ ? कथामा एउटा पात्र आफूले चाहेको जमिन पाउन दिनभर कुद्छ । लोभले अति नै व्याकुल ऊ घाम अस्ताउने बेला धपेडी भएर मर्छ । आखिर उसलाई पुर्न पाँच फिट जमिन न चाहिन्थ्यो । उसले त्यो बुझेन । वर्तमान सन्दर्भमा यो कथा झन् बिम्बात्मक भएको छ । विष्णु पौडेल एउटा सामान्य उदाहरण हुन् । भूमाफियाको चक्रव्यूहको जरा पत्ता लगाउन सामान्य जनले सक्दैन । यसको जड दलाल पुँजीवाद हो । व्यक्तिकेन्द्रित अर्थतन्त्र हो । यसलाई स्वार्थसमूह भनिन्छ । हो उनकै हातमा छ देश ।

जहाँ निषेधित छ राता किताब

हिरासतमा स्टिलको भाँडा र छालाको पेटीसम्म निषेधित हुन्छ । जहाँ किताबहरू पढ्न पाइन्छन् तर खास किताब मात्र पढ्न पाइन्छ । जस्तो विनोद चौधरीको जीवनी पढ्न पाइन्छ तर चारु मजुमदारको कुनै किताब पढ्न पाइँदैन । समर लभ पढ्न पाइन्छ, प्रेमसुधाको तिमी अमर भयौ मेरो मुटु चँुडियो र नौलो बिहानीको ‘प्रतिबन्धविरुद्ध प्रतिरोध’ पढ्न पाइँदैन । बालाजु हिरासतमा पहिचानवादी साहित्य बरु जति पनि पढ्न पाइएको हो किनकि ती किताबका गाता राता हँुदैनन् । हिरासत कक्षमै थिए दमिनी भीर र लाटो पहाड । लागूपदार्थ मुद्दामा आएका अजय लामाले त्यो किताब ल्याएका रहेछन् । उनले प्रिय सुफी र समर लभ पनि ल्याएका थिए ।

खासगरी जीके पोख्रेलको गोहो र उमा सुवेदीको सयौँ पुतली साथीहरूले धेरै पढे । गोहो आफैँमा परिवर्तन र आन्दोलन ‘बाल’ नदिएको दुलोबाट आएको कथा हो । यस्तै कथाले हो यस्ता ठाउँमा हिट खाने । सामाजिक कथामा भने जीके राम्रो गरी प्रस्तुत भएका छन् ।

(देशद्रोहको झूट्टो मुद्दा खेपेर २६ दिनपछि हालै मुक्त भएका साहित्यकार रसुवाली कविको प्रकाशोन्मुख हिरासत डायरी पुस्तकको अंश– सम्पादक ।)

२०७६ जेठ ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :