कुरूप डोगडीले दायर गरेको मुद्दा

 कविता

उपियाँ र उडुसले चुसेर लखतरान भएका जिन्दगीहरूमा
हेमोग्लोबिन र ग्लुकोज चढाउँदै
निद्राको चक्की ख्वाएर बेहोस बनाएका मानिसहरूलाई
सपनाबाट विपनामा ल्याउँदै
युगको धाराप्रवाहप्रति जागरुक बनाउन
अघि बढिरहेको एउटा चेतनावाहक दस्तालाई
कुरूप डोगडीले बन्दुक तेस्र्यायो र सिङ्गो यात्रा रोकेको ठान्यो ।

उनीहरूलाई कुरूप मार्तडीमा पेस ग¥यो
र सुन्दर डोगडीका आँखामा पर्दा हालेर
कुरूप मार्तडीको आदेशमा
विस्फोटक पदार्थसहितको साजिस तयार पा¥यो
चेतनावाहकहरूको शरीरमा श्वेत बुट मार्च गरायो
अनि झूट्टा मुद्दा आफ्नो अदालतमा दायर ग¥यो ।

मुद्दा त दायर गरिस् ए कुरूप डोगडी
तर इतिहासको फर्ज पूरा गर्न पाइन्न भनेर गरिस्
चेतनावाहकहरूको छातीमै क्विकमार्च गराएझैँ
इतिहास पनि तेरो छातीमै क्विकमार्च गर्दै अघि बढ्नेछ ।

विस्फोटक पदार्थ राखेर
झूट्टा मुद्दा त चलाइस् ए कुरूप डोगडी ।
तर त्यो विस्फोटक तेरै टाउकोमाथि पड्कने कुरा थाहा पाइनस्
मुद्दा त चलाइस् ए हराम डोगडी !
तर परिभ्रमित गरिरहेको पृथ्वीमाथि पनि चलाइस्
तेरो झूट्टा मुद्दाले पृथ्वी एक सेकेन्ड पनि रोकिँदैन
मुद्दा त चलाइस् ए नरपिचास डोगडी
तर बूढीगङ्गा बग्न पाइन्न भनेर चलाइस्
जतिसुकै बाँध बाँधे पनि
बूढीगङ्गा कर्णालीमा मिसिएर सागरमा पुगिछाड्नेछ ।

ए कुरूप डोगडी
तँ र उनीहरू त वादी–प्रतिवादी भइहाल्यौ
एक दिन सुन्दर डोगडीले
पर्दा च्यातेर गवाही दिनेछ
र अपराधी को हो ?
इतिहासले फैसला सुनाउनेछ ।
२०५५

२०७६ वैशाख ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :