क्रान्तिको सुनामी

उनीहरू आँधीलाई
पिँजडामा कैद गर्ने
दुष्प्रयास गरिरहेछन्
उनीहरू उदाउँदो सूर्यलाई
हत्केलाले छेक्ने दिवासपना
बुनिरहेछन्
न आँधी–पिँजडामा
कैद गर्न सक्छौँ
न सूर्यलाई
हत्केलाले छेक्न सक्छौ
महाशय
माइला लामा
त्यस्तै आँधी हो
हो, माइला लामा
त्यस्तै प्रज्वलित
सूर्य हो
उसको आँखामा बाँधेर
कालो कानुनकै काला पट्टीहरू
उसको हातमा लगाएर
प्रतिबन्धको एक थान हत्कडी
ठोकेर उसका खुट्टाहरूमा
फासिवादी कुरूप नेलहरू
न कैद गर्न सक्छौ
उसको मुक्तिको सपना
न रोक्न सक्छौ
उसका उन्मुक्तिका जाज्वल्य गीतहरू
न ठोक्दैमा नेलहरू
छेकिन्छ ऊ हिँडेको महासमर
महाशय
माइला लामा
आन्दोलन हो
माइला लामा
एक महान् आदर्श हो
माइला लामा
क्रान्तिको उर्लिंदो सुनामी हो
कहाँ छ
तिम्रो कैदखानामा त्यत्रो सिक्री
जसले आन्दोलन बाँध्न सक्छ
कहाँ छ
तिम्रो बधशालामा त्यत्रो तागत
जसले महान् आदर्शलाई मार्न सक्छ
कहाँ छ
तिम्रो अजङ्ग पर्खाल
जसले क्रान्तिको सुनामी झेल्न सक्छ
एक माइला थुनेर
क्रान्ति थुन्न सक्दैनौ
एक योद्धा मारेर
यात्रा छेक्न सक्दैनौ
एक मान्छे मारेर
क्रान्तिको आदर्श मार्न सक्दैनौ
फेरि ब्युँझिनेछन्
बस्तीहरू उसैगरी
उसका तेजस्वी गीतहरूले
फेरि ब्युँझिनेछन्
सहरहरू उसैगरी
उसका गगनभेदी नाराहरूले
फेरि उठ्दैछ विद्रोह उसैगरी
फेरि क्रान्ति जुट्दैछ उसैगरी

२०७६ साउन २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :