क्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोषसहित २५ औँ जनयुद्ध दिवसको शुभकामना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले २५ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै एकीकृत जनक्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोष गरेको छ । ब्युरो इन्चार्ज रविले शुभकामना दिँदै उक्त उद्घोष गरेका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘राज्यसत्ताबाहेक सबैथोक भ्रम हो । विद्रोह गर्नु जनताको अधिकार हो । राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ । प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त पारौँ, नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न महान् जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नारा र ९ बुँदाको सैद्धान्तिक प्रतिबद्धतासहित सञ्चालित महान् जनयुद्ध आज २४ औँ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको छ । यही क्रान्तिकारी दिनको मूल्यबोध एवम् स्मरण गर्न चाहन्छौँ ।’

सन्देशमा अगाडि भनिएको छ, ‘महान् जनयुद्धमा सहादत प्राप्त गर्ने सम्पूर्ण महान् वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाप्रति विशेष स्मरण गर्दछौँ र घाइते–अपाङ्गहरूमा सम्मान व्यक्त गर्दै विभिन्न क्षेत्रबाट महान् सर्वहारा क्रान्तिलाई साथ, सहयोग र समर्थन गर्ने न्यायप्रेमी क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद ज्ञापन गर्दै रातो सलाम अर्पण गर्दछौँ ।’

शुभकामना सन्देशको अन्त्यमा भनिएको छ, ‘महान् जनयुद्धका मूल्यमान्यताबाट स्खलित प्रतिक्रान्तिकारी, आत्मसमर्पणवादी र सुधारवादी जसले जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई पद र पैसामा सौदाबाजी गर्दै लिलाममा बिक्री गरी खाए, तिनलाई एकीकृत जनक्रान्तिको सङ्ग्रामबाट खबरदारी गर्न चाहन्छौँ । महान् जनयुद्धमा बगेको रगत, पसिना र आँसुको अधुरो सपनालाई पूरा गरिछाड्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ । नेपाल र नेपाली जनताको मुक्ति प्राप्त भइसकेको छैन । देशमा भ्रष्ट, दलाल संसदीय पुँजीवादी व्यवस्था कायम छ । राष्ट्रघात, जनघात र दलालीकरण हाबी हुँदै आएको छ । यसलाई परास्त गरी देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न एउटा निर्णायक क्रान्ति जरुरी छ । जसका लागि हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको उद्घोष गरेको छ । सामाजिक दलाल फासिवादी सत्ताबाट मुक्ति पाउन अधुरो क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण क्रान्तिकारी, परिवर्तनप्रेमीमा २१ औँ शताब्दीको बोल्सेभिक स्पिरिट पैदा गरौँ ! हार्दिक शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :