चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला : प्रहरीले फसाउन खोजेको विद्यार्थीको आरोप

चितवन : विद्यार्थीको ढाड सेक्नेगरी कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चिकित्सा शिक्षा संर्घष समितिको अगुवाइमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु निरन्तर आन्दोलनमा छन् । तर कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । आन्दोलनलाई असफल पार्न राज्यकै निकायहरू यसअघिदेखि नै लागिरहेका छन् ।

कलेज प्रशासनले लाखौं पैसा असुली गर्ने र विद्यार्थीले त्यसको विरोध गर्दा राज्यले नै रोक लगाउने कार्य यसअघि देखि नै हुँदै आएको छ । कलेजको लुटतन्त्र विरुद्ध चितवनबाट सुरु भएको आन्दोलन वीरगञ्ज र भैरहवासम्म पुगिसकेको छ । त्यसैले आइतबार अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो । तर शनिबार दिउँसो एकाएक भरतपुर महानगरपालिका–५ कैलाशनगरमा रहेको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर राखेको छ । होस्टलका सुरक्षा गार्डले हतियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनकाअनुसार होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको छ । तर पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन ।

विद्यार्थीहरुलाई फसाउन प्रहरीले आफैले राखेर पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । जुनसुकै हालतमा प्रहरीले फसाउन खोजेपनि कलेजको ठगी विरुद्व आफुहरूको आन्दोलन नरोकिने पनि उनले बताए ।

२०७६ मंसिर ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :