चौतर्फी दबाबपछि गिरफ्तार पत्रकार रिहा भए

काठमाडौँ : जनपत्रकार सङ्गठन, नेपाल काठमाडौँका संयोजक तथा न्हूगु ज्वजलपा वास् पौ साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाइपछि रिहा भएका छन् । मङ्गलबार सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाई गर्दै मङ्गलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको संयुक्त इजलासले महर्जनलाई रिहा गर्न आदेश दिएको हो । महर्जन २०७५ साल चैत्र २६ गते समाचार संकलनका क्रममा काठमाडौँको रामशाहपथस्थित नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालय परिसरबाटै पक्राउ परेका थिए । नेपाल पत्रकार महासङ्घलगायत प्रेस तथा मानवअधिकारसँग सम्बन्धित संघ–संगठनहरुले महर्जनको गिरफ्तारीको विरोध जनाएका थिए ।

महर्जनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घको तर्फबाट महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले २०७६ वैशाख ८ महर्जनलाई रिहा गर्न आदेश दियो । अदालतको आदेशलगत्तै सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गर्यो । दोस्रोपटकको गिरफ्तारीका क्रममा अदालतको गेटमा पुगेका पत्रकार महर्जनकी बहिनी, आफन्त र समाचार संकलनका लागि पुगेका पत्रकारलाई समेत प्रहरीले धरपकड गरेको थियो ।

पत्रकार महर्जनको रिहाइको माग गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी दोस्रो पटक प्रत्यक्षीकरणको रिट दायर गरेका थिए भने यसबीचमा पत्रकार महासंघ लगायत विभिन्न सङ्घ–सङ्गठनहरुले सार्वजनिक रुपमा विरोधका कार्यक्रम जारी राखेका थिए । पत्रकार महासङ्घको काठमाडौँमा उपलब्ध केन्द्रीय समितिको बैठकले महर्जनको रिहाइका लागि देशव्यापी दबाब अभियान चलाउने र सत्तारुढ दल तथा प्रतिपक्ष दलसहित पूर्व प्रधानमन्त्री, सभामुख लगायतलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको थियो । लगत्तै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलगायतको टोली नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डदेखि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासम्मलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेसमाथिको हस्तक्षेप बन्द माग गरेको थियो ।

सर्वोच्च अदालतले महर्जनको रिहाइको लागि दोस्रोपटक दायर भएको रिटमाथी सुनुवाई गर्दै मङ्गलबार दिपककुमार कार्की र हरिप्रसाद फुयालको सयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएका पत्रकार महर्जनलाई मङ्गलबार नै संवाद डबलीमा एक कार्यक्रमको आयोजना गरि अभिनन्दन गरिएको छ ।

अभिभन्दन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले महर्जनको रिहाइका लागि पहल र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । लोकतान्त्रिक शासन व्यवस्थामा पनि आस्था, अभिव्यक्ति र विचारकै कारण पत्रकारलाई पक्राउ गरिनु दुःखद भएको भन्दै जैसीले प्रेसमाथि हुने सबै प्रकारका हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरे । उनले जुनसुकै प्रकारको अबरोधको सामना गर्नुपरे पनि प्रेस स्वतन्त्रताको अनवरत लडाइमा साथ दिन मानवअधिकारवादी र प्रेस जगतलाई अपिल गरे ।

२०७६ वैशाख १८ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :