कुनै संगठनसग एकता भएको भएको छैन – क्रान्तिकारी पत्रकार

काठमाडौं / साउन १० : क्रान्तिकारी पत्रकार संगठन गण्डकी धवलागिरी समन्वय समितिले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी कास्की जिल्लामा आफ्नो संगठनको कुनै पनि संगठनको एकता नभएको स्पष्ट पारेको छ । क्रान्तिकारी पत्रकार संगठन गण्डकी धवलागिरी समन्वय समितिका संयोजक ओम हमालले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टीको कुनै पनि संगठनसँग एकता नभएको भन्दै स्पष्ट पारेका हुन् । सोमबार दिउँसो सञ्चार माध्यमहरुले माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टर कास्की र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित क्रान्तिकारी पत्रकार संगठन कास्कीबीच एकता भएको समाचारहरु प्रकाशन तथा प्रसारण गरेका थिए । क्रान्तिकारी पत्रकार संगठन गण्डकी धवलागिरी समन्वय समितिले सोमबार जारी गरेको विज्ञप्तिमा क्रान्तिकारी पत्रकार संगठन जिल्ला समिति कास्कीका नाममा आज सार्वजनिक भएका समाचारहरुका बारेमा संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै ती समाचारहरु भ्रमपूर्ण र कपटपूर्ण भएको स्पष्ट पारिएको छ । साथै त्यस्ता भ्रमपूर्ण र कपटपूर्ण समाचारको विश्वास नगर्न पनि सम्बन्धित सबैलाई सोही विज्ञप्तिमार्फत् अपिल गरिएको छ । विज्ञप्तिमा अघि भनिएको छ, “पद, प्रतिष्ठा र प्रलोभन जस्ता विषयहरुमा मरिहत्ते हाल्ने, संसदीय व्यवस्थाप्रतिको मोहजालमा परेर परिवर्तन, क्रान्ति र जनताप्रतिको आवश्यक धैर्यता र इमान्दारितालाई त्याग्दै वैचारिक स्तरमा स्खलित भएर दलाल संसदीय व्यवस्थामा डुब्न खोज्ने विसर्जनको बाटोमा अग्रसर ३ जना साथीहरु अनुशासन र पद्धतिभन्दा बाहिर गएको स्पष्ट पार्दछौं ।” तीन जनाको विचलनलाई संगठनको समायोजन भयो भन्ने कुरा पूर्णतः कपोल्कल्पित र भ्रमपूर्ण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्राप्त समाचार अनुसार, माओवादी केन्द्र समर्थित प्रेस सेन्टरमा प्रवेश गरेका पत्रकारहरुमा माधव पनेरु संगठनको केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक र फडिन्द्र अकिञ्चन कास्की जिल्ला सचिव हुन् । शिवराज वस्ताकोटी भने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सल्लाहकार रहेका छन् । समाचारमा आए जस्तो अन्य सदस्यहरु क्रान्तिकारी पत्रकार सरंगठनका सदस्य नरहेको बुझिएको छ ।
विज्ञप्तिको अन्तमा आम श्रमजीवि, किसान मजदूर लगायत सर्वहारावर्गको पक्षमा हिमाल जस्तै अडिग रहेको क्रान्तिकारी पत्रकार संगठन अहिले पनि कास्की जिल्लामा सकृय रहेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि आम श्रमजीवि, किसान मजदूरलगायत सर्वहारावर्गको पक्षमा सशक्त र सकृय भूमिका खेल्ने प्रतिवद्धता व्यक्त  गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :