क्रान्तिमार्गमा निरन्तर अघि बढ्ने प्रतिबद्धता सहित जनयुद्ध दिवस मनाइयो


काठमाडौँ : नेकपा डोटीले स्कुललाई खेल सामग्री वितरण गरी २५ औँ जनयुद्ध दिवस मनाएको छ । जिल्ला इन्चार्ज तर्कराजको अध्यक्षातामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सेती–महाकाली ब्युरो कार्यालय सचिव विपीन रहेका थिए । जिल्ला सचिव कालु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनता र अभिभावकको व्यापक उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा ब्युरो कार्यालय सचिव विपीनले देश र जनताको मुक्ति नहुन्जेलसम्म क्रान्ति जारी रहने बताए । जनता निराशामा रहेको, जनताको मुक्ति नभएको र जनयुद्धका सबै विषयमा प्रचण्ड–बाबुरामले धोका दिएकाले क्रान्ति जारी राख्नुपर्ने अवस्था आएको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपलले नेपालमा भएको जनयुद्धले जनताको चेतनाको विकास भएको तर लक्ष्य पूरानहुँदै जनयुद्ध सामप्त गरेर नेतृत्वले धोका दिएको बताए ।

रातो टीका लगाई हर्षउल्लासका साथ सुरु गरिएको कार्यक्रममा ब्युरो कार्यलय सचिवले खेल सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा २५ औँ जनयुद्ध दिवसमा शुभकामना आदानप्रदान गर्दै महान् सहिदहरूप्रति श्रद्धाञ्जली सम्मान व्यक्त गरिएको थियो । कार्यक्रमको समापनमा जिल्ला इन्चार्ज तर्कराजले अहिलेको राज्यव्यवस्थाले देशलाई युद्धतिर धकेल्न खोजेको बताएका थिए । सत्ता र सरकारका दलालहहरूले भ्रष्टाचार, कालोबजारी, महँगी, करछली, सीमा अतिक्रमण, राष्ट्रघातका कारण देशलाई बरबाद बनाइरहेकाले यी सबै समस्याहरूका विरुद्ध लड्न उनले आमजनतालाई सचेत गराएका थिए । अमेरिकी परियोजना एमससी पास गराएर देशमा अमेरिकी सेनाको परेडस्थल बनाउन खोजिएकोमा उनले चिन्ता र आक्रोश व्यक्त गरे । यसका विरुद्ध आमनेपाली जनता एकजुट भएर क्रान्तिमा अघि बढ्नुपर्ने धारणा उनले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :