चिकित्सा शिक्षा संघर्ष समितिद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा


काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिंदै विभिन्न मागहरुसहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत जारी गरेको प्रेस विज्ञप्ति :-

‘सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।’

चिकित्सा शिक्षा संघर्ष अभियान !

नेपालको इतिहासमा ठूलाठूला संघर्ष र बलिदानका महत्त्वपूर्ण उपलब्धि स्वर्णिम अक्षरमा लेखिएका छ्न । विभिन्न स्वरुपहरु बदल्दै यो संघर्ष अहिले पनि जारी छ । अहिले नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको छ । विडम्बना, शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेका छन् । संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले जुन किसिमको दास मानसिकताको व्यवहारमा गरिरहेका छन् त्यो निकै निन्दनीय छ । यस्तो निन्दनीय कार्यको सशक्त प्रतिरोध गर्दै संघर्षमा उत्रन आम नागरिक, विधार्थी र चिकित्सकलाई हार्दिक अपिल गरिन्छ । आजको दिनमा दलाल र माफियाहरुले स्वास्थ्य क्षेत्रमा आवद्ध डाक्टर, नर्स, ल्याब, प्राबिधिक सहयोगी, फार्मि्सिस्टलगायत सबै साथीहरूलाई आधुनिक दासको झल्को आउने गरी खरिद बिक्री गर्दै आएको सबैलाई जानकारी भएकै विषय हो । त्यो मात्रै होइन, सरकारले स्वास्थ क्षेत्रमा निर्धारण गरेको श्रमको मुल्यसमेत आपत्तिजनक, हतोत्साहिजनक र निरासातर्फ धकेल्ने प्रकृतिको छ । यसको पुनर्विचार गरेर उचित मुल्यांकन गरिनु जरुरी भैसकेको छ । चिकित्सा अध्ययनलाई लुट र भ्रष्टको साधन बनाउँदै दलाल र माफीयाले अभिभावक र विद्यार्थीबाट २० औं लाख अनावश्यक रकम असुल्ने तर यहि क्षेत्रमा कार्यरत श्रमिकलाई निकै निम्नस्तरको श्रममुल्य दिने परिपाटी सह्य हुनसक्दैन । त्यसैले यस बिषयमा आम नागरिक, बुद्धिजीवी, विद्यार्थी, चिकित्सा क्षेत्रका विभिन्न सघंसस्था, अग्रज सरोकारमञ्च र सम्बन्धि निकायद्वारा सरकारको ध्यानाकर्षण गराउँदै यस बिषयमा गम्भीर बन्न र यस क्षेत्रको सुधारका निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउन हार्दिक अपिल गरिन्छ ।’

मागहरू :
क) भर्नाको हकमा पुनरावलोकन तथा कार्यनयन गरिनुपर्ने विषय : MBBS, BDS, BNS/B.S.C nursing, BMLT, BMIT, B-pharmacy, BPHको हकमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पारियोस् ।
ख) उल्लेखित स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्ता गरियोस् । Internship -Nurse -Mo -Residency -Consultant
ग ) पाठ्यक्रम परिमार्जन गरी प्रविधिमत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने
घ) मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरि मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा प्रदान गरियोस् ।

संघर्षका कार्यक्रमहरु :
१. भदौं ५ गते – पत्रकार सम्मेलन
२. भदौं ६–८ गते – मागपत्र वितरण र अन्तरक्रिया
३. भदौं ९ गते – अन्तरक्रिया (भद्रगोल स्वास्थ क्षेत्र र हाम्रो सरोकार)
४. भदौं १०–१४ गते – सबै मेडिकल कलेजमा सभा गर्ने र बिरोधस्वरुप कालो ब्यानर राख्ने
५. भदौं १५ गते – कालो पट्टी बाधेर काम गर्ने र पढ्ने
६. भदौं १६ गते – सबै मेडिकल कलेज प्रशासनसँग छलफल गर्ने
७. भदौं २५ गते – राजधानीमा विशाल स्वास्थकर्मी प्रदर्शन

२०७६ भदौ ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :