क्रान्तिको अभेद्य किल्ला थबाङमा जनयुद्ध दिवस

रोल्पा, थबाङ :जनयुद्धको आधारइलाका रोल्पाको थबाङमा नेपाल कम्युनिस्ट पार्टी थबाङको आयोजनामा भव्य रूपमा २४ औँ जनयुद्ध दिवस मनाइएको छ । दसौँ हजार जनताको उपस्थितिमा भव्य समारोहबीच गौरवशाली जनयुद्धको स्मरण गरिएको हो ।
जनयुद्धमा थबाङबाट सहिद हुने तेजमान घर्ती ‘दीर्घ’ का छोरा तथा जनयुद्धका घाइते अजयको अध्यक्षता र अमितको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दीपेश राईले थबाङी जनतालाई सम्बोधन गरेका थिए । यस्तै नेकपाकी केन्द्रीय सदस्य सम्झना घर्तीमगर, नुवाकोट इन्चार्ज सविता तामाङ र रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दीपेशले पञ्चायतकालदेखि जनयुद्ध हुँदै अहिलेसम्म थबाङको एकता र आक्रामकताले देशभरिका क्रान्तिकारीहरूलाई ऊर्जा प्रदान गरेको स्मरण गर्दै त्यहाँका जनताको क्रान्तिकारी एकताले केन्द्रीय सत्ताको निद्रा समाप्त पारेको बताए । दीपेशले सहिद र नेपाली जनताको सपना पूरा गर्न एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामा समाहित भएको थबाङले फेरि नयाँ सन्देश प्रवाह गर्ने कुरामा विश्वस्त बन्दै नयाँ ढङ्गको क्रान्ति दृष्टिक्षितिजमा उदाइसकेको विचार व्यक्त गरे ।

सभामा वक्ताहरूले हजारौँ सहिदहरूको बलिदानलाई जनताको मुक्तिसँग भन्दा व्यक्तिगत स्वार्थसँग जोडेर सिंहदबारमा बुझाएको भन्दै प्रचण्ड–बाबुराप्रति रोष प्रकट गरेका थिए । हिजो थबाङी जनताको मायाममता र सहयोगमा हुर्किएका जनयुद्धका नायक भनिएकाहरू आज दलालहरूको प्रिय बनेको भन्दै उनीहरूले दलालका एजेन्टहरूलाई फागुन १ देखि नै थबाङमा प्रवेश निषेध गरिएको बताए । उनीहरूले थबाङ क्रान्तिकारीहरूको बसोबास गर्ने र विश्वलाई निरन्तर क्रान्तिका पक्षमा प्रेरित गर्ने थलो भएको धारणा पनि व्यक्त गरे ।

जनयुद्ध सुरु भएको २४ वर्ष प्रवेश गरेको अवसरमा थबाङको बीच भागमा रहेको खेलमैदानवरिपरि झन्डा, तुल, ब्यानर र ध्वजापताकाले सजाइएको थियो भने कार्यक्रम स्थलमा थबाङ वरिपरिबाट जनताहरू झाँकीसहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको बीचबीचमा अजम्मरी सांस्कृतिक परिवारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम अरू तीन दिनसम्म विभिन्न खेलकुद सञ्चालन गरी मनाइँदैछ । खेलकुदमा सहभागी हुन बागलुङ, रुकुम, प्युठानलगायत छिमेकी जिल्लाका खेलाडी थबाङ आइपुगेका छन् ।

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :