गुणराज लोहनी तेस्रोपटक गिरफ्तार

काठमाडौँ : प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई आइतबार चितवनबाट पुनः गिरफ्तार गरेको छ ।

गत माघ ६ गते चितवनबाट गिरफ्तार भएका लोहनी करिब एक महिनाको हिरासत बसाइपछि आइतबार अदालतबाट रिहा भएका थिए । उनलाई अदालतपरिसरबाटै गिरफ्तार गरेर मकवानपुरतर्फ लगिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । गम्भीर अस्वस्थताका कारण पार्टीबाट बिदा लिएर उपचार गराइरहेका र राष्ट्रियताका विषयमा बहस गर्न ‘राष्ट्रिय जागरण मञ्च’ गठन गरेर भारतीय अतिक्रमण, नेपाली भूभाग कब्जा, अमेरिकी परियोजना एमसीसीलगायत विषयमा अन्तरक्रिया गरेर काठमाडौँबाट चितवन पुग्नासाथ गत माघ ६ गते उनलाई प्रहरीले गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दा लगाएको थियो ।

लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मञ्चमार्फत राष्ट्रियता र जनतन्त्रका बारेमा अभियान सञ्चालन गर्दै आएका थिए । उनले पछिल्लो समय अमेरिकी परियोजना एमसीसीका विषयमा बहस चलाउँदै आएका थिए । लोहनीलाई यसअघि पनि चितवनमै १३ दिन हिरासतमा राखिएको थियो । यो उनको तेस्रो गिरफ्तारी हो ।

यसैबीच प्रहरीले अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विकलाई पनि गिरफ्तार गरेको समाचार छ ।

२५ औँ जनयुद्ध दिवस मनाउँदै गर्दा सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेपछि सङ्गठनले देशभर शैक्षिक हडताल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :