कोरियास्थित नेपालीहरूले गरे जेल परेका नेकपा नेता–कार्यकर्तालाई आर्थिक सहयोग


काठमाडौँ : कोरियामा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा दक्षिणकोरियामा आबद्ध नेपालीहरूले नेपालको सरकारले अन्यायपूर्वक जेल र हिरासतमा राखेको भन्दै नेकपाका नेता–कार्यकर्ताको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्दै आर्थिक सहयोग आरम्भ गरेका छन् । मोर्चाका अनुसार उनीहरूले एकमुष्ट पचास हजार रुपैयाँ सङ्कलन गरेर नेपाल पठाएका छन् ।

मोर्चाका अध्यक्ष आदर्श मगरले प्रेसविज्ञप्ति जारी गरी आर्थिक सहयोग जुटाउनुको कारणबारे चर्चा गर्दै भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण स्थलबाट सुतिरहेको अवस्थामा गत असोज ३० गते मध्यरातमा आपराधिक शैलीमा निरङ्कुश सामाजिक फासिवादी कठपुतली दलाल सरकारको ठाडो निर्देशनमा केपी–बादलमण्डलीका बर्दिधारी मतियारहरूले मध्य पश्चिम कमान्ड इन्चार्ज क. वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज क. सुवास, राप्ती ब्युरो कार्यालय सचिव क. सविन, युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष क. पाटनलगायत करिब दुई दर्जन नेता–कार्यकर्ताहरूको गिरफ्तार गरिएको थियो । यो सम्भवतः शृङ्खलाबद्ध गिरफ्तारीमध्येको सबैभन्दा ठूलो सङ्ख्याको गिरफ्तारी थियो जसले मोर्चालाई अत्यन्तै पीडाबोध गरायो, दुःखी तुल्यायो ।’

मगरले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘गिरफ्तारीपछि प्रहरीको कस्टडीमा रहनुभएका आस्थाका बन्दी आदरणीय नेता–कार्यकर्ताहरूलाई सामान्य कोलगेट, ब्रुस, साबुनदेखि लिएर प्रतिकूल स्वास्थ्यस्थितिको अवस्थामा पनि आर्थिक अभावका कारण उपचारको समस्याजस्ता आधारभूत समस्या रहेको जानकारी मोर्चाले पायो र यस विशेष परिस्थितिमा उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित केही आधारभूत समस्याहरूको समाधानका निम्ति हामीले जति सकिन्छ केही आर्थिक सहयोग गर्नुपर्छ भन्ने मनसायका साथ मोर्चाभित्रका कमरेडहरूको बीचमा कुराकानी र छलफल चल्यो । सोहीमुताबिक धेरै रकम सहयोग गर्न नसके पनि रु. ५०,०००।– (अक्षरेपी पचास हजार रुपैयाँ) मोर्चाले सहयोगको सामथ्र्य राख्यो ।’

विज्ञप्तिमा भनिएको छ, ‘उक्त रकम सम्बन्धित ठाउँमा पुगिसकेको जानकारी मोर्चाले पाइसकेको छ । थोरै भए पनि राहत पुगोस्, मलमपट्टीको काम गर्न सकोस् भन्ने हाम्रो शुभेच्छा हो । जनविरोधी, राष्ट्रघाती, कठपुतली दलालहरूको धम्की, चेतावनी, दमन र गिरफ्तारीले क्रान्तिकारी विचार, आवाज र सङ्घर्ष किमार्थ ढल्नेछैन, बरु थप इस्पात, अडिग र चट्टानझैँ अटल भएर उभिनेछ । सामाजिक फासिवादी, नेपाली जनताका वैरीहरूले विकास र समृद्धिका दुस्मनहरूले इतिहासको हेक्का राखे हुन्छ– बन्दुकको मालिक बनेर जनतामाथि दमन गर्दा न राणाशासन टिक्यो, न पञ्चायत टिक्यो, न त राजतन्त्र नै टिक्न सक्यो । तसर्थ भ्रष्टहरूको ग्याङ (सरकार) लाई देश र जनताप्रति जिम्मेवार र उत्तरदायी बन्न मोर्चा अनुरोध गर्दछ । दलाल सरकारले शान्तिपूर्ण तरिकाले राजनीतिक सङ्गठन खोल्न पाउने, भेला, बैठक, सम्मेलन र राजनीतिक गतिविधि गर्न पाउने संवैधानिक व्यवस्थाको धज्जी मात्रै उडाएन, दिनानुदिन अनेकौँ भ्रष्टाचारी, घुसखोरी, तस्करी, कालोबजारी, कमिसनखोरहरूसँग काँधमा काँध मिलाउँदै काण्डैकाण्डमा मुछिएको यो कमाउनिस्ट सरकार नेपाली जनताबाट दिन दुई गुना, रात चौगुना नाङ्गिँदै गएको कुरा दिनको घामजत्तिकै छर्लङ्ग छ । जनविरोधी दलाल सरकारको यसखाले रबैयाको मोर्चा घोर भत्र्सना गर्दछ । साथै गिरफ्तारीमा पर्नुभएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको बिनासर्त यथाशीघ्र रिहाइको माग गर्दछौँ । विभिन्न बाधा–अड्चन, उतारचढाव, आरोह–अवरोहका बीचबाट वर्गसङ्घर्षको गति अनवरत अघि बढ्नेछ । एकीकृत जनक्रान्ति सफल भैछाड्नेछ । वैज्ञानिक समाजवादको यात्रा ढिलोचाँडो अवश्य गन्तव्यमा पुग्नेछ भन्नेमा मोर्चा विश्वस्त छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ कार्तिक २६ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :