जनयुद्ध दिवसमा प्रचण्डले जस्तो धोका नदिने प्रतिबद्धता

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवीन विश्वकर्माले प्रचण्डले धोका दिएजस्तै आफ्नो पार्टीले जनतालाई कहिल्यै धोका नदिने बताएका छन् । जनयुद्ध दिवसको २४ औँ वार्षिकोत्सवका अवसरमा कालीकोटको मुम्रामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता नवीनले यस्तो बताएका हुन् ।

नेता नवीनले नेपाली क्रान्ति पूरा नभएको उल्लेख गर्दै प्रतिक्रान्ति गरी जनतालाई धोका दिनेहरूलाई अबको एकीकृत जनक्रान्तिबाट बढारिने चेतावनी दिए । सहिदहरूको रगत कालीकोटका बस्तीहरूमा अझै पनि नसुकेको भन्दै नवीनले सहिदहरूको सपना पूरा गरिछाड्ने अठोट व्यक्त गरे ।

जिल्लाको रास्कोट नगरपालिकाको केन्द्र आरसीपी बजारबाट १ सयभन्दा बढी युवा रातो पोसाकसहित निधारमा रातो कफन बाँधी मार्चपास्ट गर्दै मुम्राचौरमा पुगेका थिए भने गाउँगाउँबाट नाराजुलुस गर्दै हजारौँ जनता कार्यक्रममा सहभागी भएका थिए ।
सोही अवसरमा पार्टी प्रवक्त प्रकाण्डका भाइ सहिद सिंहबहादुर विश्वकर्मा ‘कोपिला’ सालिक नेता नवीनले अनावरण गरे ।
२०५७ साल जेठ २ गते सोही ठाउँमा तत्कालीन सरकारी सुरक्षाफौजसँगको भिडन्तमा कोपिला सहिद भएका थिए । कोपिलासहित अन्य सहिदको नाम लेखिएको पार्कसहितको सालिक अनावरण गर्दै नेता नवीनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्ने एकृकीत जनक्रान्तिबाट सहिदहरूको सपना पूरा हुने ठोकुवा गरे । जिल्ला पार्टीको योजना र पहलमा ८ लाखको लगानीमा पार्कसहितको सालिक निर्माण गरिएको हो ।

कार्यक्रममा प्रभात र आह्वान जनसांस्कृतिक परिवारले विभिन्न गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए । जिल्लाभर गाउँगाउँमा जनयुद्ध दिवस मनाइएको र सहिद परिवार, बेपत्ता परिवारसँग भेटघाट गरिएको जानकारी जिल्ला सेक्रेटरी रणदीप ऐडीले दिएका छन् ।

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :