गुन्डाराज नचलाउन नेकपाको चेतावनी


काठमाडौं : नेकपा बाजुराले केपी वली सरकारले गुन्डाराज चलाएको भन्दै तत्काल यस्तो हर्कत बन्द गर्न चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी रानाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

रानाले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी बाजुराका नेता–कार्यकर्ता र शुभचिन्तकहरूमाथि बाजुरा जिल्लाका प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटद्वारा जसरी पूर्वाग्रही, गैरन्यायिक, अमानवीय, तुच्छ र छाडा शैलीमा गालीगलौज गर्दै गुन्डाराजको अनुभूति गराउने गरी आतङ्कपूर्ण वातावरण उत्पन्न गरिएको छ यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । डीएसपी भाटकै ठाडो निर्देशनमा महिलानेत्री पवित्रा विकका वृद्ध बुबा सूर्य विकलाई नाता परेकै आधारमा गिरफ्तार गरियो । बाआमाको श्राद्धमा बसेका शुभचिन्तक सर्वसाधारण जनतालाई समेत जि.प्र.का. वा नजिकको प्रहरी चौकीमा थुन्दै कि ने.क.पा.को समर्थक नभएको कागज गर कि त डबल ने.क.पा.मा प्रवेश गर, होइन भने राजद्रोहको मुद्दा लगाएर कारागार चलान गर्छु भन्दै स्थानीय गृह प्रशासनले गुण्डागर्दीको नाङ्गो नाच देखाइरहेको छ ।’

रानाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यति मात्र होइन, राज्यको राणा–पञ्चायतकालीन चरित्रको झझल्को दिने गरी बुढीनन्दा न.पा. ६ का सामान्य कार्यकर्ता लालबहादुर शाहीलाई गिरफ्तार गरेपछि निजका वृद्ध बाआमाले मजदुरी गरी बाख्रा बिक्री गरेर दसैँका लागि जोहो गरेर बाकसमा राखेको १५ हजार रुपैयाँ कथित बरामदका नाममा डीएसपी भाटको ठाडो निर्देशनमा डकैती शैलीमा प्रहरीले लुटेको कुरा जनअधिकार अभियानका मानवअधिकारकर्मीले बाहिर ल्याइसकेका छन् । प्रहरी प्रमुख भाटको निजी स्वार्थपूर्ति एवम् कतिपय आफ्ना गलत कुकर्म ढाकछोपका निम्ति गरिएका यस्ता गलत निन्दनीय हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा लेखिएको छ, ‘डीएसपीभाटद्वारा नेकपाका नेता–कार्यकर्ता र सर्वसाधारण जनतामाथि दमनका दुईवटा मुख्य कारण देखिन्छन् : पहिलो कारण डबल नेकपाका नेताहरूको हाम्रो पार्टीलाई दमन गर्ने, आत्मसमर्पण गराउने, नभए झूट्टा मुद्दा लगाएर सिध्याउने नीति र निर्देशन शिरोधार्य गरी चाकरी गर्दै रिझाएर बफादार सिपाही भएको स्वाङ गर्ने । दोस्रो कारण बाजुरेली जनता र विशेषगरी सदरमुकाम मार्तडीबासीमाझ डीएसपी भाट यौनपिपासु भन्दै बदनाम भई घृणाको पात्र बने र उनका केही यौनकाण्डहरूका विरुद्ध आवाजहरू उठ्न थालेपछि आफ्नो बदनाम अनुहारमा पर्दा हाल्न तथा सर्वसाधारण जनता र प्रहरी नेतृत्वको ध्यान अन्यत्र मोड्न नेकपामाथि दमनमा उत्रिएको कुरा केही इमानदार प्रहरी अधिकृतहरूले समेत भन्ने गरेका छन् ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः हाम्रो पार्टी डीएसपी भाटले आफ्ना पूर्वाग्रही, अमानवीय, गैरन्यायिक, तुच्छ र छाडा हर्कतहरू नरोके प्रत्युत्पादक हुने चेतावनी दिन चाहन्छ । साथै मानवअधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी र नागरिक अगुवाहरूमा नागरिक अधिकारका लागि अनुगमन गर्न यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असोज २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :