जमुना बहिनी, अब मैले कसको के कुरा गर्नू ?


श्रद्धाञ्जलीसम्म नपाउने गरी मरेको सूर्यको के कुरा गर्नू ?
कमला भट्टको तस्बिरम ाधूलो जमाउनेहरू
घाटमा उपस्थित भएका छन्
टोकरीभित्र रहेका तक्षकको के कुरा गर्नू ?
अरूको गोडा बालेर आफ्नो निम्ति अर्क बनाउँदै
जामुना गुभाजुको विधि पोल्नेहरूको के कुरा गर्नू ?
जमुना बहिनी, अब मैले कसको के कुरा गर्नू ?

मुक्तिको झन्डा उचाल्ने हातहरूमा
लुतो थोपरिरहेको हावाको के कुरा गर्नू ?
हरेक क्षण कतै न कतैबाट फुरी कीराहरूले टोकिरहेका छन्
किम्बुका सारा रुखहरू बगाएको खोलाको के कुरा गर्नू ?
मानसरोवरमा बसेर गँड्यौलाखान धेरै वर्ष कुर्नुपर्ने ठहर गर्दै
टुकुचालाई सुन्दर ठह¥याउँदै गँड्यौला खान हिँडेको माछाको के कुरा गर्नू ?
जुद्धशमशेरको सालिक नउखेलिएको ठाउँमा
कृष्ण सेनको सालिक बनेन भनेर के कुरा गर्नू ?
जमुना बहिनी, अब मैले कसको के कुरा गर्नू ?

सर्वदालाई हरेक दिनखुर्पाले उखेल्दै बकैनाको बिरुवा सारिरहेको जमिनको के कुरा गर्नू ?
आफू मर्दा आफूसँगसँगै गणना गर्न सक्ने गरेर
थुप्रै स्त्रीहरू सती लग्ने नरभूपालको के कुरा गर्नू ?
असङ्ख्य जिब्राहरूमा सखरको अलिकति लेप दलि¬दिएर
हातमा तरबारको साटो बाच्छे बाजा थमाउँदै
आफ्नो वरिपरि सतीमण्डप बनाएर
मुस्कुराइरहेको नेपोलियनको अब कसरी के कुरा गर्नू ?
फेदी नै शिखर हो भनेर कसरी के कुरा गर्नू ?
जमुना बहिनी, अब मैले कसको के कुरा गर्नू ?

फट्याङ्ग्रो पनि जनगणनामा मानिस भएर गणना भएको छ
त्यस्तो गणनाको अब कसरी के कुरा गर्नू ?
नगरकोटे टाउकाहरू गिँडेको अवनीनारानको खुँडा
सङ्ग्रालयमा रहेको छ भन्ने हलुका हुने किसिमको के कुरा गर्नू ?
उसको टोपी जस्ताको तस्तै चम्किरहेको रातमा
उसको टोपी नदेख्ने सुरदासको के कुरा गर्नू ?
क्यालेपकुसिङ म¥यो भनेर के कुरा गर्नू
उसको रबाफ अहिले पनि जहाँकहीँ जुर्मुराइरहेछ
जमुना बहिनी, अब मैले कसको के कुरा गर्नू ?

कौसीबाट खसेको मानिस मूर्दा नभएको परिवेशमा
कमला भट्टलाई अपघात गर्नेको कुममा थपिएको अलङ्कारको के कुरा गर्नू ?
गोरखामा हिमपात भएर
अञ्जान विरहीको कविता निथ्रुक्कै भिजेको वातावरणभित्र
घ्याम्पेसालमा अब पढिने कविताको के कुरा गर्नू ?
ढलभित्र नौलो नाच नाच्छौँ भनेर
केवल पीठहरू मात्र कोर्ने भ्यागुताहरूको के कुरा गर्नू
आफ्नो औँला चुस्दै कोक्रोमा यताउति हेरिरहेको छ स्टालिनले
भोलि हिँड्ने स्टालिनको यतिखेर आजै के कुरा गर्नू ?
नहिँडेको स्टालिन हिँड्यो भनेर के कुरा गर्नू
जमुना बहिनी अब मैले कसको के कुरा गर्नू ?

स्राेत : राताेखबर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :