जनयुद्ध दिवसको अवसरमा दाङ र रोल्पा कारागारमा खेलकुद प्रतियोगिता

जनयुद्धकी पहिली घाइते आमालाई कारागारमै बोलाएर अभिनन्दन


दाङ : २५ औँ जनयुद्ध दिवसका अवसरमा दाङको तुलसीपुर कारागार र रोल्पाको कारागारमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । २५ औँ जनयुद्ध दिवसका अवसरमा दाङको तुलसीपुर कारागारमा भएको प्रतियोगितामा भलिबल र ब्याटमिन्टन खेलहरू भएका छन् । हालै सम्पन्न कार्यक्रममा खेलका विजेता र उपविजेताहरूलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

खेल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ले खेलका विजेतालाई रु. १,५०० र उपविजेतालाई रु. १,००० नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वीरजङ्गले मन्तव्यसमेत राखेका थिए ।

ढिलो गरी प्राप्त समाचारअनुसार जनयुद्ध दिवसको दिन फागुन १ गते कारागारमा रहेका सबै कैदीबन्दीलाई नेकपा नेता वीरजङ्गले अबिरको टीका लगाई चकलेट वितरण गरेका थिए । कार्यक्रममा २५ औँ जनयुद्ध दिवसको शुभकामना आदानप्रदान गरिएको पनि बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बैठक दाङको राजपुर वडा नं. ४ मुङ्ग्रेठामा बसिरहेको स्थानबाट असोज २९ गते राती गिरफ्तारीमा परेका वीरजङ्ग मात्र हाल तुलसीपुर कारागारमा छन् ।

यस्तै २५ औँ जनयुद्ध जनयुद्ध दिवसका अवसरमा रोल्पाको कारागारमा पनि खेलकुद प्रतियोगिता आयोजना गरिएको खबर प्राप्त भएको छ । खेल प्रतियोगितामा क्यारेम बोर्ड, चेस, लोकदोहोरी गीत प्रतियोगितासमेत भइरहेको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’, पार्टीका तत्कालीन रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका ‘प्रताप’, सन्तोष सुवेदी ‘प्रयास’ लगायत ११ जना नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता रहेको रोल्पाको लिबाङ कारागारमा अन्य कैदीबन्दीहरू पनि खेलमा समावेश भएका छन् । खेल केही दिनसम्म जारी रहने बताइएको छ ।

यसैगरी जनयुद्धका पहिली घाइते आमा मनखना बाठामगरलाई रोल्पाको कारागारभित्रै आस्थाका बन्दीहरूले अभिनन्दन गरेको बताइएको छ ।

तत्कालीन राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’ की आमा ८१ वर्षीया मनखनालाई प्रत्येक वर्ष जनयुद्धकी प्रथम घाइतेका रूपमा अभिनन्दन गरिँदै आएको छ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले यस वर्ष मनखनालाई कारागारमै सम्मान गरेको हो । रोल्पाको साबिक भाबाङ १ बाच्छे, हालको माडी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएकी मनखना जनयुद्धको थालनीस्वरूप ग्रामीण वर्गसङ्घर्ष विकास भइरहेको बेला २०५१ साल जेठ १५ गते प्रहरी दमन र ज्यादतीको प्रतिरोध गर्दा प्रहरीको गोली लागी घाइते हुनुभएको हो । बलिदान दिवसको अवसर पारी उहाँलाई सम्मान गरिएको बताइएको छ ।

दाङको राजपुर वडा नं. ४ मुङ्ग्रेठामा नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट असोज २९ गते राती गिरफ्तार भएका सुवाससहित ३ जना र अन्य रोल्पाबाटै गिरफ्तार भएका ११ जना आस्थाका बन्दी हाल रोल्पा कारागारमा छन् । फरक राजनीतिक आस्थाका कारण गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टीका सयौँ नेता–कार्यकर्ता हाल देशभरका जेल र हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :