जनपत्रकार संगठनको आयोजनामा अन्तरक्रिया सम्पन्न

प्रेस स्वतन्त्रता तथा मानवअधिकार गम्भीर संकटमा


काठमाडौं : जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले बुटवलमा आयोजना गरेको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं बर्तमान राजनीतिक अवस्था विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले प्रेस स्वतन्त्रता र मानवअधिकार गम्भीर संकटमा रहेको बताएका छन् ।

शनिबार बुटवलमा भएको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताले संविधानमा लेखिएका कुराहरु सरकारले नै पालना नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे । कार्यक्रममा भोजप्रकाश श्रेष्ठले सरकार र विद्रोही शक्ति दुबै देश र जनताकै लागि भएकोले हिंसा भन्दा पनि शान्तिपुर्ण वार्ताको माध्यमबाट राजनीतिक निकाश निकाल्नुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री अमर पुनले सरकारको रबैयाले जनतालाई विद्रोहको लागि उस्काईरहेको भन्दै असन्तुष्टि जाहेर गरे । उनले परिवर्तन हुनको लागि कुनै दलबिशेष स्वार्थभन्दा माथि उठ्न जरुरी रहेको भन्दै जनयुद्धमा रोल्पाले ठूलो योगदान गरेपनि परिवर्तनको दियो नबोलेकोप्रति आक्रोश व्यक्तसमेत गरेका थिए । सरकारले नै संविधानको उल्लंघन गर्दै राजनीतिक दललाई प्रतिबन्ध लगाउनु गलत रहेको भन्दै प्रेस स्वतन्त्रता मानवअधिकारका जस्ता महत्वपूर्ण बिषयका बारेमा सरकार चुकेको भन्दै यो अबस्था परिवर्तन नभए ठूलो आन्दोलनको सम्भावना रहेको जिकिर गरे ।

यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै जनअधिकार नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान निकै उत्कृष्ट लेखिएको भएपनि सबै कागजमा मात्र सिमित रहेको बताए, संविधानमा लेखिएका मौलिक हकहरु समेत सरकारले कुण्ठित गरेकोप्रति सचेत रहन आग्रह गर्दै संसदीय ब्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेबारे बहस गर्न जरुरी भएको बताए । अधिकारीले भने ‘प्रेस स्वतन्त्रता छैन भने, राजनीतिक अबस्था निकै पेंचिलो बनिरहेको छ ।’ सामान्य जनताले कर तिर्नुपर्ने तर एनसेलले कर नतिरे पनि हुने भन्दै भन्डारीले अदालत पनि सरकारको छाँयामा भएको जिकिर गरे ।
यस्तै नेपाल पत्रकार महासघका महासचिव रमेश बिष्टले संविधानको प्रस्तावनामा लेखिएको भएपनि प्रेस स्वतन्त्रता संविधानमै मात्र भएको भन्दै असन्तुष्ट ब्यक्त गरेका थिए । पत्रकारहरुलाई नै प्रहरीले धरपकड गर्ने गरेको भन्दै न्यायलयको आदेश नमानेर प्रहरीले अदालतकै गेटबाट प्रहरीले फेरि समात्छ, उनले प्रति प्रश्न गरे यो कहाँको नियम हो ? विभिन्न प्रेससम्बन्धि ऐन ल्याउदा छलफल नगरेको भन्दै आम सन्चार सम्बन्धी ऐन छलफल नगरी पास भएमा आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

यस्तै कार्यक्रममा उच्च अदालत नेपाल बार एसोसिएसन रुपन्देही अध्यक्ष जोग बहादुर खत्री बामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देवबहादुर पौडेल, मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसी, वरिस्ठ पत्रकार बालकृष्ण चापागाईं, बामपंथी लेखक एवम् अगुवा बिनबहादुर कुवर, नागरिक समाजका प्रतिनिधि पदम कार्की लगायतले यस्तो बलियो सरकारले मानवअधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । पत्रकारहरु, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, प्रध्यापकहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता, महासचिव हिम बिष्टको सञ्चालन र केन्द्रीय सदस्य शिव डुम्रेको स्वागतसहित कार्यक्रम भएको थियोे ।

पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो । पछिल्लो समय राजनीतिक विचार र आस्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । संगठनले यस अघि मेचीदेखि महाकालीसम्म ३८ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिसकेको छ ।

२०७६ असोज ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :