चिकित्सा शिक्षा सङ्घर्ष समितिको चेतावनी


काठमाडौं : चिकित्सा शिक्षा सङ्घर्ष समितिले आफ्ना मागलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अन्तरक्रिया गर्दै समितिले चिकित्सा शिक्षा क्षेत्रको अवस्था नाजुक रहेको भन्दै सुधारका लागि आन्दोलन सुरु गरिएको र यसलाई कमजोर नठान्न चेतावनी दिएको हो ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित त्रिभुवन विश्वविद्यालयकी कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर सुधा त्रिपाठी, शिक्षा मन्त्रालयका सहसचिव डाक्टर हरि लम्साल, काठमाडौँ विश्वविद्यालयका डिनलगायतलाई समितिका माग सुनाउँदै चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले मेडिकल शिक्षा माफिया र दलालहरूको हातमा परेकाले सुधारका लागि आन्दोलन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अहिले हामी सरल ढङ्गले आफ्ना मागहरू राखिरहेका छौँ तर हामीलाई उच्च स्तरको सङ्घर्ष सञ्चालन गर्न बाध्य नबनाइयोस् । हामीसँग सरकारका नीति नियम तहसनहस पार्ने शक्ति छ ।’ उनले आफूहरूले कुनै पार्टीको बलमा आन्दोलन नगरेको भन्दै मेडिकल शिक्षा लिँदा अत्यन्त पीडित भएर सङ्घर्षमा उत्रिएको बताए ।

उनले भने, ‘हामी कुनै पार्टी निकट भएर यो आन्दोलन गरिरहेका छैनौँ । त्यसैले यिनका कोही छैनन् भनेर बेवास्ता नगर्नु होला । स्थिति जे जनि हुन सक्छ ।’ सङ्घर्ष समितिले सरकारले निर्धारण गरेको शुल्क तथ्यसहित प्रस्ट पारी कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सेवासुविधा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ७५ प्रतिशत छात्रवृति छल्न विश्वविद्यालय र प्रतिष्ठानहरूले गर्न लागेको प्रवेश परीक्षाहरू स्थगित गरेर साझा प्रवेश परीक्षामार्फत ७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गरी स्नातकोत्तर सिट सङ्ख्यापद्वति आवश्यकता अनुपात वृृृृद्धि गर्नुपर्नेलगायत माग राखेर आन्दोलन सुरु गरेको हो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी कायममुकायम उपकुलपति प्रा.डा. सुधा त्रिपाठीले आफू मागबारे सकारात्मक रहेको बताइन् । देश नै माफियाको जालोमा रहेको भन्दै उनले यसबाट चिकित्सा शिक्षा क्षेत्र पनि अछुतो नरहेको उल्लेख गरिन् । उनले भनिन्, ‘चिकित्सा शिक्षा क्षेत्रमा समस्या छन् । तपाईंहरूको मागमा हामी सकारात्मक छौँ तर बन्द हडतालतिर भने नजाँदा राम्रो हुन्छ ।’

२०७६ भदौ ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :